देउरालीको चौतारिमा
भारि बिसाउँदै गर्दा
बिसौनीमा भएको हाम्रो भेट
एक खिल्लि चुरोट आधा आधा खाएको
एक अम्खोरा पानी आधा आधा पिएको
अनि एक अर्काको गर्हौ भारि ऊठाउन सघाएको
बिपरीत दिशाबाट अाएका हामी
संयोगले भेट भएका हामी
छुट्टिनु त थियो नै
तिमी दक्षिण लाग्यौ
म उत्तर तिर लागें ।
मेलै ऊत्तरी ध्रुबको चिसो सिरेटोमा
किन किन तिम्रो दक्षिणी ध्रुव को न्यानो खोजे
तिमिले पनि सायद दक्षिणि सुर्यको ऊखरमाउलो गर्मिमा
मेरो शितलता खोज्यौ होला
चुरोटको आधा खिल्लि खाएर
आधा तिम्रो लागि छोड्न मन लाग्छ
आम्खोरा भरिको पानी आधा पिएर
आधा तिम्रो लागि छोड्न मन लाग्छ
सधै यहि चौतारिमा बिसाउन आउँदा
मेरो भारि घचेडि माग्ने आस लाग्छ ।
हो तिमी गयौ, त्यति खेरै गयौ
हेर्दाहेेदै देउराली कटेको देखेका हुन्
यीं आखाले अन्तिम पटक
एउटा कुरा भनूँ तिमिलाइ?
त्यो दिन तिमिले मेरो भारी घचेडेर तिमी जब गयौ
त्यो भारी अत्यन्त हलुका लागेको थियो मलाइ
फलाम बिसाएर फुल बोकि हिँडे जस्तो
आधा भारी तिमिले थपेर गए जस्तो
मन त्यसै त्यसै तिमिले फुँग उडाएको
चुरोटको धुवाँ तिरै गईरहेको थियो ।
हतारमा न नाम सोधेछु
न गाम सोधेछु
न पुग्ने ठाम सोधेछु
दुई धर्को सगै हिँडाइ
एक धर्को बोलाई
एक निमेष हेराई
मानौ जन्म जन्म को चिनारि जस्तो
कतै सुने सुने जस्तो आवाज
कतै चिने चिने जस्तो आभास
कतै छोए छोए जस्तो निस्वास ।
कहिलेकाँहि गाली गर्न मन लाग्छ यो समयलाइ
भेट नगराअोस समयले कसैसंग
निमेषमै मन साटिने गरि
आवेसमै मुटु काटिने गरि
बेहोसीमै मान्छे लाटिने गरि
अन्तत:
बाँकि जीवन नै उदेक लाग्ने गरि ।





