बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गोस्ट राइटर

गोस्ट राइटर


  • राजेन्द्र पराजुली
  • चैत्र २९ २०७६, शनिबार

ठ्याक्कै दस वर्ष भएको छ मैले आफ्नो स्वरूप बदलेको । हुलिया परिवर्तन गरेको। गेरु रङको यो वस्त्र । तिलचामले कपाल र त्यस्तै दाह्रीजुँगा। अब म राजेन्द्र पराजुली कहीँकतै पनि छैन । स्वामी ‘प्रेमराज’ भएको छु । यो दशक लामो अवधिमा मैले कम्तीमा पनि सय ठाउँमा प्रवचन दिइसकेको छु ।मान्छेका भिडअघिल्तिर सुरुका दिनमा बोल्न केही अप्ठ्यारो भए पनि निरन्तर अभ्यास र अध्ययनले मेरो वाचनकला आकर्षक बन्दै गएको छ । ठ्याक्कै भन्न त सक्दिनँ, तर सय हाराहारीको संख्यामा पुग्यो होला मेरा अन्तर्वार्ता छापिएका वा प्रसारित भएका पनि । एक जना अनुयायीले ती सबै सामग्री जम्मा गरेर राखिदिएकी छु भनेकी छन् । पछि पुस्तक बनाउन हुन्छ रे!

चाहे प्रवचन होस् वा अन्तर्वार्ता, मैले बोल्ने विषय भने समान छ, निश्चित छ । ‘चरित्र र अध्यात्म’ मेरो विषय बनेको छ । यी दुई सन्दर्भलाई कहिलेकाहीँ विज्ञानसँग पनि जोड्ने गरेको छु । विज्ञान विषयमा त मैले झन्डै अढाई दशकअघि नै स्नातकोत्तर गरेकै हुँ । त्यसैले यस विषयमा मेरो गहिरो अभिरुचि छ । मेरो परिवार चाहन्थ्यो हेर्न, म डाक्टर वा इन्जिनियर बनेको । त्यसैले मलाई विज्ञान विषय पढाइयो । तर म बनेँ यस्तो ! हरेक घटनाका कारण हुन्छन् । म यो बाटोमा लाग्नुको पनि कारण त छ नै ।

मेरा अनुयायी बढेका छन् । मैले प्रवचन दिन थालेपछि कोही पनि एक शब्द बोल्दैनन् । अर्थात् म एउटा सफल स्वामी बनिसकेको छु । जीवनमा मैले जुन बाटो समातेँ, त्यसमा म सफल भएको छु ।जीवनको बाटो छनोटमा मेरो कुनै गुनासो छैन । तर, केही दिनदेखि एउटा दुःखले मलाई लखेटिरहेको छ । यो कस्तो दुःख हो, जुन कसैलाई भन्न पनि सक्दिनँ म ।जब म स्वामी प्रेमराज बनेर हिँड्न थालेँ, मेरो पुरानो जीवनलाई चटक्कै बिर्सने प्रयासमा छु ।कतिपय सवालमा म सफल पनि भएको छु, केही यस्ता विषयसँग मेरो जीवनको कुनै कालखण्ड जोडियो, त्यसलाई मैले चाहेर पनि भुल्न सकेको छैन । किशोर वयको त्यो अँध्यारो कालखण्ड थियो । मान्छेलाई अँध्यारोको यात्राले अझ बढी सचेत बनाउँछ कि क्या हो! मेरो बुझाइले त्यसै भन्छ ।

एकातिर म ‘चरित्र र अध्यात्म’बारे लोकप्रिय प्रवचन दिने स्वामीका रूपमा परिचित हुन थालेको छु, अर्कोतिर एक–दुइटा विगतका घटनाले चिन्तित पारिरहन्छन् । त्यही चिन्तामा थप मलजल गरिरहेछ केही दिनदेखि एउटा युवक मेरो पछि लागेर।

आज मैले कतै पनि समय दिएको छैन । त्यही युवक आउँछु भनेको छ मलाई भेट्न । एउटा चल्तीको टेलिभिजनले लामो अन्तर्वार्ताका निम्ति समय मागेको थियो। पाँच–सात भाग नै कार्यक्रम बनाउने भन्दै थियो । सुरुमा त ‘हुन्छ’ भनेको थिएँ, सोही कारण प्रवचनका लागि समय दिएको थिइनँ । एकजना खानदानी राणाले घरमा बोलाएको थियो प्रवचनका लागि । केही दिनपछि आउँछु भनेर टारिदिएको थिएँ ।

राणा, शाह वा अन्य उपल्लो वर्गमा गनिएका मान्छेका घरमा गएर प्रवचन दिनुको मज्जा नै बेग्लै लाग्छ मलाई । मलाई आफ्नो घरमा बोलाएर प्रवचन दिन लगाउँदा धर्म हुन्छ भन्ने तिनको ठम्याइ छ । प्रमुख कुरा त तिनले मेरा कुरा राम्ररी ध्यान दिएर सुन्छन् । अर्को कुरा अध्यात्मबारे तिनको कुनै प्रश्न हुँदैन, प्रश्न हुन्छ त केवल चरित्रसँग जोडिएका । प्रेम, यौन, विवाह, डिभोर्सजस्ता सवालमा तिनको गहिरो अभिरुचि रहन्छ । केही महिनाअघि एकजना राणाको घरमा गएको थिएँ । परिवारको एउटा छोरो बहुस्त्रीगामी स्वभावको रहेछ । सोही कर्मकै कारण धन पनि निकै सखाप पारेको रहेछ

– ‘स्वामीजी, यदि मैले कसैलाई रकम तिरेर आफ्नो यौनतिर्खा मेटाएँ भने त्यो पनि बलात्कार हुन्छ ?’

– ‘यदि मैले कुनै केटीसँग गम्भीर प्रेम गरेर यौनप्यास बुझाएँ भने त्यो बलात्कार हुन्छ ?’

– ‘कुनै गरिब केटीलाई मैले आर्थिक सहयोग गरेर जीवन बाँच्न सहयोग गरेर बदलामा यौनसम्पर्क राख्दा पनि पाप लाग्छ ?’

– ‘यदि मेरो इच्छा नहुँदानहुँदै पनि जबर्जस्ती कुनै केटीले मसँग शारीरिक सम्पर्क राखी भने त्योचाहिँ मेरो बलात्कार हुन्छ कि हुँदैन ?’

ऊसँग अझै थुप्रै प्रश्न थिए सायद, सोफामा ऊ बस्न चाहिरहेको थिएन । उसकी दिदीले समातेर सोफामा उसलाई बसाली र ‘चुप’ भनी । मैले सबै प्रश्नको उत्तर ‘हुँदैन र लाग्दैन’ दिएँ, अन्तिमबाहेक । अन्तिम प्रश्नको उत्तर त ‘हुन्छ’ दिएको थिएँ ।

उसकी दिदीसँग पनि थुप्रै प्रश्न थिए भन्ने कुरा मैले उनको अनुहारमा पढेको थिएँ । तर, उनी त्यसैत्यसै शिथिल भएर सोफामा थुचुक्क बसिन् । दिदी पनि सम्पन्न परिवारमा बिहा गरेर गएकी थिइन् ।मेरो प्रवचन सुन्न उनी माइतीमा आउने गर्थिन् । उनले पनि मलाई घरमा आउने निमन्त्रण दिइसकेकी छन् । समय मिलाउन बाँकी छ । दुई सन्तानकी आमा उनी निकै सुन्दर छिन् । उनले दाँत देखाएर हाँसेको मैले देखेको छैन । यस्तो लाग्थ्यो, तिनको मनभित्र ठूलो ज्वारभाटा उर्लिरहेको छ । उनी त्यो ज्वारभाटा शान्त पार्न चाहन्छिन् । तर त्यो अप्रकट छ, भित्रभित्रै गुम्सिरहेको । म तिनलाई कसैले नदेख्ने गरी हेर्थें । उनको व्यक्तित्व निकै आकर्षक थियो, त्यसैले त म स्वामी भइसकेको मान्छे पनि उनलाई नहेरी रहन सक्दैनथेँ ।

आमाचाहिँले धार्मिक विषयमा बोल्न मलाई अनुरोध गरिन् । ‘कृष्णचरित्रबारे बताउनुस् न स्वामीजी,’ उनले अलि उत्साही हुँदै भनिन् ।र, पुलुक्क आफ्नो छोरातिर हेरिन् ।

उनी आफ्नो छोराको स्वभावलाई लिएर कहियै कुनै प्रश्न गर्दैन थिइन् । उदाहरणमा कृष्णका गोपिनीको संख्यालाई लिन्थिन् । र, भन्थिन्, ‘मेरो छोराले त्यतिविधि केटीसँग सम्पर्क त राखेको छैन नि !’ आमाको प्रोत्साहनले छोरा गद्गद् थियो । आमालाई अंकमाल गथ्र्यो र गालामा म्वाइँ खान्थ्यो लाडिँदै ।
यस्ता थुप्रै घरपरिवारको म प्रिय प्रवचक स्वामी बनिसकेको छु । खुल्ला चौरमा त्रिपाल टाँगेर दिने प्रवचनभन्दा मलाई यही सानो समूहमा आफ्ना धारणा राख्न मज्जा लाग्छ ।

त्यो युवकले केही समयअघि कोटेश्वर तीनकुनेको खुल्ला चौरमा मैले दिएको प्रवचन सुनेको रहेछ । ‘म तपाईंसँग प्रभावित छु, स्वामीजी। तपाईंको बोल्ने शैली, विज्ञानमा आधारित तर्कले मलाई आकर्षित गरेको छ । तपाईंका प्रेमसम्बन्धी प्रवचन मलाई ज्यादा मन पर्छ ।जब तपाईं प्रेमबारे बोल्न थाल्नुहुन्छ, निकै भावुक बन्नुहुन्छ । मनभित्रबाट आवाज निस्कन्छ तपाईंको । ज्यादा आकर्षित म तपाईंको आवाजबाट भएको छु। तपाईंको आवाजमा जादू छ, सायद । त्यो आवाजले प्रेमका बारेमा कथा जोडिरहँदा मलाई तपाईं साँच्चै नै स्वामी लाग्छ । मलाई भगवानका चरित्रसँग कुनै लेनादेना छैन, म मान्छेको चरित्रबारे अध्ययन गर्दै आएको छु ।म एउटा ‘गोस्ट राइटर’ हुँ, अर्काको नाममा लेख्ने लेखक। आजसम्म मैले २० जनाको आत्मकथा लेखिदिइसकेको छु । तिनले मलाई लेखिदिएबापत पैसा दिन्छन् ।बजारमा चलेको गोस्ट राइटरमध्ये म सबैभन्दा महँगो हुँ । मैले लेखिदिएका सबै पुस्तकले बजार लिएका छन् । प्रकाशकहरू मैले लेखेको पुस्तक छाप्न तँछाडमछाड गर्छन्। अब म तपाईंको आत्मकथा लेख्न चाहन्छु । तर म त्यसबापत तपाईंसँग एक पैसा लिने छैन । सित्तैमा लेखिदिन्छु र आफंै प्रकाशन पनि गर्छु । बिक्रीबाट हुने नाफाको आधा हिस्सा तपाईंलाई दिनेछु । तर तपाईंको आत्मकथाचाहिँ चरित्रमै केन्द्रित हुनुपर्नेछ । तपाईंको चरित्र अर्थात् तपाईंको विगत । तपाईंको प्रेम, विपरीत लिंगीसँगको सम्बन्ध ।’

युवकको कुराले म झसंग भएको छु । ऊ मसँग मेरो विगत सुन्न चाहन्छ ।चरित्र र अध्यात्मबारे प्रवचन दिने कार्यमा ख्याति कमाएको स्वामी प्रेमराजको चरित्र पुस्तकमा उतारेर पैसा कमाउन चाहन्छ त्यो युवक। पुस्तक ‘हटकेक’ हुने उसको अनुमान छ ।तर ,त्यो पुस्तक निस्क्यो भने मेरो हालत के होला ! म अवाक् छु । त्यो युवकको प्रस्ताव राख्ने शैली कति प्रभावकारी ! मैले सोही बखत त्यसलाई ‘हुन्न’ भन्न किन सकिनँ ? चुपचाप बसेका कारणलाई उसले ‘स्वीकृति’का रूपमा बुझेको छ, सायद ।

त्यो युवकले मसँग भेट्न खोजेको लामो समय भइसक्यो । तर मैले टार्दै आएको छु । आज उसलाई टार्न मलाई गाह्रो भइरहेको छ। मलाई त्यसले यसरी ‘कन्भिन्स’ गर्योै कि, त्यहाँ ‘नाइँ’ भन्न मुस्किल थियो ।

त्यो युवकले आज नभेटी हुन्न भनेकाले उसैलाई समय दिएँ। अब त्यो युवक मेरो आधुनिक कुटीमा आउन जम्माजम्मी दुई घन्टा बाँकी छ ।

०००

छपाइ पनि कत्ति राम्रो, असाध्यै खुलेको। ।ठ्याम्मै पाँच सय पृष्ठ भएछ । हातमा लिँदा पनि मज्जा आउने आकार । पुस्तकको आवरणमा मेरो तस्बिर छ। रंगीन त्यो तस्बिर निकै आकर्षक देखिएको छ। पुस्तकको पहिलो प्रति उसले मलाई नै ल्याएर दिँदै भन्यो, ‘अब हेर्नुस् स्वामीजी मेरो कमाल ! नेपालको पुस्तक व्यापार मैलेजति कसले बुझेको होला र! यो पुस्तक एकै सातामा दस हजार प्रति बिक्री हुनेछ । आजै म यसलाई बजारमा लैजानेछु ।’ यति भनेर ऊ बाहिरियो ।

म पुस्तकका पृष्ठहरू पल्टाउन थालेँ।

मेरा आँखा मेरी सबैभन्दा पछिल्लो पूर्व–प्रेमिकासँगको सम्बन्धबारे लेखिएको अनुच्छेदमा प¥यो ।

पाँच वर्षसम्म चलेको प्रेम प्रसंगको बयान थियो त्यहाँ । उनीसँग मेरो भेट भएको दोस्रो दिनदेखि नै हामीबीच यौनसम्पर्क हुन थालेको हो । उनी एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा जागिर खान्थिन् । आम्दानी राम्रो थियो । मलाई जागिर नखान र केवल उनलाई प्रेममात्र गरिरहन आग्रह गर्थिन् उनी । उनको भनाइ मैले मानिदिएँ। नमान्नु पनि किन? खल्तीभरि पैसा, घुमफिर गर्दै, मनोरन्जनसहितको जिन्दगी बाँच्न पाउँदा कसलाई काम गर्न मन लाग्ला र ! मलाई पनि लागेन । प्रेमले तीव्र गति समातिरहेको थियो । अवरोधरहित त्यो प्रेम र त्यसले सृजना गर्ने यौन क्रियाकलाप ! मलाई गहिरो पोखरीमा पौडी खेलिरहेको महसुस भइरहेको थियो ।

अचानक हामीबीच विवाद हुन थाल्या े। पहिलो विवाद मैले उनलाई सम्झाएर टुंग्याएँ । दोस्रोपटक पनि सोही सन्दर्भमा विवाद उत्पन्न भयो। विवादको विषय थियो— ‘एबोर्सन’।

म एबोर्सनको पक्षमा थिएँ, उनी विपक्षमा ।

पहिलोपटक त मैले जबर्जस्ती नै एबोर्सन गराउन लगाएको थिएँ। ट्याक्सी राखेर सहरकी एक जना प्रख्यात महिला डाक्टरको क्लिनिकमा लगेको थिएँ । उनी बच्चा जन्माउन चाहन्थिन्। मलाई त्यो स्वीकार्य थिएन ।

दोस्रोपटक पनि सोही झन्झट आइलाग्यो । झन्झट दुवै जनाको असावधानीका कारण आइलागेको थियो । ‘तिमीले मसँग बिहा नै गर्नुपर्छ भन्ने छैन, केवल प्रेम देऊ जीवनभर । म बच्चा जन्माउँछु’ उनी भन्थिन् । तर म त्यो चाहन्नथेँ। प्रेम त म पनि गर्थें उनीसँग । मलाई औधी मनपर्थिन् उनी । त्यसअघि गरेका केही जनासँगको प्रेममा सायद ‘प्रेम’ थिएन, बासनामात्रै थियो । यो प्रेम पृथक थियो । यसमा प्रेमका सारा तत्व थिए । म तृप्त थिएँ र उनी पनि।

मैले धेरैपटक उनलाई एबोर्सनका निम्ति अनुरोध गरेँ । उनले मान्दै मानिनन् । दिन बित्दै गयो । एबोर्सन गर्न नहुने अवस्थामा उनी पुगिन् ।

त्यसपछि टुट्यो उनको र मेरो प्रेम। हाम्रो भेट हुन छाड्यो । केही वर्षपछि मैले सुनेँ, उनी बच्चासहित अमेरिकामा बस्दै छिन् ।

त्यसपछि मैले कहिल्यै कुनै केटीसँग शारीरिक सम्बन्ध राखिनँ । केवल मित्रतामा सीमित राख्न थालेँ विपरीत लिंगीसँगको सम्बन्धलाई । क्रमशः मलाई जिन्दगीसँग विमोह पैदा हुन थाल्यो। र, नै यो स्वामीको रूपमा आफूलाई अवतरण गराएको हुँ ।

म पुस्तक पढिरहेको थिएँ। कसैले मेरो झ्यालमा ढुंगाले हान्यो। सिसाबाट ‘झ्याम्म’ आवाज आयो, फुट्यो । मैले झ्यालमा गएर हेरेँ। एक हुल मान्छे मेराविरुद्ध नारा लगाइरहेका थिए। मलाई ढोँगी, चोर, चरित्रहीन, स्त्रीलम्पट, फुँडो भनिरहेका थिए, ती मान्छे । तिनले हातमा ढुंगा बोकेका थिए । ती म भएतिरै आइरहेका थिए । तीमध्ये अधिकांश मेरो प्रवचनका प्रशंसक थिए। केही दिनअघिसम्म मेरो गोडा नै छुन आउने मान्छे आज मेराविरुद्ध नारा लगाइरहेका थिए । झ्यालतर्फ ढुंगा सोझ्याइरहेका थिए।

झ¥याम्म! मेरो कोठाको सबैभन्दा ठूलो झ्यालको सिसामा कसैले ढुंगाले हान्यो । बाहिर ती मान्छेहरू मलाई कालोमोसो दलेर बजार घुमाउने कुरा गर्दै थिए । झ्याल चढेर एउटा केटा मेरो कोठामा पस्यो । र, मेरो गेरु वस्त्र तान्न थाल्यो। म निर्वस्त्र भएँ, त्यसको प्रतिकार गर्न म सकिरहेको थिइनँ । मेरा हातगोडा निश्चल भएका थिए। मेरो टाउकामा पछाडिबाट कसैले ढुंगाले हान्यो। रगत बग्न थाल्यो, त्यसलाई रोक्न खोजेँ मैले । हात बेस्सरी झ्यालको ह्यान्डिलमा गएर ठोक्किएछ ।

०००

मेरो शरीरमा पसिना आइरहेको थियो। श्वासप्रश्वासको गति तेज भएको थियो। जाडो महिनामा पनि म पसिनाले निथु्रक्क थिएँ। मैले सिरक हटाएँ, भित्ताको घडी हेरेँ। युवक आउने समय भइसकेको थियो । मेरा हातगोडा कमजोर र शिथिल बनेका थिए। दिउँसै देखिएको सपनाले मलाई तर्साइरहेको थियो । त्यसले मलाई लखेटिरहेको थियो।

‘त्यो सपना थियो कि पूर्वचेतावनी?’ मैले आफैसँग प्रश्न सोधेँ। मनले त्यसलाई सपना मान्दै मानेन ।

कसैले ढोका ढकढक्यायो। पक्कै पनि त्यो युवक आएको हुनुपर्छ ।मैले झ्यालको एक कुनाबाट चियाएर हेरेँ ।गोस्ट राइटर हातमा टेपरेकर्डर र क्यामेरा बोकेर उभिइरहेको थियो ।

मलाई ढोका खोल्न मन लागेन । झ्याल अलिकति खोलेर मैले कोठाभित्रबाटै उसलाई भनिदिएँ, ‘अहिले होइन भाइ, केही वर्षपछि लेखौंला मेरो आत्मकथा !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->