बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

शिक्षक/बिद्यार्थी भन्छन, ‘घर घरमा जाँदा संक्रमणको जोखिम बढ्यो’

शिक्षक/बिद्यार्थी भन्छन, ‘घर घरमा जाँदा संक्रमणको जोखिम बढ्यो’

५ महिनादेखिको तलब पाउने की नपाउने निधो छैन् । शिक्षकहरूले चामल किनेर खान सक्ने अवस्था छैन् ।


  • संजय रेग्मी
  • भाद्र २३ २०७७, मंगलबार

पर्वत, २३ भदौ– शिक्षा मन्त्रालयले संक्रमणको कोरोना संक्रमण जोखिमका कारण विद्यालय बन्द रहँदा वैकल्पिक सिकाई सहजीकरण निर्देशका जारी गर्दै अनलाईनका माध्यमबाट कक्षा चलाउन र सम्भव भएमा टोलमा पुगेर विद्यार्थीलाई सघाउन शिक्षक र विद्यालयलाई निर्देशन दियो ।
कोरोना संक्रमण सामान्य रहेको बेलामा वैकल्पिक सिकाई सहजीकरणको लागि उपयुक्त बनेको ‘होम भिजिट’ कार्यक्रम संक्रमण बढेसँगै कोरोना सार्न सक्ने माध्यम बन्न सक्ने देखिएको छ ।
जिल्लाका विभिन्न निजी तथा सामुदायिक विद्यालयहरूले पनि शिक्षकहरूलाई विद्यार्थीको घर घरमा पठाएर उनीहरूको सिकाइमा सहजीकरण गर्न भनिरहेका छन्। यही कार्यक्रमअन्तर्गत शिक्षक एकै दिनमा धेरै टोलका धेरै घरहरूमा पुग्दै आएका छन् । सुरुमा धेरै विद्यालयहरुले यो तरीका अपनाएको भए पनि केहीले भने बन्द पनि गरेका छन् । तर जसले यो कार्यक्रमलाई जारी राखेका छन ती विद्यालयका शिक्षकहरुको डुलाइले आफ्ना सन्तान र घरका अन्य सदस्य समेत खतरामा पर्न सक्ने भन्दै अभिभावकहरूले नै यसको विरोध गर्न थालेका छन् ।
‘यो बेलामा शिक्षकहरू घरमा आउँदा हामीलाई उहाँहरूले नै कोरोना सार्नुहुन्छ कि ? भन्ने डर लाग्दो रहेछ । बरु हामी घरमै बसेका छौँ, बाहिर निस्केका छैनौँ । तर शिक्षकहरू धेरै घरहरूमा डुल्दा उहाँहरूबाटै संक्रमण फैलियो भने कसो गर्ने ?’ कुस्मा नगरपालिकाका एक अभिभावक कृष्ण शर्माले भने, ‘ज्यान बाँचे सबै थोक बाँच्ने हो । यस्तो महामारीको बेलामा सके अनलाइनबाट पढाइदिए हुन्थ्यो, शिक्षकहरू घर घरै आउने काम नगरेकै राम्रो हुन्छ ।’
अभिभावकले अहिलेको अवस्थामा सिकाइका लागि गरिने ‘होम भिजिट’ ले खतरा निम्त्याउने बताइरहेकै बेला शिक्षकहरूले पनि ‘होम भिजिट’ भन्दा अनलाइनकै माध्यमबाट सिकाइमा सहजीकरण गर्नुपर्ने बताउँछन् । कुस्माको शिवालय माध्यमिक विद्यालयका शिक्षक इन्द्रप्रसाद शर्माले यो बेलामा कसैसँग भेटघाट गर्न र अरूको घरमा डुल्न नहुने भनिएकोमा शिक्षकहरू घर घरमा पुग्नुको असर गम्भीर हुन सक्ने बताउँछन् । ‘सरकारले भेटघाट नगर्ने, घरघरमा नडुल्ने, आफ्नो घरमा सुरक्षित बस्ने भनेको छ’, उनले भने, ‘यता शिक्षकहरूलाई घर घरमा दौडाएर कसरी सुरक्षित हुन सक्ला । आज थोरै सङ्ख्यामा रहेको संक्रमण एकाएक ज्यामितीय संख्यामा बढिहाल्छ नि ।’
सदरमुकाम कुस्मामा रहेको एक निजी विद्यालयका शिक्षकले नाम उल्लेख नगरिदिन अनुरोध गर्दै तलब नै दिन नसकिएका शिक्षकहरूलाई जोखिम मोलेर ‘होम भिजिट’ मा दौडाउनुको कुनै अर्थ नरहेको बताए । ‘५ महिनादेखिको तलब पाउने की नपाउने निधो छैन् । शिक्षकहरूले चामल किनेर खान सक्ने अवस्था छैन् ।’ उनले भने, ‘एकातिर कोरोनाको डर अर्कोतिर गाडी नपाउने बेलामा पैदल यात्रा गर्दै, भोको पेटमा विद्यार्थीको घरमा पुग्नुपर्ने ? यस विषयमा सोचेको खोइ ?’
जिल्लाका केही विद्यालयहरूले विद्यालय वा टोलमा विद्यार्थी जम्मा पारेर शिक्षण क्रियाकलाप सञ्चालन गरिरहेको भन्ने गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्वतले केही दिन अगाडि नै विद्यार्थीलाई विद्यालय वा कुनै स्थानमा भेला पारेर सिकाई क्रियाकलाप सञ्चालन नगर्न भनेको थियो । तर त्यसमा तोकेरै ‘होम भिजिट’ को विषयमा भने उल्लेख गरिएको थिएन् ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अहिले कोरोना समुदाय स्तरमा फैलिँदै गरेको अवस्था रहेको र बजारमा भन्दा ग्रामीण क्षेत्रमा सुरक्षा सतर्कताका सबै सामग्री नहुने तथा नागरिकले पालना नगर्ने भएका कारण ‘होम भिजिट’ लगायतका अन्य भेटघाटका कार्यक्रमहरू गर्न नहुने बताए । ‘यो बेलामा एक त बालबालिको मानसिक अवस्था अस्थिर छ। जोखिम देशैभर बढेको छ । हरेक मान्छे घरमै आइसोलेसनमा बस्नुपर्ने बेलामा किन डुल्ने ?’ उनले भने, ‘शिक्षकहरू घर घरमा डुलेर हिँड्दा सङ्क्रमण भइहाल्यो भने स्वतः अरुमा सर्छ । यो बेलामा अनलाइनबाटै पढाउने हो, घर घरमा डुल्नु हुँदैन ।’
कुस्मा नगरपालिका अन्तर्गतको नगर शिक्षा शाखाका प्रमुख बिष्णु प्रसाद तिवारीले सङ्क्रमण खासै नबढेको बेलामा वैकल्पिक सिकाइका रूपमा त्यसलाई लिइएको भए पनि अबको अवस्थामा भने घर घरमा पुगेर विद्यार्थी भेट्ने काम उपयुक्त नभएको बताए । ‘अबको बेला बाचौँ र बचाऔँ भन्ने बेलाको हो । बाँच्न पाए पो नाच्न पाइन्छ ।’ उनले भने, ‘महामारीको बेलामा अब तीन ओटै सरकारले शिक्षाका लागि स्पष्ट कार्यदिशा बनाउनुपर्छ । कार्य योजनासहित शैक्षिक सत्र कायम हुने गरि व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->