एकथरि छन्
रोग सँग लडिरहेका
अर्का थरि छन्
भोक सँग लडिरहेका
अर्को झुन्ड छ
शोक सँग लडिरहेका
एउटा अर्को बर्ग छ
यी तिनै सँग जुधिरहेका ।
`कोरोना´सँग कुरुक्षेत्रमा जनताहरु
युद्धरत हुँदा
र यी तिनै चिज बाट दूर रहेको
एउटा विलासी बर्ग छ
जो अख्तियार सँग लडिरहेका छन्
`नाम´ लुकाउने युद्धमा ।
युद्ध चलिरहे `सिनो´ खान पाईएला
भन्ने गिद्दहरु
हेलिकप्टर चढेर हेरिरहेछन् तमाशा
मानौ,
रोग, शोक र भोक
उनिहरुको भाग्यमा पर्दैन
भाइरस, भोकमरि र भयको
त्रिकोणात्मक चक्रव्यूमा
भिडिरहेको भिडलाई
अस्त्रहीन छोडेर
भिष्मपितामह मौन ब्रतमा हुनुहुन्छ
धृतराष्ट्र दृष्टिविहिन हुनुहुन्छ
गान्धारी धृतराष्ट्रलाई
`चमर´ हम्कँदै हुनुहुन्छ
एउटा नाटक मञ्चन भईरहेछ
`नेपाल सरकार´
हामीहरु त्यहि रमिता हेरिरहेछौं
किनकि सिनेमा घरहरु बन्द छन
देश लकडाउन छ ।





