बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ब्यङ्ग्य कविता : ताेरीमा काेदाे

ब्यङ्ग्य कविता : ताेरीमा काेदाे


  • अर्जुन राज पन्त
  • बैशाख १५ २०७७, सोमबार
दङ्गै भैयाे मख्खै भैयाे देख्दा भाँडा भरि
रै छ आखिर मिस्सिएकाे काेदाे सङ्गै ताेरी !
उस्तै उत्रै भए पनि आखिर हुन नि भिन्न
एकै ठाँउमा मिस्सिएसि गार्हाे हुनि चिन्न !
नराम्ररी मिस्सीएछ नसकिन्छ चाल्न
न सकिन्छ बेग्लै पारि निफनेर फाल्न !
झुक्किएर मिस्सियाे कि, हाे याे जानाजानि
ताेरी माथि पाेख्खियाे कि, हुँदा ताना तानि ?
खाेजे कि खै रित्ताे भाँडाे जसरि नि भर्न
त्यहि भएर तम्सिए कि जसाे पनि गर्न !
कुन अर्थले कुन स्वार्थले माेले हाेलान किन ?
कस्का आँखा छाराे हालि कुन चाँहि फाइदा लिन ?
पिस्ने हाे कि पेल्ने यस्लाइ गर्ने कसाे अब ?
फालाै पनि कसाे गरि भा काे खेति सब !
एउटा चाँहि अल्लि चाम्राे अर्काे प्याट्टै फुट्नि
साेहाेरेर पिंडाे पार्याे मुठि भित्रै टुट्नि !
ढुङ्गे काेलले नसकेर यस्ताे मिश्रण झेल्न
देशी काेलमा हाल्दा पनि सकिएन पेल्न !
ल्याच्च पर्याे ताेरी जति, काेदाे पर्याे पिठाे
खसेन नि तेलकाे धाराे झर्याे मात्र लिटाे !
पिना पनि आँउदाे रैन्छ तेलकाे के काे आश
काेदाे ताेरी कुरै छाड्दिउ मिल नि सत्यानाश !
न त झर्याे तेलकाे थाेपाे न त झर्याे पिना
के बनाउन माेले हाेलान यस्ताे अर्थ बिना !
नआए नि तेलकाे थाेपाे मनखत लाउनि फाल्न
बन्छ कि त पिठाे भन्दै लग्दा ओइराे हाल्न
ब्यर्थैका ति पाप्रा झरे के काे पिठाे आउनु
पेल्दा पिस्दा आएन केहि अब कता धाउनु
भित्र सबै टाँस्सिएर घुम्नै छाड्याे जाँताे
ठाेक्दा ठाेक्दै फुट्याे बरु जाँताे पेल्नि हाँताे !
न त पिठाे न त तेल आश भएन अरु
रक्सि सम्म बनथ्याे कि खै मर्चा माेले बरु !
(पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङ्ग्य काब्य काेइलीका लेखक हुन)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->