मनाङ,२३ असार – नासो गाउँपालिकामा मनाङमा सीप मुलक तालिम सञ्चालन गरिएको छ । हस्तकला सम्बन्धी गुडिया बनाउने सजावटका सामान निर्माण गर्ने, चौरी पालन तथा महप्रशोधन तालिम, अचार बनाउने, फ्रेबरीकका माला, कुकिङ्ग तथा हाउस किपिङ्ग, गलैचा बुनाई, आधारभूत कम्प्युटर तालिम, सिन्के तथा बाटेको धुप बनाउने तालिम सञ्चालन गरिएको हो। स्थानियलाई स्वरोजगार बनाउनको लागि तालिम निकै प्रभावकारी भएको घरेलु तथा साना उद्योग विकास समिति मनाङ्गका प्रमुख प्रदिप न्यौपानेले बताए । सिप सिकेका व्यक्तिहरु उद्यम गर्न अगाडि बढेका र सिप पश्चात व्यवसाय सञ्चालनमा सहजता भएको उनले बताए ।
घरेलु कार्यालय र गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अर्न्तर्गत कार्य गर्दै आएको सेवा प्रदायक संस्था ग्रामीण विकास तथा अनुसन्धान केन्द्रले जिल्लाको चामे गाउँपालिका, मनाङ्ग ङस्ियाङ्ग गाउँपालिका, नार्पाभूमि गाउँपालिका र नासो गाउँपालिकामा उद्यमीको मागका आधारमा तालिम सञ्चालन गरेको अनुसन्धान केन्द्रका अध्यक्ष नवराज पोखरेलले बताए ।
अध्यक्ष पोखरेलका अनुसार, तालिम पश्चात उद्यमीलाई तत्काल उद्योग व्यवसाय सञ्चालन गर्न सहजहोस भनेर उपयुक्त प्रविधि हस्तान्तरण जस्ता कार्यलाई प्राथमिकता दिदै आएको छौ । जिल्लामा यस वर्षमात्रै झन्डै ३ सय भन्दा बढि व्यक्तिलाई सीप विकास तालिम मार्फत मनाङ्ग जिल्लामा उद्यमी निर्माण गरेको घरेलु कार्यालयले जनाएको छ ।
त्यस्तै, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमको निरीक्षण तथा अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख यज्ञ प्रसाद घले, नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घले, कोष तथा लेखा नियन्त्रक होमनाथ पौडेल, घरेलु कार्यालयका प्रमुख प्रदिप न्यौपाने, कृषि विकास बैंकका प्रबन्धक केश्वराज वाग्ले, नासोँ गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत गोविन्द रानाभाट, ग्रामीण विकास अनुसन्धान केन्द्रका अध्यक्ष नवराज पोखरेल, अशोक कुमार बलामी, अनिल कुमार बुढा लगायतकाले उद्यमीले सिकेका सिप र तालिमका निरीक्षण गरेका थिए ।
नासोँ गाउँपालिका ताचैमा सञ्चालन भएको सजावटका सामान तथा गुडिया बनाउने तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख यज्ञ प्रसाद घलेले समयको माग अनुसार उद्यमी सिर्जना गर्न घरेलुले सञ्चालन गरेको कार्यक्रमहरु लक्षित बर्गसम्म पुगेको बताए ।नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले सिकेको सिपलाई व्यवहारमा लागु गर्दा सहज रुपमा आय आर्जन गर्न सकिने धारणा व्यक्त गरे । सिपलाई लुकाएर राख्नुहुदैन यसलाई दैनिक रुपमा प्रयोग गर्दा सहजरुपमा आम्दानी गर्न सकिने उनले बताए ।घरेलु कार्यालयका प्रमुख प्रदिप न्यौपानेले कम लगानीमा लघु, घरेलु तथा साना उद्योग सञ्चालन गर्न सकिने भएकाले यसतर्फलाग्न महिलाहरुलाई आग्रह गरेका थिए ।
सो तालिममा २९ जनालाई जिल्ला समन्वय समितिका प्रमुख यज्ञ प्रसाद घलेले प्रमाणपत्र वितरण गरेका थिए ।त्यसैगरी मौरी पाउने क्षेत्र भनिएको नासोँ गाउँपालिका मा सञ्चालन भएको तालिममा सहभागी १५ जनालाई निःशुल्क रुपमा मौरीघार वितरण गरिएको थियो । मौरी पालन तालिम पश्चात व्यवसाय सञ्चालन गर्न आफूहरुलाई फाइदा भएको प्रशिक्षार्थी गम्भिर जंग बिकले बताएको थिए ।ग्रामीण विकास केन्द्रका अध्यक्ष नवराज पोखरालले हिमाल पारीको जिल्ला मनाङ्गको दुर्गम क्षेत्र नार्पाभूमि गाउँपालिकामा गएरपनि आफूहरुले सिप सिकाएको र सो सिप पाउँदा उद्यमीहरु निकै हर्सित भएका जानकारी दिए ।





