बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

रहश्यमयी लोमान्थाङको गुफामा रहेको कोठा नम्बर ३०३ !

रहश्यमयी लोमान्थाङको गुफामा रहेको कोठा नम्बर ३०३ !


  • ढोरपाटन संवाददाता
  • कार्तिक ३ २०७६, आइतबार

लोमान्थाङ(उपल्लो मुस्ताङ), ३ कात्तिक  –  लोमान्थाङको छोसेर क्षेत्रमा पुगेपछि हिमालभन्दा मान्छे अग्ला हुन्छन् । उत्तरतिर आफू बसेर दक्षिणतिर होँचा हिमाल र हिमाली भू–दृष्य हेर्न पाउनु यहाँको विशेषता हो । अझ, गुफाको बास अनि हिमाली दृष्यावलोकनको अवसर पनि ! रहर छ भने, लोमान्थाङको उपल्लो छोसेरमा रहेको सेल्कर गुफा गेष्टहाउस आकर्षक गन्तव्य बन्न सक्छ ।
लोमान्थाङ–१, सेल्कर क्षेत्रम गुफा नै गुफा छन् । ती गुफामा कुनै बेला मान्छे नै बस्थे । प्रख्यात झोङ गुफा क्षेत्रमा रहेका ३८ वर्षीय पेमा ग्युर्मेले बाजेहरुले घाँसपात राख्ने गुफालाई होटल बनाउने विचार गरे । अनि, छोसेरको त्यही गुफामा जन्म्यो, रुम नम्बर ३०० देखि ३०३ सम्म ।
‘पहिलाका मान्छेहरु गुफामै जन्मे, गुफामा खाए र गुफामै मरे, अहिले आएर गुफाको अनुभव मात्रै गर्ने हो ’, पेमाले  भने,‘पर्यटकलाई गुफाको अनुभव दिलाउन मैले यही वर्षबाट गुफा होटल संचालन गरेको हो ।’ पर्यटकलाई नयाँ स्वाद चखाउन उनले गेष्ट हाउस मात्रै नहुने रहेछ भन्ने बुझे । ‘यो गुफा मेरो बाउबाजेले घाँस राख्ने ठाउँ हो, मैले यहाँको घाँस फालेर यसलाई होटल नै बनाएँ ’, उनले भने,‘ गुफामा बस्दा कस्तो अनुभव हुँदोरहेछ भनेर पनि नेपाली र विदेशी पर्यटक आउँछन् , नेपाली आउँदा सुरुमा गुफामा सुत्न डर लाग्छ भने तर एक दिनपछि उनीहरुले नै मेरो होटलको प्रचार गरिदिए । अनि त म पनि सुत्न पाऊँ भनेर हुल नै भयो ।’
गुफामा ३ वटा कोठामा ८ जना अट्छन् । गुफामा उनले डाइनिङ हल पनि बनाएका छन् । बाउबाजेले चर्चेको ती गुफालाई होटल बनाउन नै ती वर्ष लाग्यो रे । पहिला दुईतले थियो अनि पर्यटकलाई सजिलो बनाउँदा लगभग ४०÷ ५० लाख रुपैयाँ खर्च भएको उनले सुनाए ।
गुफा होटलकाम तीनवटा कोठको फरक फरक मूल्य छ । बढीमा दिनको ५ हजार लाग्छ । नेपालीलाई छुट दिइएको छ । सबैभन्दा माथिल्लो ३०३ को अलि महंगो छ । यहाँ सुतेपछि पर्यटकहरु अरु होटलमा जानै मान्दैनन् रे । किन त ? ‘यहाँबाट हिमाल र बादल कसरी आउँछ, कसरी जान्छ र बादलले अनेकौँ आकृति बनाउँछ । त्यो नै यहाँको विशेषता हो’, उनले थपे,‘गुफामा हिउँदमा तातो र गर्मीमा चिसो हुन्छ, मुलको पानीजस्तै हो, गुफा । त्यसैले पनि यहाँ बस्न रमाइलो हुन्छ ।’ १२ कक्षासम्म पढेका पेमाले होटलमा पहिला बाजेहरुले नै प्रयोग गरेका सामान राखेका छन् । भेँडा व्यापार गर्ने पिताका छोरा पेमाले होटल व्यवसायमा हात हालेपछि पछाडि फर्कनु परेको छैन । उनको परिवारका ६ जना नै होटल व्यवसायमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->