साँच्चै हो अनुमान शब्द बदला या गैर सोचाइ हो
जोरी खोज्छ भने दबिन्न भनने या सोच होच्याइ हो
यौटा भाषणमा तथाकथितझैँ घच्का दिए त्यस्तरी
के।पी।निर्भय साथ सान झिकदै बोल्दै थिए यस्तरी ।
।।१।।
हाम्रो देश नेपालभित्र रहँदो त्यो हो अयोध्यापुरी
हाम्रा राम विशिष्ट शाश्वतशिखा आदर्श सर्वोपरि
हाम्रो देश नेपालमा उस घडी श्रीरामजी जन्मदा
हाम्रो सान विशिष्ट विश्वभरमा हाम्रो अयोध्या हुँदा ।
।।२।।
बोलीको बदला दिए दनक त्यो ठूलो गरे हिम्मत
यस्ता शब्द सुनेर भारत निकै गर्ज्यो सकेसम्म त
ठूलो खल्ल र बल्ल भो उस घडी नेपाल औ भारत
विद्रोही गुटका दुबै हुन गए मिल्दैनझैँ सङ्गत ।
।।३।।
धेरै पत्र र पत्रिका छिरलिए यस्तै कुरा लेखदै
भुल्थे मानिस रेडियो अनि टिभी खोल्दै त्यहाँ देखदै
गाए गीत रमाउँदै कति कहीँ धिक्कार भन्थे कहीँ
हेर्थ्यो क्रोध गरेर भारत यता हो व्यर्थ भन्थ्यो उही ।
।।४।।
भन्थे रावल भीम भूल हुन गो बेठीक वक्तव्य हो
गर्दै भारत उर्लियो जुलुसमा इन्कार वक्तव्यको
फिर्ता गर्नुपर्यो छिटै वचन त्यो भन्दै सिमानातिर
ठूलो भीड बढ्यो अगाडि धनुषा जिल्ला तराईतिर ।
।।५।।
सीमा हो लिपुलेक तीनतिरको नेपाल अौ भारत
तेस्रो चीन, सबै मिसिन्छ उसमा हाम्रो छ भन्ने मत
जम्मैका परराष्टका प्रतिनिधि श्रद्धा गरी हौसिए
सीमा त्यो अब ठीक खुल्छ कि भनी रस्सा गुहार्दै गए ।
।।६।।
सीमा त्यो जति च्यापियो वर सर्यो आयो यतै भारत
त्यस्तो चीन भएन छैन उसको मिच्ने कहिल्यै मत
सुन्दा शब्द निकै खुला हृदयको नेपालको यो मत
यो हो चीन परास्त देश भनदै झोस्तै थियो भारत ।
।।७।।
जग्गा आफ्नु दुरुस्त पार्नु परने यो काम पैलो थियो
नक्शा बाहिर ल्याउने सँगसँगै यो काम दोस्रो थियो
हाम्रो देश विशाल कागज यो हो कोरेर आफैँ कहे
मैयाँ रङ्गिन भैसकिन् सिँदुरे होला नहोला बिहे ।
।।८।।
बिस्तारै गति मन्दले कदम त्यो सार्दै लपेट्दै बढ्यो
टेकेको ढसमस्स ठाउँ उसले पेल्दै उसैमा अड्यो
सम्झौता अब गर्नुपर्दछ छिटै तोकेर सीमान्त त्यो कोरोना लिपुलेकमा छिरिसक्यो फर्किन्न जम्मै त त्यो ।
।।९।।
–लमजुङ





