बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कविता : `ह्याप्पि न्यू इयर´ !

कविता : `ह्याप्पि न्यू इयर´ !


  • राधिका कल्पित
  • पुष १५ २०७६, मंगलबार
चियर्स!
ह्याप्पी न्यु ईयर
चियर्स !
बर्षैभरि `चियरफुल´ रहने अभिलाषामा
`चियर्स´ भन्दै गिलासहरु ठोक्काउदै
मध्यरातमा नयाँ-बर्षलाइ स्वागत गर्दै
पुरानो भित्तामा टाँगियो
नयाँ क्यालेन्डर ।
साल नयाँ
तर
उस्तै बिहान उस्तै घाम
उही ठाम उही काम
मिति फेरियो थिति उहि
भाग्य उही साध्य उही
बस् एक साल छोटियो जिन्दगी ।
मदिरासँग साटेको क्षणिक उल्लास
चरेससँग मातेको मोहक उन्माद
मृगतृष्णा झैँ लाग्ने रंगिन रात
निमेषमै जिन्दगी रित्तिन्छ कि झैँ लाग्ने
सुरुप्प पार्दाको मिठासको त्यो आभा
बिहान सम्म मात्रै पनि रहँदो हो त
अझै कति झंकारित हुन्थे होलान् साँझहरु ।
कठै! कति भ्रममा बाँच्न खोज्छ यो मान्छे
रातभरि हाँस्दै उम्लेको आफ्नै अनुहार हेर्न
बिहान डराई- डराई ऐना अगाडि उभिन्छ
मुस्काउने प्रयासमा पराजित हुन्छ आफैसँग
आफुभित्र आफैलाई बन्दी बनाइ
निर्वासित जीवन बाँच्न अभ्यस्त ऊ
बेखबर भैदिन मन लाग्छ उसलाइ
आफ्नै घरभित्र अनि आफ्नै शहरभित्र
त्यसैले त सुटुक्क छिर्छ सानो भट्टी भित्र
यस्तै यस्तै बहानामा..
नयाँ बर्षमा
जिन्दगी नै नयाँ पाइन्छ कि झैं लाग्ने
हिजोको साँझ
अनि नयाँ बर्षको यो नयाँ साँझमा
कुनै फरक छैन
फरक छ त केबल क्यालेन्डर ।
प्रत्येक बर्ष यसरी नै ढाँटिदिन्छ आफैलाई ऊ
खुसि हुने बहाना या आफैबाट भाग्ने बहाना?
एक प्याला
एक सिगरेट
एक चियर्स
अनि पर कुनाबाट फ्याँकिएको कक्टेल मुस्कान
मनमनै बोल्छ
आहा! यो पो `लाइफ´।
कति चियरफुल देखिन्छ चियर्स भन्दा ऊ
लाग्छ भर्खर कुनै राज्य जितेर आएको छ
अनि सम्राटको श्रिपेच पहिरिएको छ
तर अर्को बिहान
युद्ध हारेको सिपाही झै
मुर्छित् मन र मुर्झाएको चेहरा
आफ्नै गाम र नाम बिर्सेको यात्री जस्तै
आफ्नै ठेगाना आफै संग सोध्दै हिँड्ने
दिग्भ्रमित बटुवा जस्तै
पुन: हिँडिरहन्छ हिँडिरहन्छ
उनै पुराना बिग्रेका बाटाहरुमा ।
निरन्तर निरन्तर..
त्यसरी नै
जसरि फेरिन्छन क्यालेन्डरमा पानाहरु
निरन्तर निरन्तर…. ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->