शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

श्रमिक दिवशको शुभकामना

श्रमिक दिवशको शुभकामना


  • निर्मल पौडेल (एन.पि. घायल)
  • बैशाख १९ २०७७, शुक्रबार

आँत सुकेका
आत्मा दुखेका
पैताला च्यातिएका
हातका हत्केलाहरुले गालाका पसिना पुछ्दा पनि दर्दराउने ठेलाहरु
पराईका मेलाहरु
भरिया वनेर तालुमा खाल्डा परुञ्जेल
काला रौँहरु सेताम्मे भएर फूलुञ्जेल
तालुका रौँनै झर्ने गरी
नुनिला आँसु पिएर
भोक र प्यास मेटाउँदै
चौतारी र भञ्जाङमा
सुस्केरा हाल्ने आम श्रमिहरुलाई श्रमिक दिवशको शुभकामना ।

खेत बारीहरुमा
दिनभर साहुका मेलाहरुमा
बेलुका चुल्होमा आगो बलेको मिठो कल्पना गर्दै
दिनभर पसिनाले उनैको माटो सिंञ्चित गर्नेहरु
मालिकका दासी भएर
उनीहरुकै सेवाका लागि
हरपल जिन्दगीका सुनौला प्रहरहरु आहुती दिने
आम महान श्रमजिवीहरुलाई श्रमिक दिवशको शुभकामना ।।

नदि किनारमा बालुवा चालेर
रोडा बोकेर
घन ठोकेर आफ्ना अमुल्य घडीहरु फुटाल्दै
जिन्दगी गुजार्नेहरु
बराजुका थोत्रा लुगा टालेर
खाली पेट सुधार्नेहरु
साहुका फलाम पिटेर
छाक टार्नेहरु
आऊ फेरी एकपटक आवाज उठाऔँ
श्रमिक दिवशकै दिन शुभकामना दिनको लागि ।

तिमीलाई श्रमिक दिवशको शुभकामना
ओ मेरा हलिया कमैया प्रियजनहरु
ओ मेरा प्रिय ठेला ड्राइभरहरु
लोडर अनलोडरहरु
रिक्सा चालकहरु
इट्टा भट्टामा कलिला हातले
ठुला महलहरु निर्माणका लागि
खुजुरामा हात्तीका काम गर्ने भाईबैनाहरु
तिमीलाई श्रमिक दिवशको शुभकामना ।।

गल, घन, गैँची र बेल्चाहरुमा
जिन्दगीको एक त्यान्द्रो स्वासलाई अड्काएर
अनन्तसम्म बाँच्ने भरोसा लिएर
सडकका नालीहरुमा
निहुँरीएका ठाडा शिरहरुलाई श्रमिक दिवशको शुभकामना ।।

तपाईँलाई पनि श्रमिक दिवशको शुभकामना
जो श्रमिकको
रगत र पसिनाका घुड्की लगाएर
चिल्ला कार र ठुला विमानमा
मखमली यात्रा भर्नेहरु
घर पोत्ने र खेत जोत्नेका नारा पचाएर डकार गर्नेहरु
आम सर्वाहरा मजदुरहरुको तर्फबाट
तपाईँलाई पनि श्रमिक दिवशको कोमल शुभकामना ।।
कुस्मा, पर्वत

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->