बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

समय, भाग्य र जिन्दगी

समय, भाग्य र जिन्दगी


  • राधिका कल्पित
  • बैशाख ३ २०७७, बुधबार

समय, भाग्य र जिन्दगी बिच
त्रिकोणात्मक खेल चलिरहन्छ
घरि छक्काउन खोज्छन् एक–अर्कालाई
घरि भेट्टाउन खोज्छन् एक–अर्कालाई
घरि उछिन्न खोज्छन् एक–अर्कालाई
घरि उधिन्न खोज्छन एक–अर्कालाई
कहिले कसको जित
कहिले कसको हार ।

संघर्षको जर्सि लगाएर
जङ्गको मैदानमा जब उत्रिन्छ मान्छे
कहिले भाग्यले बेस्सरी पछार्न खोज्छ
जिन्दगीले जबर्जस्त ‘डिफेन्ड’ गर्छ
कस्सो–कस्सो समयले साथ दिन्छ
टर्छ पराजयको ‘पेनाल्टि’
अनि मुस्कुराउछ खेलाडी
पर बसेर ‘उर्जा’ले थपडी मार्छ
‘आत्मविश्वास’ले इन्क्लाब गर्छ
‘हौसला’ले तक्मा बोकेर आउँछ ।

तर कहिले फेरि
‘समय’ले झेलि गर्छ
त्यहिबेलै भाग्यले ‘कर्नर’ हान्छ
‘पुर्पुरो’ परास्त हुन्छ
‘अहम्’ले अझै इन्कार गर्छ
‘उत्साह’ घाइते–घाइते हुन्छ
‘लक्ष्य’ चुक्छ र गन्तव्य भन्दा ‘आउट’ हुन्छ
‘सपना’ले रातो झन्डा देखाउँछ
हार बेहोर्छ जिन्दगी
खालि मैदानमा
‘जिजिविषा’ले भुइँमा बेस्सरी टाउको बजार्छ
‘ईज्जत’को इगोले खुच्चिङ गर्छ
खेलाडी बाहिरिन्छ
रणभुमिको रंगशालाबाट
घोँसे मुन्टो लगाएर
दफ्रिएका घुँडा र कुहिनाहरु मुसार्दै
अलि पर पुगेर
फिस्स हाँस्छ सम्झदै कि
खेल अझै सकिएको छैन…

सन्चो हुँदा–हुंदै दुख्ने
फेरि दुख्दा–दुख्दै सन्चो हुने
हार्दा–हार्दै जित्ने
फेरि जित्दा–जित्दै हार्ने
हिड्दा–हिड्दै लड्ने
फेरि लड्दा–लड्दै उठ्ने
हाँस्दा–हाँस्दै रुने
फेरि रुँदा–रुँदै हाँस्ने
यहि लुकामारीमा
बितिजान्छ मानवचोला
कहिले धन्यवाद दिँदै समयलाइ
कहिले धारे हात लाउँदै भाग्यलाइ
कहिले धिक्कार्दै आफैलाइ
कहिले सराप्दै अर्कालाइ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->