बालकहरू
सपना देख्छन्
तर, त्यहाँ हिंसा हुँदैन
आग्रहका झण्डाहरू
र दूराग्रहको घृणा पनि हुँदैन
बालकहरू
सपना देख्छन्
परिकथामा वर्णित झैँ
अलौकिक तर शान्त
बालकहरू
सपना देख्छन्
सपनामा
आकाश विचरण गरेको पनि देख्छन्
तर आकाशमा
बमवर्षक विमानहरू देख्दैनन्
पहाडरपहाड
उक्लेको सपना देख्छन्
तर त्यहाँ
राष्ट्र–राष्ट्र छुट्याउने सिमाना देख्दैनन्
तिनीहरू
सपनामा साथीहरूसँग
हातेमालो गर्दै
घरबाट लगेको खाजा
बाँडिचुँडी खान्छन्
तर राज्य विस्तारको लागि
संघर्ष देख्दैनन्
बालकहरूको सपनामा
शरद र वसन्तका झैँ
फूलहरू फुल्छन्
त्यहाँ पुतली÷मौरी र भमराहरू पनि हुन्छन्
आशक्ति पनि हुन्छ
तर मोहका नाममा युद्ध हुँदैन
द्रोहका नाममा हिंसा हुँदैन
बालकहरू
सपनामा
देवताहरूसँग कुरा गर्छन्
तर, देवता बन्ने पाखण्ड गर्दैनन्
सुनकेशरी रानीलाई
कैदबाट मुक्ति दिन्छन्
तर त्यसबाट राज्य लिँदैनन्
बालकहरू
सपना देख्छन्
तर त्यहाँ हिंसा हुँदैन
आग्रहको झण्डा
र दूराग्रहको घृणा हुँदैन ।





