सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रुकुम घटना : भेरीमा बेपत्ता तीन जनाको खोजी गर्दै गोताखोर

रुकुम घटना : भेरीमा बेपत्ता तीन जनाको खोजी गर्दै गोताखोर

पीडित परिवारले वडाध्यक्षसहित २० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् ।


  • राजेन्द्र कार्की
  • जेष्ठ १४ २०७७, बुधबार

जाजरकोट, १४ जेठ – अन्तरजातीय प्रेमका कारण १० जेठ (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको ५ दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरीमै डुबेको आशंका गरिएको छ। खोजीमा सशस्त्र प्रहरीको शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएएसपी यज्ञ बस्नेतले बताए ।
पानीमा डुबेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको उनले बताए। स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले हराइरहेकाको निरन्तर खोजी गरिरहे पनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
भेरी नगरपालिका–११ का  लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता  छन् । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ । पीडित परिवारले वडाध्यक्ष मल्लसहित २० जनाविरुद्ध मंगलबार जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->