पर्वत, ३२ जेठ–कुश्मा नगरपालिका–३ दुर्लुङमा शनिबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । पहिरोमा नौजना पुरिएका थिए । आइतबार बिहानदेखि उद्धार कार्य सुरु गरेपछि आठ शव पुरिएको अवस्थामा फेला परेको हो । आईतबार बिहान तुलबहादुर थापा, कमला बि.क, उनकी छोरी जेनिसा र दिपा थापा, सम्राट थापा र विवेक थापाको शव भेटीएका हुन । मिनकुमारी थापा र बिबिशाको शनिवार रातीनै शव भेटिएको थियो । पहिरोमा पुरीएका जेनिस बिक अझै बेपत्ता छन् । आइतबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबवासीले उद्धार सुरु गरेको थियो । साँझ सम्म आठ जनाको शव फेला परेको र एक जना अझै वेपत्ता रहेकाले आईतवार पुनः खोजी गरिने प्रहरीले जनाएको छ । मृतक सबैको दाहसंस्कार सोमबार गरिने तयारी भैरहेको छ । शनिबार राति साँझ ६ बजेदेखि २ घण्टासम्म आएको भीषण वर्षापछि घरहरु रहेको ठाउँभन्दा करिब ३०० मिटरमाथिको बनक्षेत्रबाट पहिरो आएको थियो । राति भएको र वर्षा भइरहेकाले राति उद्धार रोकिएको थियो । घरहरू पुरिएको नजिकै रहेका अन्य चार परिवारका सदस्यहरूलाई राति नै सुरक्षित स्थानमा सारिएको छ । वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार थप पहिरो आउन सक्ने भएकोले पहिरोको छेउछाउमा परेका परिवारलाई राती नै नजिकै रहेको होमस्टेमा राखिएको हो । मृतक सबैको शव पोष्टमाटम पछि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।





