बागलुङ, १८ असार– प्रतिनिधिसभाकी सांसद ज्ञानकुमारी छन्त्यालको काठमाण्डौमा निधन भएको छ । मुटुको रोगले गंगालाल ह्दयरोग केन्द्रमा भर्ना भएकी छन्त्यालको बुधबार बिहान निधन भएको कांग्रेस क्षेत्रीय सभापति द्रोण कुँवरले जानकारी दिए ।
सांसद छन्त्याल यसअघि २०७० सालको संविधानसभा सदस्यमा पनि निर्वाचित थिइन् । कांग्रेसबाट निर्वाचित सांसद छन्त्याल सामाजिक र बिकास निर्माणको क्षेत्रमा धेरै चासो र चिन्तन गर्ने व्यक्तिमा पर्छिन् ।
तमानखोला गाउ“पालिका वडा नं. ५ को खुंखानी घर भएकी छन्त्याल बुर्तिवाङ र बागलुङ बजारमा बसेर राजनीति र सामाजिक क्षेत्रमा सक्रिय थिइन् । मुटुको उपचार गर्दागर्दै ६६ बर्षको उमेरमा उनको निधन भएको हो । सांसद छन्त्यालको मुटुको भल्व टालिएको परिवारका सदस्यले बताए । सुगर र प्रेसरको समेत समस्या भैरहेपनि केही दिनअघि भने मुटुको समस्याले अस्पताल भर्ना भएकी थिइन् ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश भएको नेपालको नक्सा तथा निसाना छाप पारित गर्ने प्रतिनिधिसभाको बैठकमा उनी बिरामी भएकै कारण जान पाएकी थिइनन् । तर, सामाजिक संजालमा कटु आलोचना भएपछि अस्पतालको बेडबाटै उनले बिरामी भएकोले उपस्थित हुन नसकेको सूचना दिनुपरेको थियो ।
कांग्रेसमा लागेर राजनीति गरेपनि सांसद निर्वाचित हुनुअघि जिल्लामा हुने सामाजिक, मावनअधिकार र महिला अधिकारको क्षेत्रमा पनि छन्त्यालको सक्रियता बढी थियो । संविधानसभा सदस्य भएकै बेला छन्त्यालको अगुवाईमा बुर्तिवाङदेखि तमानखोला गाउ“पालिकाको बुंगादोभानतर्फको सडकको ट्रयाक खुलेको थियो । उनको घर भएको खुंखानी पुग्न बुर्तिवाङदेखि एक दिनको पैदल यात्रा गरेर मात्र पुगिन्थ्यो । उक्त सडकमा चालु बर्षसमेत बजेट परेर तमानखोला वडा नं. ६ को नर्जाखानीसम्म सडक संजालले छोएको अध्यक्ष जोकलाल बुढाले बताए ।
महिला अधिकार, एकल महिला र अल्पसंख्यकको अधिकारका लागि उनले धेरै मंचमा वकालत गर्थिन् । महिला मानवअधिकार रक्षक संजाल बागलुङकी उनी तत्कालिन अध्यक्षसमेत थिइन् । पत्रकार कोपिला कंडेलले भनिन्, ‘हरेक सार्वजनिक मंचमा पुगेर उहाँले अधिकारको कुरा उठाउनु हुन्थ्यो, अधिकारको क्षेत्रमा अगुवाई गर्ने उहाँ राम्रो अभिभावक हो ।’ छन्त्याल अल्पसंख्यकबाट समानुपातिक सांसद भएपनि निरन्तर जिल्ला र गाउ“ पुगेर बिकासबारे चासो राखेर फर्कन्थिन् ।
कांग्रेस जिल्ला सचिव नवराज पौडेलका अनुसार, छन्त्याल २०३६ सालदेखिनै प्रजातान्त्रिक आन्दोलनमा लागेकी थिइन् । कागजी रुपमा भने २०४६ को आन्दोलनमा उनले क्रियाशिल सदस्यता लिएको देखिएको बताए । ‘राजनीतिक मात्र भनेर पुग्दैन, उहाँ सामाजिक अभियान्ता पनि हो’ पौडेलले भने, ‘छन्त्यालको निधनले प्रजातान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको छ ।’
जिल्लाको राजनीतिमा भने क्रियाशिल र अथक कार्यकर्ता गुमाएको उनले बताए । छन्त्याल नेपाली कांग्रेसको जिल्ला कार्यसमितिकी सदस्य, महाधिवेसन प्रतिनिधि, जिल्ला समितिको सल्लाहकारलगायतको पदमा रहेकी थिइन् । उनको निधनप्रति कांग्रेस केन्द्रीय कार्यसमिति, जिल्ला समिति र सामाजिक संस्थाले पनि दुःख व्यक्त गरेका छन् ।
छन्त्यालको निधनकै कारण बुधवार प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरु शोक प्रस्ताव पारित गरेर स्थगित भएका छन् । संघिय संसदमा छन्त्यालको निधनप्रति शोकप्रस्ताव पारित गर्नुपर्ने भएकोले पाँच दिनदेखि जारी नेकपाको बैठक पनि एक घण्टा बसेर स्थगित भएको थियो ।
सांसदको निधनले बिकासमा जिल्ला पछाडि
आफ्नो जिल्लाको निर्वाचन क्षेत्रको प्रतिनिधित्व गर्ने तथा बिकासमा चासो राख्ने नेताको निधनले असर पर्ने गरेको छ । बागलुङमा पछिल्लो ६ बर्षमा तीनजना सांसदको कार्यकालमै निधन भएको घटनाले बिकासमा असर परेको हो । जिल्लाको प्रतिनिधित्व गर्ने सांसदले कुनै न कुनै रुपमा केन्द्रीय तहमा पहल गर्नेमा निधन भएपछि बिकासका गतिविधि अबरोधमा परेको स्थानीयले बताए ।
२०७० सालको संविधानसभा निर्वाचनमा बागलुङकै क्षेत्र नं. १ बाट निर्वाचित सांसद हरिबहादुर खड्काको सडक दुर्घटनामा परेर निधन भएको थियो । २०७१ मंसिरमा तत्कालिन प्रधानमन्त्री सुशिल कोइराला सबार कार्यक्रममा सहभागी हुन जाने क्रममा खड्का जिप दुर्घटनामा परेका थिए । उनीसमेत बिकासप्रेमी सांसद थिए । उपनिर्वाचनमा उनकै धर्मपत्नि चम्पा खड्का सांसद निर्वाचित भइन् । पछि उनी राज्यमन्त्रीसमेत भएकी थिइन् ।
२०७५ मंसिरमा बागलुङकै क्षेत्र नं. २ (ख)का सांसद टेकबहादुर घर्तीको निधन भयो । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित घर्ती पनि निडर र बिकासमा अगुवा थिए । कलेजो सम्बन्धी रोगले उनको निधनपछि गत मंसिरमा उपनिर्वाचन भएको छ । राजमोबाटै खिमबिक्रम शाही प्रदेश सभामा निर्वाचित भएर गएका छन् । बुधबार छन्त्यालको मुटुको समस्याले निधन भएको हो । पटक पटक जिल्लाको प्रतिनिधित्व गर्ने सांसदको निधनले बिकास निर्माणमा पछि पर्नु परेको स्थानीयले बताए । ‘बिकासबादी नेता गुमाउनुपर्दा जनताले धेरै नोक्सानी व्यहोर्नु परेको छ’ निसीखोलाका कांग्रेस अगुवा सिंहबहादुर रानाले भने, ‘छन्त्यालले देखेका सपना र कोरेका बाटो सहज बनाउन फेरी पहल गर्छौ ।’ छन्त्यालको काठमाण्डौमै अन्तिम संस्कार गरिएको छ ।





