शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

शनिबार रातीदेखि मुस्ताङमा विद्युत अवरुद्ध

शनिबार रातीदेखि मुस्ताङमा विद्युत अवरुद्ध


  • संजय रेग्मी
  • चैत्र ३ २०७६, सोमबार

पर्वत, ३ चैत – पटक पटक हिउँ पर्ने गरेको हिमाल पारीको जिल्ला मुस्ताङमा पछिल्लो पटक गत शनिवार राती भएको हिमपात र चर्को हावाहुरीका कारण विद्युत अवरुद्ध भएको छ । जोडसँग बहेको हावाले सदरमुकाम जोमसोम र त्यो भन्दा तल्लो क्षेत्र थासाङ गाउँपालिकामा विद्युतका खम्बाहरु भाँचेपछि शनिवार रातीदेखि नै विद्युत अवरुद्ध भएको हो ।
सदरमुकाम जोमसोम आसपासमा रहेका झन्डै १५ खम्बाहरू र त्यो भन्दा तलको क्षेत्र थासाङमा रहेका १५ गरी ३० वटा विद्युतीय खम्बाहरू भाँचिएको तथा लेतेबाट माथि उपल्लो मुस्ताङसम्म कहीँ पनि विद्युत् सेवा नरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको र छिटोभन्दा छिटो विद्युत् सुचारु गराउन भनिएको उनको भनाई छ।
सदरमुकाम जोमसोम आसपासमा भाँचिएका खम्बाहरू सुरक्षाकर्मीको सहायतामा निकालेर नयाँ खम्बाहरू गाडिएको छ भने त्यो भन्दा तल्लो क्षेत्रमा खम्बाहरू फेर्ने काम भइरहेको छ । लगातार काम भइरहेको भए पनि पुराना खम्बा निकालेर नयाँ राख्दा र पुराना खम्बाहरूमा जडित तारहरूलाई नयाँ खम्बामा राख्दा समय लागेको छ । प्रमुख जिल्ला अधिकारी अर्यालले तल्लो क्षेत्रमा पनि विद्युत् प्राधिकरणका कर्मचारीहरू सहित सुरक्षाकर्मीले पनि काम गरिरहेको र छिटोमा मंगलबारसम्ममा विद्युत् सुचारु गराउन सकिने बताए ।
विद्युत् अवरुद्ध भएको पनि इन्टरनेट, मोबाइल नेटवर्क र ल्याण्डलाईन टेलिफोन सेवा भने सुचारु नै रहेका छन् । मुस्ताङमा वैकल्पिक ऊर्जाको रूपमा सोलार प्यानलहरू पनि जोडिएका कारण फोन र इन्टरनेट सेवा भने सुचारु रहेको हो ।
भ्रमण वर्ष अन्तर्गत गण्डकी प्रदेश सदस्य नीरज थकालीका अनुसार हिमपातका कारण मुस्ताङका पदमार्ग तथा सवारीमार्गहरु पनि बन्द भएका छन् । यद्यपि कतिपय ठाउँमा भने हिउँ पन्छाएर भए पनि सवारीहरू चलाइएको छ । हिमपातका कारण सेताम्मे बनेको मुस्ताङमा हिउँमा खेलेर रमाइलो गर्नेहरू गइरहेको थकालीको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->