पर्वत, ३ असार– पर्वतको कुस्मा नगरपालिका–३ दुर्लुङ स्थित ढकालबारीमा गत शनिवार रातीको पहिरोमा परी बेपत्ता रहेका बालक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा १३ वर्षीय जेनिश बि.क. रहेका छन् । यससँगै पहिरोमा परी बेपत्ता भएका ९ जना नै मृत भेटिएका हुन ।
जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीका अनुसार पहिरो गएको रातबाट नै सबैको खोजी सुरु गरिएकोमा अन्य ८ जना मृत फेला परेको भए पनि जेनिश भने फेला परेका थिएनन् । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले हरेक दिन खोजी गर्दै आएकोमा बुधवार बिहान जेनिसको शव फेला परेको हो । यसअगाडि नै फेला परेका ८ जनालाई सजिलै भेट्टाउन सकिएको भए पनि जेनिसको अवस्था थाहा नहुँदा नेपाल प्रहरीले मङ्गलवारबाट तालिम प्राप्त कुकुर समेत प्रयोग गरेको थियो ।
प्रहरी निरीक्षक सुवेदीका अनुसार अन्य मृतकहरूको शव घर रहेको स्थान वरिपरि भेटिएको भए पनि जेनिसलाई भने पहिरोले बगाएर घरभन्दा धेरै तल लगेका कारण फेला पार्न कठिन भएको पाइएको छ । बुधवार भेटिएका जेनिसकी आमा कमला र बहिनी प्रमिशाको सोही पहिरोमा परी मृत्यु भएको थियो । उनका बुबा भने वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् । उनको परिवारमा ४ जना सदस्य रहेका थिए ।
पहिरोमा परी अर्को परिवारका तुलबहादुर थापा, मीनकुमारी थापा, डिरपा थापा, विवेक थापा, सम्राट थापा र बिबिशा थापा गरी ६ जनाको मृत्यु भएको थियो । यो परिवारका नातिनातिना र सहित छोरीको पनि मृत्यु भएको हो । तुलबहादुरका छोरा र बुहारी भने घरबाट केही पर रहेको पसलमा रहेका कारण उनीहरू २ जनाको ज्यान जोगिएको छ ।





