शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

जमुनाघाटमा व्यवस्थापन भयो संक्रमितको शव

जमुनाघाटमा व्यवस्थापन भयो संक्रमितको शव


  • ढोरपाटन संवाददाता
  • असार २१ २०७७, आइतबार

बागलुङ, २१ असार– कोरोना संक्रमणका कारण शनिवार राति मृत्यु भएका बागलुङको निसीखोला गाउँपालिका–२ देविस्थानका २९ बर्षिया युवाको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । ढोरपाटन नगरपालिका–४ खुंगाको क्वारेन्टाइनमा मृत्यु भएका उनको शव ढोरपाटन नगरपालिका–४ को जमुनाघाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गण्डकी प्रदेशमा मृत्यु भएका मध्ये स्थानीयको अबरोध बिना शव व्यवस्थापन भएको यो पहिलो घटना हो । यसअघि पोखरा र गोरखामा मृत्यु भएका तीन जनाको शव व्यवस्थापनमा स्थानीयले अबरोध गरेका थिए । मृतक फोक्सोको रोगले थलिएर भारतमा उपचार संभव नभएपछि असार ३ गते बागलुङ फर्केका थिए । पानी परेकाले ढोरपाटन नगरपालिकाको हुन्द्र फेदीमा खहरे तर्न कठिन भएपछि उनको शवलाई स्काभेटरमा राखेर घाटसम्म पु¥याईएको निसीखोला गाउँपालिका–२ का अध्यक्ष कुबिर बिश्वकर्माले बताए । गाउँ फर्कने क्रममा युवाकी श्रीमतीले माइती घर रहेको खुंगा स्थित छोरेगाउँ माबिको क्वारेन्टाइन लगेकी थिइन् । क्वारेन्टाइनमा बस्दाबस्दै उनको मृत्यु भएको हो ।
शनिवार राती मृत्यु भएका ती युवाको आइतवार बेलुकी मात्रै अन्तिम संस्कार गरिएको छ । ती युवा बागलुङ जिल्लामा मृत्यु हुने पहिलो व्यक्ति भएका छन् । लकडाउन अघिनै भारतमा उपचारका लागि गएपनि धेरै पैसा खर्चदा समेत उनको उपचार सफल नभएपछि उनीहरु फर्केका थिए । आर्थिक अबस्था पनि कमजोर भएपछि उनीहरु फर्कन बाध्य भएका थिए । निको हुने संभावना कम भैसकेपछि घरमै पुगेर मर्ने सम्मको उनीहरुको इच्छा अनुसार फर्केकोले गाउँकै क्वारेन्टाइन लगिएको ढोरपाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम चालिसेले बताए ।
मृतकको घरका ५ जना मध्ये तीन जनाको कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको बताइएको छ । आइतवार दिउसो पोखरामा भएको परीक्षणमा उनको स्वाबको पोजेटिभ रिपोर्ट आएको बताइएको छ । उनका अर्का एक छोराको भने स्पष्ट नभएपछि फेरी स्वाब संकलन गर्ने बताइएको छ । मृत्यु भएका युवा आएको समयमा छिमेकी अन्य युवापनि फर्केका थिए । मृतकको परिवारले आग्रह गरेपछि ५ जनाको समूहलाई खुंगा पठाईएको थियो । अरु युवा भने ढोरपाटन नगरपालिकाले तोकेको क्वारेन्टाइनमै बसेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->