बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : स्मृतिका पन्नाहरु

कविता : स्मृतिका पन्नाहरु


  • राधिका कल्पित
  • कार्तिक ४ २०७६, सोमबार

कोप्दैनन् मेरा नाङगा पैताला तीखा ढुङ्गाहरुले
घोच्दैनन मेरा हातहरु एेंसेलुका घोप्टे काँडाहरुले
बगाउँदैन मलाइ उर्लदो दरमको बेगले
न हान्छ मलाइ शिशिरको चिसो सिरेटोले ।

चिनेर हात हल्लाउछ टाढैबाट
त्यो पिपलबोट अनि चौतारीले
पात बजाएर बोलाउँछ सुसेल्दै परैबाट
त्यो भन्ज्याङ अनि देउरालीले ।

कहाँ ठेस लाग्न दिन्छन् मलाइ यहाँ
बत्ति बाल्दै अाइपुग्छन
अँध्यारोमा जुनकिरीले
कहाँ एक्लो हुन दिन्छन्
लहसिंदै अँगाल्न अाइपुग्छन्
यहाँका लहरा अनि लतिकाले ।

कहाँ भोक-भोकै मर्न दिन्छन मलाइ यहाँ
पोल्टा भरि कोसेली बोकेर अाउँछन्
कटुस, काफल अनि चुत्राका बोटहरुले
कहाँ हराउन दिन्छन् बाटो भुलेर
हात समातेर डोराइहिड्छन
बाख्राका पाठा अनि बाच्छा-बाच्छीहरुले
कहाँ तिर्खाउन दिन्छन् प्यासले
सींचिन्छन् जरुवा र कुवाको अमृत रसले ।

रुन दिन्न एक्लै एकान्तमा मलाइ यहाँ
संगै सुसाउँछे दरम निरन्तर
उदास हुन दिन्न बार्हमासे र प्याउली
संगै मुस्कुराउँछ हरपल
एक्लो हुन दिन्न जुरेली र न्याउली
सुनाइ बस्छन् मधुर वासन्ती अनि गजल ।

जब अग्लो घुम्टे तान्छ हात मेरो उठ-उठ भनेर
थाक्न सक्दिन म थकाइको बहाना गरेर
अामाले जस्तै स्निघ्ध म्वाइ खान्छ
बिहानी शितल पवनले
बाबुले जस्तै बटुल्छ
अस्ताउदो सूर्य अनि गगनले ।

पिङ खेल्थे म
बर- पिपलका लामा- लामा जराहरुमा
बयली खेल्थें म
खेतका ठूला- ठुला गरा-गरामा
चिप्लेटी खेल्दै लर्किन्थें र
झरिदिन्थें बालुवाका दलदले गलैंचामा
बत्तिदै उडिदिन्थें
धुपी र दुबोको मखमली फलैंचामा ।

स्मृतिका कुन-कुन पाना पल्टाउ म
बालापनका कुन-कुन गाना सुनाउँ म ?

हातभरि लपेटिंदा माटो
मैलो लागे झैं कहिल्यै हुँदैनथ्यो
गोडाभरि लत्पतिंदा धुलो
घिन लागे झैं कहिल्यै हुदैनथ्यो
सुर्य संग डराइ-डराइ अनुहार छलेर हिड्न पर्दैनथ्यो
झरी संग अत्तालिएर छाता अोडेर हिड्न पर्दैनथ्यो
कहाँ छोडियो त्यो उमेर, त्यो समय?
कहाँ सकियो त्यो अाभा अनि अभय ?
एकछिन एक्लै छोडिदेउ न दया राखि
मलाइ टाढा लैजाने ए निठुर मेरो उमेर !
जान चाहन्छु बालापनमै रम्न म केही बेर ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->