बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोरखाको विद्यालयमा पर्वतारोहणको पढाई

गोरखाको विद्यालयमा पर्वतारोहणको पढाई

उक्त विषय अध्ययनका लागि यस वर्ष कक्षा ११ मा ४३ जना विद्यार्थी भर्ना भइसकेका छन् ।


  • संजय रेग्मी
  • कार्तिक १७ २०७७, सोमबार

पर्वत, १७ कात्तिक– गण्डकी प्रदेशमा नै पहिलो विद्यालयमा तहमा नै पर्यटन र पर्वतारोहण सम्बन्धी विषयको अध्यापन हुने भएको छ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा रहेको मणिकामदेवी माध्यमिक विद्यालयले नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग सम्झौता गरेर विद्यालय तहमा नै पर्यटन र साहसिक पर्वतारोहणको विषयमा अध्यापन गराउन लागेको हो ।
विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङका अनुसार यसका लागि विद्यालयले गत वर्ष अनुमति लिएकोमा यस वर्ष कक्षा ११ बाट पढाई सुरु गरेको हो । आगामी वर्ष कक्षा १२ मा र त्यसपछि स्नातक र स्नातकोत्तर तहसम्मको अध्यापन गराउने लक्ष्य राखेको उनको भनाई छ । ‘हाम्रो देशमा पर्यटन र पर्वतारोहणको ठुलो सम्भावना रहेको छ । हामीले गर्न सक्ने काम पनि गरेनौँ जस्तो लागेपछि कक्षा ११ र १२ मा ऐच्छिक विषयको रूपमा पढाउन थालेका हौँ ।’ उनले भने, ‘विद्यालय र नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको बिचमा द्विपक्षीय सम्झौता भएको छ । यसमा समन्वय र सहकार्य गाउँपालिकाले गरेको छ । यसमा धेरै विद्यार्थीको आकर्षण रहन्छ भन्ने विश्वास छ ।’ उक्त विषय अध्ययनका लागि यस वर्ष कक्षा ११ मा ४३ जना विद्यार्थी भर्ना भइसकेको पनि प्रअ गुरुङले बताए ।
नेपालमा प्रयोगात्मक भन्दा सैद्धान्तिक तरीकाले शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गरिँदा त्यसको सिकाई उपलब्धि कम आएको सन्दर्भमा विद्यालयले अध्ययनलाई पूर्ण रूपमा प्रयोगात्मक ज्ञान सहित सैद्धान्तिक रूपमा पाठ्यक्रम पूरा गर्ने विद्यालयको योजना छ । त्यसका लागि रक क्लाईम्बीङ, हिल क्लाईम्बीङ, रक गार्डेन, क्यानोनिङ लगायतका लागि आवश्यक भौतिक संरचना तयार पारिसकिएको छ ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानसँग विद्यालयले गरेको सम्झौतामा दुई पक्षको बिचमा संस्थागत सहयोग आदानप्रदान हुने गरी पढाई सञ्चालन गर्ने भनिएको छ । पढाई सञ्चालन गर्नको लागि प्रतिष्ठानले पर्यटन र पर्वतारोहण सम्बन्धी विषय अध्यापन गराउन अनुभवी प्रशिक्षकरू उपलब्ध गराउने, पाठ्यक्रम र सामग्री उपलब्ध गराउने तथा ब्याच लर अफ माउन्टेनरीङ स्टडीज (बीएमएस) र मास्टर अफ एडभेन्चर टुरिजम स्टडी (म्याट) मा अध्ययनरत विद्यार्थीलाई इन्टर्नका रूपमा खटाउने सहमति भएको छ । यस्तै विद्यालयले प्रशिक्षकसँग कोर्स सम्झौता गरेर काममा लगाउने र सेमेस्टर प्रणालीको आधारमा अध्यापन गराउने गरी सम्झौता भएको छ । पहिलो पटक भएको यो सम्झौताको अवधि तीन वर्ष रहेको छ ।
सम्झौता पत्रमा नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र विद्यालयका प्रधानाध्यापक धनबहादुर गुरुङले हस्ताक्षर गरेका छन् । विद्यालयमा पढाई सञ्चालनको औपचारिक उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->