बागलुङ, २८ असोज– भाषा कला साहित्य र संगीतको क्षेत्रमा योगदान पु¥याएका बागलुङका ५ जना सर्जकलाई विभिन्न विधामा सम्मान गरिएको छ ।
धौलागिरी साहित्य प्रतिष्ठान बागलुङ, सार्थक प्रकाशन, धवलकला मन्दिर, स्मृति प्रकाशन र विद्यामन्दिर पुस्तकालय बागलुङले एक कार्यक्रमको आयोजना गरी साहित्य कला र संगीतको क्षेत्रमा योगदान पु¥याउने पाँच जनालाई सम्मान गरेको हो ।
यस वर्षको मोती सार्थक सम्मान गलकोट कला प्रतिष्ठानका अध्यक्ष पुर्ण बहादुर रानालाई प्रदान गरिएको छ ।
त्यस्तै, धवल कला मोती सम्मान बागलुङका सर्जक एवम् संगीतकार महेशचन्द्र प्रधान र रमेश कुमार राजभण्डारीलाई प्रदान गरिएको धौलागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष काजीरोशनले जानकारी दिए ।
त्यसैगरी स्मृति प्रकाशनद्धारा प्रदान गर्दै आएको स्मृति युवा सम्मान गलकोट नगरपालिकाका सर्जकद्धय सुन्तली कुँवर र सरिता खड्कालाई प्रदान गरिएको छ । सम्मानित सबैलाई बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारी र प्रतिष्ठानका अध्यक्ष काजीरोशनले सम्मान पत्रसहित दोसल्ला ओडाएर सम्मान गरे ।
कार्यक्रममा उद्योग बाणिज्य सघंका अध्यक्ष राजभण्डारी, सम्मानित व्यक्तित्व पुर्ण बहादुर राना, महेशचन्द्र प्रधान, सुन्तली कुँवर, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीष र विद्यामन्दिर पुस्तकालयका सचिव रामचन्द्र शर्मालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
सम्मानित पाँचै जनाको व्यक्तित्वबारे विद्यामन्दिर पुस्तकालयका कोषाध्यक्ष एवम् सर्जक कोपिला कँडेलले जानकारी गराएकी थिइन् । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष काजीरोशनको अध्यक्षता, वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद शर्मा निउरेको स्वागत र प्रतिष्ठानका सचिव राम थापा अविरलको संचालनमा सम्पन्न भएको थियो ।





