पोखरा, १७ कात्तिक– राष्ट्रिय संगीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले उद्घाटन गर्दै कलाकारहरूको हक हितका लागि अगाडि बढ्न कास्की शाखा तत्पर रहिरहेको र भावी दिनमा पनि अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरे ।
साधारण सभाले विभिन्न पदहरुमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै संस्थाको उपाध्यक्षमा सागर कार्की, सह–सचिवमा राजन सुवेदी र सह कोषाध्यक्षमा रिजन वस्ताकोटीलाई चयन गरेको छ ।
त्यसै गरी संगठन विभाग प्रमुखमा इश्वर राजभण्डारी, अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचार प्रसार एवं संघसंस्था समन्वय प्रमुखमा ऋषिराम वास्तोला (बाबुराम) लाई चयन गरेको छ ।
कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका महासचिव कृष्ण प्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङजा जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहास लगाएतले शुभकामना व्यक्त गरेका थिए ।
साधारण सभाले कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालले प्रस्तुत गरेको आर्थिक एवम् सांगठनिक प्रगति तथा भावी योजनाहरुको सर्वसम्मत पारित गरेको थियो ।





