तिमीले देख्नुपर्छ खाली हात ,
सुन्नुपर्छ खाली हातका गीत
नत्र हामी देखाउँछाै ,
सुनाउँछाै खाली हातका गीत,
शाेषणकाे ईतिहासकाे गर्भबाट
शाेषणकाे ईतिहासकाे गर्भबाट
जन्मिएका खालीहातहरू
लुटकाे संसारमा
वनाईन्छन् सर्वहारा
लुटिन्छन् तिनका श्रम र पसिना
बन्छन् खाली हातका मान्छेहरू !
महाशय !
खाली हातका आवाजलाई सुन
खालीहातका रक्तचाप नाप ,
असीम उर्जा छ खाली हातमा
पहाड सम्याउने पाैरख
सगरमाथा उचाल्ने गाैरब
छ, खाली हात सँग !
महाशय !
घृणा नगर खाली हातलाई
सामन्ती नखरा देखाएर
नजिस्क खाली हातका ठेलासँग
उपहास गरेर ,
नसम्झ दयाकाे पात्र
ईतिहासका निर्माता खाली हातलाई
अनुकम्पामा बाँच्न चाहदैंनन्
“खाली हातहरू”!
तिनै हुन खाली हात ,
दासताकाे सिक्री ताेड्न सक्छन्
असमानताकाे भड्खालाे जाेड्न सक्छन् ।
बाेल्न सक्छन् विद्राेहकाे आवाज
काेर्न सक्छन् रक्तिम ईतिहास ,
बन्छन् विद्राेहकाे बन्दुक तिनै ,
हुन्छन् सिर्जनाका संवाहक तिनै ,
खाली हातमै छ,
सामार्थ्य अति
विराट सिर्जना र अपार शक्ति
खाली हातले बनाँउछन्
ग्रेटवाल,
पिरामिड ,
अल्जरी टावर
खाली हातले जीवनजगतलाई बस्ती बनाउँछ ,
बस्न लायक धर्ति बनाउँछ
रहरलाग्दा खाली हात
डरलाग्दा हुन्छन्
तिनका लागि
जसले श्रमलाई व्यञ्जन
पसिनालाई पानी
रगतलाई जुस
वनाएर पिउँछन्
लामखुट्टे जस्ताे मान्छेहरू,
झुक्दैनन् खाली हात
हार्दैनन् खाली हात
बढ्तै निडर हुन्छन् खाली हात
चाहिएकाे छैन खाली हातलाई
रत्नजडित सिंहासन
हिरामाेतिका आलमारी
श्रीसम्पतिकाे रास
चाैरासी व्यञ्जनकाे भकारी
कथित स्वर्गकाे चाैतारी !
त्यसैले
खाली हातलाई
दया हाेईन सम्मान चाहिन्छ,
माम हाेईन, काम चाहिन्छ
वरदान हाेईन ,अवसर चाहिन्छ
निगाहा र उपहार हाेईन
हक अधिकार चाहिन्छ !





