बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

सिर्जना : विधुर-वन्दना

सिर्जना : विधुर-वन्दना


  • राधिका कल्पित
  • फाल्गुन १८ २०७६, आइतबार

ऊ बेला नीद थियो
बिस्तरा थिएन
भोक थियो
अन्न थिएन
जुन बेला बोक्रा नि चपाइन्थ्यो
बोक्रो समेत भेटिन्नथ्यो
अहिले स्वादिला भोजन छन्
मुखले स्वाद पाउन्न ।

बुढी,
कहिलेकाहीँ रिस ऊठ्दा
खुट्टा भए जुत्ता कति-कति भनि घुर्क्याऊँथे तँलाई
तँ गईस्
न खुट्टा रहे
न जुत्ता फेर्न परो ।

उहिले तँलाइ ढाट्थे र सुटुक्क छिर्थेँ साईलीको भट्टी
अहिले अाफैलाइ ढाट्दै लुसुक्क छिर्छु
पहिला मैले रक्सि खान्थेँ
अहिले रक्सिले मलाई खाँदैछ
उतिखेर खुसि हुन पिउँथे
अहिले एक्लै रुन पिउँछु ।

ए बुढी, दुध र भातले नाक लागेको छ
एकचोटि तैले पकाएको गुन्द्रुकको झोल
र कोदोको ढिडोको स्वाद लिन पाए
प्राण सजिलै जान्थ्यो
तँ अाएर पकाउछेस् कि
म उतै आम् ?

तैले जानिस् बुढी
बेलैमा गइस्
मुखमा दाँत छँदै
ज्यानमा आँत छँदै
न लौरो टेक्न परो तँलाई
न अँधेरो देख्न परो तँलाई
उ बेला तँ थिईस
मायाँले बोल्ने फुर्सद थिएन
अहिले तँ छैनस्
मलाई फुर्सदै फुर्सद छ
बेइमानी काल पनि
जोडी छुटाउन मात्रै आउछ सायद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->