जोमसोम, १८ फागुन – मुस्ताङको घरपझोङ गाउँपालिका वडा नम्बर -४ जोमसोममा शनिबार राति एक घरमा आगोलागी हुदा करिव ७० लाख बरामरको धनमाल क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार स्थानीय मनोज गोतामेको घर भाडामा लिई फेन्सी पसल संञ्चालन गरेकी सोममाया ल्वागुनको पसलमा गएराति १० बजे आगोलागी भएको हो ।
प्रहरी निरीक्षक बिनोद सुवेदीले फेन्सी पसलमा बिद्युत सट भई आगोलागी भएको हुनसक्ने बताए । आगोलागीबाट भुईतलाको फेन्सी पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ भने घर भित्रका फर्निचर तथा लत्ताकपडा क्षति भएको छ। ढुङ्गा,माटो र काठले बनेको २ तले ४ कोठा भएको कच्ची घरमा क्षती भएको हो । उद्दार टोली समयमै उपस्थित भएकाले थप मानवीय क्षती हुन नपाएको प्रहरीले जनाएको छ । घरमा आगोलागी पीडित सोममायासहित एक छोरा र एक छोरी थिए ।
आगोलागी भएको खबर पाएपछि स्थानीयबासी तत्काल आगो निभाउन घटना स्थलमा पुगेका थिए । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयीबासीको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा आएको उहो । रातिको समय खाना खाई माथिल्लो तलामा सुत्ने क्रम भईतलाबाट आगोलागी भएको पीडित सोममायाले बताएकी छिन् ।





