जब बन्द गर्ने छौं आफ्नो आवाज
हाम्रा हुँदाहुँदै पनि
हुनेछैनन् हाम्रा, धेरैधेरै कुराहरु ।
निस्फिक्री उडिरहेको हामीलाई रोक्ने छ, कसैले
पखेटाहरु काटिदिनेछन् निर्मम
र उड्नबाट वञ्चित गर्नेछन् हामीलाई ।
हाम्रा स्वतन्त्रतामा लगाम लाग्नेछ
आफ्नै सपनाहरुको बन्दी हुनेछौं ।
जब नबोल्नेछौं
हत्यारा हुनेछौ हामी, आफ्नै सपनाहरुको ।
र, जीवनमा
आफ्नै सपनाहरुको मलामी उभिनु
सबैभन्दा गाह्रो समय हुन्छ ।
जब बोल्न बन्द गर्नेछौं
टाउको हाम्रो हुनेछ, विचार अरुको हुनेछ ।
आँखा हाम्रो हुनेछ, दृश्य अरुको हुनेछ ।
श्वास हाम्रो हुनेछ, जीवन अरु नै कसको पञ्जामा हुनेछ ।
हाम्रा कमजोरीमाथि टेकेर
खडा गर्नेछन्, अरु कसैले नै साम्राज्य
भोलि फेरि तिनै फर्किनेछन् जरुर
र, अर्को शासन सत्ता जमाउनेछन् हामीमाथि ।
जब बोल्न छोड्ने छौं
हाम्रो जीवनमाथि उभिएर
अरु नै कसैले गाउनेछ हाम्रै मृत्युको कर्कश गीत
जब बन्द गर्ने छौं आफ्नो आवाज ।





