मुस्ताङ, ९ बैशाख– हिमालपारीको जिल्ला मुस्ताङमा हिउँ चितुवाले आतंक मच्चाउन थालेको छ । जिल्लाको पर्यटकीय गाउँ ठिनीमा हिउँ चितुवा घर–घरमै पस्न थालेको हो । ठिनी गाउँमा सोमबार राती हिउँ चितुवाको आक्रमणबाट एकै गोठका ४ च्याङ्ग्रा मरेका छन् । गाउँको बिचबाटै चितुवा हिँड्न थालेपछि गाउँलेहरु आतंकित भएका छन् ।
ठिनीमा वर्षेनी हिउँ चितुवाले गाउँभित्र र बाहिरगरि धेरै चौरी, भेडा, घोडा, खच्चड, च्याङ्गरा मार्ने गरेको स्थानीय बताउँछन् । हिउँ चितुवा विश्वमै दुर्लभ जनावारमा सूचीकृत छ । संसारका १२ देशमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली भेगमा पनि पाइन्छन् । उच्च हिमाली क्षेत्रमा पाईने हिउँचितुवा नेपालमा न्युन संख्यामा रहेको संरक्षणकर्मी बताउँछन् । हिउँमा बस्न रुचाउने उक्त प्रजातीको चितुवाले पनि घरपालुवा जनावरलाई आहारा बनाउने गरेको ठिनीका अगुवा किसान मनबहादुर थकालीले बताए ।
उनकै गोठमा पालेका चार च्याङ्ग्रा खाएर चितुवाले आतंक सुरु गरेको छ । ‘यसले बर्षेनि दुःख दिन्छ’ थकालीले भने ‘संरक्षण गरेको भन्छ, मार्न दिँदैन, हाम्लाई नै मार्ला जस्तो छ ।’ गाउँमाथिको खर्कबाट आएको हिउँ चितुवाले मानिसलाई समेत आक्रमण गर्नेगरेको उनले बताए । चितुवालाई नियन्त्रणमा लिएर व्यवस्थापन गर्नुपर्ने ठिनीका किसानको माग छ ।
चितुवाले आक्रमण गरेर मरेका घरपालुवा जनावरको क्षतिपुर्ति पाउनुपर्ने स्थानीय युवा संजय थकाली बताउँछन् । सोमबार मरेका च्याङ्ग्राको पनि मुचुल्का गरेर अन्नपूर्ण संरक्षण क्षेत्र कार्यालयमा क्षतिपूर्तिका लागि थकालीले निवेदन दिएका छन् । ‘मान्छेलाई समेत नटेर्ने भइसक्यो, अब हामी पनि सुरक्षित रहेनौँ’ उनले भने । च्याङ्ग्रा मरेपछि कृषक थकालीलाई करिब साठी हजार घाटा भएको छ ।
ठिनीक्षेत्र आसपास गरिएको क्यामेरा ट्रयापिङमा चार हिउँ चितुवा कैद भएको अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना कार्यालय मुस्ताङका प्रमुख तुलसी दाहालले बताए । उनका अनुसार, ठिनी हिउँ चितुवाको लागि विशेष ठाउँ हो । किसानका मर्काका बिषयमा पनि सोच्न सकिने उनले बताए । कुनै वन्यजन्तुले घरपालुवा जनावर मारेमा राहत ऐन २०६९ अनुसार राहत दिन सकिने दाहाले बताए ।





