बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बीसवर्ष पछि

बीसवर्ष पछि


  • ओ. हेनरी
  • चैत्र १ २०७६, शनिबार

ड्युटीमा तैनाथ ती प्रहरी जवान बढो तदारुकताका साथ चोकतिर लागे । यो तदारुकता उनको बानी थियो, देखावटीपन हैन । त्यहाँ उनलाई हेर्नेहरूको संख्या कम थियो । राती करिब दश बज्न लागेको बेला, बतासका चिसा सिरेटाहरूमा हल्का वर्षाको गन्ध मिसिएकोले सडकमा चहलपहल कम थियो । सबै ढोकाहरूको निरीक्षण गर्दै, आफ्नो लौरोलाई बढो क्लिष्ठ र कलात्मक ढङ्गले घुमाउँदै, र त्यो शान्त सन्नाटामा आफ्ना तिब्र आँखा घुमाउँदै हिँडिरहेका, सतर्क र हल्का चाल भएका ती प्रहरी अधिकृत शान्तिको वास्तविक अभिभावकजस्ता देखिन्थे । त्यो टोलका मानिसहरू साँझ छिट्टै झ्याल–ढोका बन्द गर्थे । बेलाबेलामा चुरोट पसल या रात्री भोजनालयबाट आउने उज्यालो भने देखिन्थ्यो, तर धेरै जसो पसलहरू अन्य व्यापारिक केन्द्रका भएकोले चाँडै बन्द हुन्थे ।
एउटा टोलको बीचतिर पुग्दा ती जवानले आफ्ना पाइला सुस्त बनाए । एउटा अँध्यारो फलामकिल्ला पसलको दैलोको आडमा, नबालिएको चुरोट ओठमा च्यापेर एउटा मान्छे उभिएको देखियो । ती जवान उसको नजिक पुग्दा ऊ आत्तिएर बोल्न थाल्यो,‘ए, केही भएको हैन सर, म एउटा साथीलाई कुरिराको । यो बीस वर्षअघि निर्धारण गरिएको कार्यक्रम हो । अलि अपत्यारिलो सुनिन्छ हैन ? तपाईँलाई शङ्का लाग्यो भने म व्याख्या गर्छु । त्यतिका वर्षअघि यस ठाउँमा एउटा बिग जो ब्रेडी भन्ने भोजनालय थियो ।’‘पाँच वर्ष अघिसम्म थियो’, प्रहरी जवानले जवाफ दिए,‘त्यसपछि त्यो भत्काइयो ।’

दैलोमा उभिएको त्यो मानिसले सलाइ कोरेर चुरोट सल्कायो । त्यो सलाईको उज्यालोमा प्रहरीले एउटा पहेँलो अनुहार देखे, चारपाटे गिजा, तीखा आँखा, र दाहिने आँखिभौँनेर एउटा स्पष्ट काटेको खत । उसको स्कार्फको पिन हीराको थियो, ठूलो, तर नमिलेको ।‘
बीस वर्षअघि आजकै दिन’, उसले भन्यो,‘मैले यही भोजनालयमा मेरो सबैभन्दा मिल्ने साथी र यो विश्वकै सबैभन्दा भलाद्मी मान्छे जिमी वेल्ससँग खाना खाएको थिएँ । हामी दुवै दाजुभाइसरह न्यूयोर्कमा हुर्किएका थियौं । त्यो बेला म आठार वर्षको थिएँ र जिमी बीस । खाना खाएको भोलिपल्ट बिहानै मलाई भविष्य खोज्न न्युयोर्कबाट टाढा परदेशतिर लाग्नु थयो । जति प्रयास गरे पनि जिमीलाई न्यूयोर्कबाट बाहिर जानमा राजी गर्न सकिँदैनथ्यो । उसलाई यो पृथ्वीमा न्युयोर्कबाहेक अरु कुनै मुलुकै छैनन् जस्तो लाग्थ्यो । त्यसै रात हामीले निर्णय ग¥यौँ, बीस वर्षपछि हामी जस्तो स्थितिमा भए पनि, जति टाढाबाट आउनु परे पनि यही भोजनालयमा भेट्ने छौँ र खाना खाने छौँ । हामीले यो पनि तय ग¥यौँ कि बीस वर्षको त्यो अवधिमा हामी दुबैले जुन रूपमा भए पनि आ–आफ्नो भविष्य सुनिश्चित गरिसकेका हुनेछौँ ।
‘यो त बडो जगबको कुरा भो’, प्रहरी जवानले भने,‘तर, बीस वर्षको अन्तराल भनेको अलि लामो लाग्यो मलाई । तपाईँहरूको बिछोड भए यता तपाईँले उहाँको बारेमा केही खबरखाबर पाउनु भएको छैन ?’
‘एकपल्ट पत्राचार भएको थियो’, उसे भन्यो । ‘तर एकदुई वर्षपछि हामी दुबैको अत्तोपत्तो हरायो । हेर्नोस्, पश्चिम भनेको बडो अफ्ठेरो मुलुक हो । म यसका वरिपरी लामो समयसम्म भौँतारिइरहेँ । तर मलाई थाहा छ, जिमी जिउँदो छ भने अवश्य आउने छ, मलाई भेट्न । ऊ विश्वमा सबैभन्दा विश्वसनीय र दृढ मानिस हो । उसले कहिल्यै बिर्सँदैन । म हजारौँ माइलको यात्रा तय गरेर र यस ढोकामा उभ्भिन आइपुगेको छु । र मेरो साथी आयो भने मेरो यो मिहिनेत सार्थक हुनेछ । यति भन्दै उसले एउटा सुन्दर घडी निकालेर समय र्हेयोस त्यो घडीमा वरिपरि हीरा जडान गरिएको थियो ।
‘दस बज्न तीन मिनेट बाँकी छ’, उसले भन्यो’,हामी यस रेष्टुरेन्टबाट छुट्टिँदा ठ्याक्कै दस बजेको थियो ।’
‘तपाईलाई पश्चिम फाप्यो होला, हैन ?’, जवानले सोधे ।
‘पक्कै । जिमीले मैले गरेभन्दा आधि–उधिजति तरक्की ग¥यो नै होला । मान्छे चाहीँ ऊ अलि लोसे हो, तर मज्जाको । मलाई भने धेरै कडा प्रतिष्पर्धाको सामना गर्नुप¥यो ।’
ती प्रहरी जवानले आफ्नो लाठी हल्लाए, र एकदुई कदम अघि बढे ।
‘म यही सडकमा कतैतिर हुन्छु । तपाईका मित्र सकुशल आइपुग्नुहोला, आशा गरौँ । समय त ठ्याक्कै हुन लाग्यो नि, पर्खिने कि हिँड्ने हो?’
‘हैन, केही समय त दिनै प¥यो नि । म अबको आधा घण्टासम्म पर्खन्छु । जिमी जिउँदो भए त्यो बेला सम्ममा अवश्य आइपुग्ने छ । त्यो बेलासम्म, ‘..
‘हुन्छ त, शुभरात्री’ भन्दै ती जवान आफ्नो बाटो लागे, अन्य बन्द ढोकाहरूको निरीक्षण गर्दै ।
हल्का, अलि अलि चीसो वर्षात भइरहेको थियो । हल्का सिर्काहरूबाट बतास स्थिर प्रवाहमा विकसित भइसकेको थियो । त्यस चोकमा छरिएका छुट्पुट् पैदल यात्रुहरूपनि आ–आफ्ना कोटका कलर माथितिर सारेर, हात खल्तीभित्र घुसारेर आफ्नो बाटो लागे । त्यो हार्डवेयर पसलको गेटमा आफ्नो यौवानवस्थाको साथीलाई भेट्न आएको त्यो मान्छे त्यस वहुप्रतिक्षित, र केही अपत्यारिलो लाग्ने भेटका लागि पर्खिरहेको थियो, चुरोट तान्दै ।
उसले बीस मिनेटजति पर्खियो, अनि एउटा ओभरकोट लगाएको मान्छे, कलर माथितर तानेर सडकको पल्लो किनारबाट ऊतिर आउँदै गरेको देखियो । सडक पार गरेर त्यो मान्छे त्यस प्रतिक्षारत व्यक्तिको छेउमा आएर उभ्भियो ।
‘तिमी बोब हौ ?’उसले हतारोसँग सोध्यो ।
‘तिमी जिमी वेल्स हौ ?’, सशङ्कित प्रतिउत्तर ।
‘म कति भाग्यमानी !’ भन्दै त्यो नवआगन्तुकले बोबका हात आफ्ना हातले च्याप्प समात्यो । ‘तिमी बोब नै हो, निःसन्देह ! मलाई विश्वास थियो, तिमी जीवित भए आज यस ठाउँमा अवश्य भेटिने छौ । हो, बीस वर्ष लामो समय हो । त्यो पुरानो खाजाघर छैन बोब, नत्र हामी त्यहीँ खाना खानेथ्यौं । अनि पश्चिम कतिको फाप्यो त तिमीलाई ?’

‘कुरै नगर । पश्चिमले मलाई आवश्यक सर्वश्व दिएको छ । तिमी त धेरै परिवर्तित भएछौ, जिमी । तिमी मैले सोचेभन्दा दुई–तीन इन्च अल्गो पनि भएछौ ।’
‘अँ, बीस नाघेपछि अलि बढियो ।’
‘अनि अरु के छ? न्यूयोर्कमा राम्रै चलिरहेको छ, हैन?’
‘ठीकै । शहरको एउटा विभागमा जागिर छ । आऊ बोब, मैले बुझेको एउटा ठाउँमा जाऊँ, अनि हाम्रो स्वर्णीम अतीतका कुरा गरौँला ।’

हातेमालो गरेर दुई मित्रहरू सडकै सडक उँभोतिर लागे । पश्चिम खाएर आएको मान्छे, आफ्नो सफलतामा अलि अलि गौरव गर्दै आफ्नो व्यावसायिक जीवनको कथा भन्न लाग्यो । अर्को चाहिँ आफ्नो ओभरकोरभित्र लुकेर बढो चाखसँग उसका कुरा सुन्न थाल्यो ।
सडको एक छेउमा एउटा औषधि पसल थियो, बिजुली बत्तीले झलमल्ल । ती दुई मित्रहरू त्यो बत्तीको उज्यालोमा आइपुगेपछि एक–अर्काका अनुहारतिर फर्किए ।पश्चिमबाट आएको साथी हिँड्दा–हिँड्दै एक्कासि रोकियो, र झ्वाट्ट आफ्नो हात साथीको कुमबाट हटायो ।
‘तिमी जिमी हैनौ ?’ उसले भन्यो, ‘हो, बीस वर्ष भनेको लामो समय अवश्य हो, तर एउटा चुच्चो नाकलाई थ्याप्चो नाकमा परिवर्तन गर्नका लागि यो समय पर्याप्त भने अवश्यै हैन ।’

‘तर यतिको कालावधिले कहिलेकाहीँ एउटा असल मान्छेलाई दूराचारी भने बनाउन सक्दो रहेछ’ भन्दै त्यो अग्लो मानिसले थप्यो,‘तिमी दस मिनटदेखि गिरफ्तार छौ, रेसमी बोब । सिकागो प्रहरीले हामीलाई तारमार्फत खबर गरेको थियो तिमी यतातिर आएको हुन सक्छौ भनेर । तिमीसँग कुरा गर्नु छ अरे उनीहरूलाई । सुटुक्क भाग्छु भन्ठानेका थियौ हैन? खूब बाठा पो रहेछौ । चौकीमा जानुभन्दा अघि लौ यो चिठी पढ, तिमीलाई दिनु भनेर कसैले दिएको । त्यो झ्यालमा उज्यालो छ, त्यहाँ पढ्न सक्छौ । यो अघि ड्यूटीमा खटिएको जवान वेल्सले पठाएको हो ।’पश्चिमबासीले उसका हातमा थमाइएको त्यो कागज खोल्यो । पढन सुरु गर्दा उसका हात स्थिर थिए, तर पढी सक्दानसक्दा उसका हात थरथरी काँप्न थाले । चिठी भने छोटो थियो ।
‘बोब, निर्धारित स्थानमा म समयमै आएको थिएँ । तिमीले जब चुरोट सल्काउन सलाइ को¥यौ, मैले तिम्रो अनुहारमा सिकागो पुलिसको निगरानीमा रहेको एक कुख्यात अपराधीलाई देखेँ । मैले आफै तिमीलाई गिरफ्तार गर्न सकिन । त्यसैले साधारण पोसाकको अर्को मान्छे खोजेर पठाएँ । उही तिम्रो जिमी ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->