बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३
  • २४ भाद्र २०८३ , बुधबार
  • September 9 2026

पर्वतको दुर्लुङमा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु ७ वेपत्ता

पर्वतको दुर्लुङमा पहिरोले ३ घर बगाउँदा २ को मृत्यु ७ वेपत्ता


  • सञ्जय रेग्मी
  • जेष्ठ ३१ २०७७, शनिबार

पर्वत, ३१ जेठ – पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा शनिवार राती पहिरोले घर बगाउँदा २ जनाको मृत्यु भएको छ । घट्नामा परी अरू ७ जना बेपत्ता भएका छन्  । शनिवार साँझदेखि भएको भीषण वर्षाका कारण दुर्लुङको काफलचौर स्थित सरुनचौर भन्ने ठाउँमा माथिबाट आएको घरले ३ घर पुरेको हो  । स्थानीय प्रभु गुरुङले ढाेेरपाटनलाई बताए अनुसार पहिरोमा परी स्थानीय तुलबहादुर थापाकी श्रीमती नीलकुमारी थापा र नातिनी (छोरा तर्फ)अन्दाजी १० बर्सिया बिबिशा थापाको मृत्यु भएको हो । पहिरोमा परी तुलबहादुर र उनका नाति (छोरा तर्फका), छोरी र नाति (छोरी तर्फ) बेपत्ता रहेका छन् ।
‘सर हामीहरू घटनास्थलमा नै रहेका छौँ । कुस्माबाट सुरक्षा निकायका मान्छेहरू पनि आएर उद्धारको काम थाल्नुभएको छ । रातीको समय भएकोले कठिन भएको छ ।’ गुरुङले भने, ‘३ घर पुरिएका हुन । हामीले २ ओटा लास भेट्टाएका छौँ। घरको नामो निसान नरहने गरी बगाएको छ । बेपत्ताहरूलाई खोजी रहेका छौँ ।’ प्रत्यक्षदर्शी गुरुङका अनुसार तुलबहादुरको घरको भैँसी समेत पहिरोले पुरेको छ ।
यस्तै, सोही ठाउँमा पसल गर्दै आएका भुवन गिरीको परिवारलाई भने स्थानीयले उद्धार गर्न सफल भएका छन् । रुखले अँठ्याउँदा गुहार मागिरहेको अवस्थामा थाहा भएकोले ३ जना सदस्य रहेको उक्त परिवारमा मानवीय क्षति नभएको पनि प्रभु गुरुङको भनाई छ ।
पहिरोमा परी अर्को एक घर पूर्ण रूपमा क्षति हुनुका साथै उक्त घरका ३ जना बेपत्ता भएका छन्  । विकास बि.क. को घरलाई पहिरोले बगाउँदा घर रहेको ठाउँ समेत नदेखिएको तथा उनका श्रीमती, छोरी र छोरी बेपत्ता रहेको पनि गुरुङको भनाई छ  ।
उनका अनुसार पहिरो गएको स्थानमा सयौँको सङ्ख्यामा स्थानीय नागरिक जम्मा भएर उद्धारको प्रयास गरिरहेको भए पनि बेपत्ता भएकाहरूलाई फेला पार्न सकेका छैनन्  । पहिरो गएको स्थानभन्दा केहीमाथि एउटा जङ्गली जन्तु पनि घाइते भएको हुन सक्ने स्थानीयले बताएका छन्  । ‘पहिरो गएको केही माथि र पारी बाघको जस्ता आँखा टल्किएका छन् । हामी त्यहाँ जान सकेका छैनौँ । कुहिरोले पुरै ढाकेको छ  । गाउँमा गुहार गुहार छ  ।’ प्रभुकै छेउमा रहेका एक व्यक्तिले फोन सम्पर्कमा भने, ‘आर्मी पुलिसहरू आएका छन सबैलाई उद्धार गरेर बचाउन पाए त हुने नी  । हे भगवान ! कस्तो दसा हो यो  ।’
दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याले आफू घट्नास्थलतर्फ जाँदै गरेको बताउँदै (समाचार तयार नहुने बेलासम्म) केही मान्छेहरु पुरिएको र ३ घरहरू पुरिएको खबर आफूलाई आएको जानकारी दिएका छन् ।
उद्धारको लागि घटनास्थलमा पुगेका जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले पनि पहिरोमा परी २ जनाको मृत्यु भएको पुष्टि गरेका छन्  । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको बताउँदै उनले बेपत्ताहरूको अवस्था सकेसम्म छिटो पत्ता लगाउन खटिरहेको बताए  ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->