पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ६ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि थप चारजनाको शव पुरिएको अवस्थामा फेला परेको हो । शनिबार राति साढे ८ बजे गएको पहिरोमा पुरिएकामध्ये ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी र नातिनी आठ वर्षीया बिबिशाको शव भने शनिवार राति नै फेला पारिएको थियो । बिहान ३२ वर्षीया कमला विक र ३० वर्षीय दिर्पा थापा, ५२ वर्षीय तुलबहादुर थापा र नाम नखुलेका एकजनाको शव फेला परेको प्रहरीले प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए । बेपत्ता रहेका अन्य तीनजनाको खोजी तीब्र पारिएको सुवेदीले बताए । आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबवासीले उद्धार सुरु गरेको छन् । शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो । राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो । घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो ।





