बागलुङ, २ साउन– करारमा नियुक्त भएको दुई महिना नबित्दै भ्रष्टाचारमा संलग्न भएको आरोपमा बुधबार बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी अख्तियारको फन्दामा परे । नगरपालिकाले जिम्मेबारी दिएका काम सकेर एकसाता पहिले पोखरा फिरेका अधिकारीले सडक निर्माणका क्रममा स्टमेटसमेत मिलाउने भन्दै उपभोक्ता समितिका पदाधिकारीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारले समातेको हो । पचास लाख रुपैयाँको योजना फरफारकका लागि सबै मिलाईदिने भन्दै अधिकारीले घुस मागेको उपभोक्ता समितिका एक सदस्यले बताए ।
पोखराको जिरो किलोमिटरबाट पक्राउ परेका अधिकारी गत जेठ ४ गते मात्रै ढोरपाटन नगरपालिकामा करार सेवामा हाजिर भएका थिए । करारमा प्राबिधिक कर्मचारी मागेको नगरपालिकाले दुई जनाको आवेदन परेकोमा अधिकारीलाई छनौट गरेको थियो । अख्तियारले रंगेहात पक्राउ गरेसँगै उनी निलम्बनमा परेको प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए ।
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका पाँच योजनाको नापजाँचको काम गरेका अधिकारीले नगरले संचालन गरेका अन्य केही ठुला योजनामा समेत प्राबिधिकको जिम्मेवारी पाएका थिए । आँफुले पाएको जिम्मेवारीको सडकमध्ये ढोरपाटन नगरपालिका–३ मा निर्माण भएको सडकको काम आर्थिक बर्षको समाप्ती हुने बेलासम्म योजना फरफारक भएको थिएन । सोही सडकका कागजात मिलाउने र स्टमेटसमेत मिलाइदिने भन्दै कार्यालय छोडेको सात दिनपछि चालु आ.व.को अन्तिम समयमा उपभोक्ता समितिका पदाधिकारीलाई अधिकारीले आश्वासन दिएका थिए ।
ढोरपाटन नगरपालिका–३ स्थित गुर्जा—सिलगुम—ओखरधारा—सिवाङ्ग सडक निर्माणपछि अन्तिम किस्ता भुक्तान लिने बेलामा उपभोक्ता समितिका पधारीकारीमार्फत उनले घुस मागेका थिए । ढोरपाटन नगरपालिकाबाट एक लाख रकमसहित पोखरा आईपुगेको उपभोक्ता समितिको टोलीइले पैसा बुझाउँदै गर्दा रकमसहित पक्राउ गरेको अख्यिार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले जनाएको छ । ‘करार अबधि सकिन ६ घण्टा मात्रै बाँकी थियो’ प्रमुख प्रशासकीय अधिकृत पोखरेलले भने ‘अन्तिम समयमा घुस लिएको आरोपमा पक्राउ परेको खवर आयो ।’
इञ्जिनियर अधिकारीले उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र छन्त्यालसँग घुस मागेका थिए । सडकको काम मिलाईदिने भएपछि ढोरपाटनबाट सवारी खोजेर छन्त्याल पोखरा आएको छन्त्यालले बताए ।
अधिकारी पक्राउ परेपछि नगरपालिकाले बिज्ञप्तीमार्फत उनी पदमा नरहेको उल्लेख गरेको छ । ‘करार अबधि पनि सकिएको थियो र कानुनी व्यवस्था अनुसार स्वतः निलम्बन हुन्छ’ पोखरेलले भने । नगरप्रमुख देवकुमार नेपालीद्धारा जारी विज्ञप्तीमा ‘नगरपालिका सदा सुशासन, मितव्ययिता तथा पारदर्शिताको पक्षमा रहेको भन्दै घटनामा संगलग्न व्यक्ति उपर सत्यतथ्य छानविन गरि कानुनबमोजिम कार्वाहीको माग गरिएको छ ।’
अधिकारी लामो समयदेखि पोखरामा बस्दै आएका व्यक्ति हुन् । उनी यसअघि कास्की क्षेत्र नं. ३ बाट विवेकशिल साझा पार्टिबाट प्रतिनिधि सभाका उमेदवारसमेत बनेका थिए । निर्वाचन प्रचार व्यानरमा ‘लुटतन्त्र विरुद्धको आवाज’ लेखेका अधिकारी आफै लुटतन्त्रका पात्र देखिएका छन् ।





