शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

चिसोले मुस्ताङको जनजीविका कष्टकर बन्दै

चिसोले मुस्ताङको जनजीविका कष्टकर बन्दै


  • ढोरपाटन संबाददाता
  • मंसिर २७ २०७६, शुक्रबार

मुस्ताङ,२६ मंसिर – हिमपात नहुँदा पनि चिसो अत्याधिक बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङको जनजीवन कष्टकर बन्दै जान थालेको छ । तल्लो मुस्ताङमा पर्ने ठाउँहरुको अवस्था सामान्य रहेको भएपनि उपल्लो मुस्ताङमा भने चिसो निकै बढेको स्थानीय नागरिक बताउँछन् ।

चिसोका कारण बाहिर निस्केर काम गर्न नै समस्या हुँदा मुस्ताङीहरुलाई दैनिकी सञ्चालनमा कठिनाइ हुन थालेको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख धारा गुरुङले बताए । उनका अनुसार रातीको समयमा माईनस ९ डिग्रीसम्म र बिहानको समयमा माईनस ५ डिग्री सेल्सीयससम्म तापक्रम झरेको छ । ‘यो बर्ष हिमपात भएको छैन तर मुस्ताङमा चिसो निकै बढेको छ।’ उनले भने, ‘हिमपात नहुँदै यस्तो चिसो भएपछि हिमपातपछि त यहाँको जनजीवन निकै कष्टकर हुन्छ ।’ तल्लो मुस्ताङमा भन्दा उपल्लो मुस्ताङमा रहेका दुई गाउँपालिकाहरू लो घेकर दामोदर कुण्ड र लोमान्थाङमा रहेका चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप लगायतका ठाउँमा चिसो बढेको छ । चिसोका कारण खोलामा बगिरहेको पानी र धाराबाट खस्दै गरेको पानी नै जमेको छ ।

स्थानीयका अनुसार उपल्लो मुस्ताङमा रहेका खोलानाला, धारा र सङ्कलन गरेर राखिएको पानी समेत जमेको छ । ‘तल्लो मुस्ताङमा माइनस ७ डिग्री सम्म झरेको छ । माथि भन्दा त तल न्यानो हुने नै भयो ।’ मुस्ताङका पत्रकार तिलक बि.क. भन्छन, ‘खोला र धाराको पानी जम्नको लागि लगभग माइनस २० डिग्री हुनुपर्छ ।’ मङ्सिर, पुस र माघ महिनामा मुस्ताङको न्यूनतम तापक्रम माइनस २० डिग्री सेल्सियस र अधिकतम माइनस २५ डिग्री सेल्सियस सम्म मापन गरिएको छ ।

चिसोकै कारण सधैँ पर्यटकहरूले भरिभराउ हुने मुस्ताङका विभिन्न ठाउँहरू पनि क्रमशः सुनसान बन्दै गएका छन । गाउँपालिका प्रमुख गुरुङले हिमपात नभएकोले बाटोघाटा सफा रहेको भए पनि पर्यटकहरु निकै घट्दै गएको बताए । ‘चिसोका कारण यहीँ जन्मेका, हुर्केका र खेलेकाहरूलाई त समस्या हुन्छ, बाहिरबाट घुम्न आउनेहरूलाई चिसो सहन त मुस्किल नै हुन्छ नि ।’ उनले भने, ‘अबको समय मुस्ताङमा पर्यटकहरु खासै हुँदैनन् ।’ चिसोकै कारण उपल्लो मुस्ताङका धेरै युवा तथा प्रौढहरू घुम्ती व्यापारका लागि बेसी झरेका छन् भने बालबालिकाहरू घुम्ती विद्यालय मार्पmत पोखराका बिभिन्न स्थानहरुमा सारिएका छन् । उपल्लो मुस्ताङमा अधिकांश नागरिकहरू चिसो छल्नका लागि जिल्लाबाट बाहिरिएको भए पनि घर कुर्न तथा भेडा र चौँरी स्याहार्न बसेकाहरूलाई भने समस्या हुने गरेको छ । उनीहरूले दाउरा बालेर आगो ताप्दै दैनिकीलाई सजिलो बनाउन प्रयास गर्छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->