मुस्ताङ, १३ मंसिर– मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरमा स्वास्थ्य चौकी भवन निर्माण भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको सीमा कोरला नाका नजिकैको छोसेरमा लोमान्थाङ गाउँपालिकाले स्वास्थ्य चौकी भवन बनाएको हो । ५० लाख रुपैयाँको लगानीमा चार कोठे भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष सुवर्णकुमार विष्टले जानकारी दिए ।
बिरामी उपचार, प्रशासन, औषधी भण्डारण र स्वास्थ्य परीक्षणका लागि छुट्टाछुट्टै कक्ष भएको भवनमा शौचालय र सयन कक्ष पनि रहेको उनले बताए ।
स्वास्थ्य चौकीबाट छोरेसबासीका अलावा पर्यटकले पनि सेवा लिन सक्नेछन् । यो भवनमा तत्काल ५ शैया क्षमताको कोरोना अस्पताल स्थापना गरेर प्रयोगमा ल्याइएको छ ।
लोमान्थाङ पालिका स्तरीय कोरोना अस्पताल छोरेसको स्वास्थ्य चौकी भवनमा स्थापना गरेको प्रमुख प्रशासकीय अधिकृत घनश्याम सुवेदीले बताए ।





