प्यारी छोरी ,
तिमी र तिम्रो भाइ लाई संसार देख्ने बनाउने रहर मा
तिम्रो बाबुले तिम्री आमालाई लिन जाँदा सिलाए देखिन यता
अर्को जोडी कोट पाइन्ट सिलाएको छैन ,
तीन वर्ष देखि आफ्नो चस्माको पावर मिलाएको छैन
नमिठो त तिमीहरू सँगै बसेर खाएको छ
मीठो मसिनो तिमीहरूलाई बाडेरै अघाएको छ ।
प्यारी छोरी ,
तिम्री आमाका पनि कति रहर हुँदा हुन्
कल्पनाका कति सहर हुँदा हुन्
तिमी र तिम्रो भाइलाई संसार देखाउने रहर मा
शिरमा शिरफूल को त कुरा परै जाओस्
नाकामा २ आनाको फुली पनि लाएकि छैनन्
सपनामा पनि प्यारी छोरी
बारीको अम्बा र टारीको ऐशेलु एक्लै खाएकी छैनन् ।
प्यारी छोरी ,
तिमीलाई डाक्टर बनाउने रहर मा तिम्रो बाबुले
जागिर छाड्दा निस्केको पैसाले आधी तोलाको बेरुवा औंठी लाउने सपना
मन भित्रै पोको पारेको छ
तिम्री आमाले घाँटीमा एउटा तिलहरी लाउने सपना
मुटु भित्रै पोको पारेकी छन् ।
अहिले तिम्रो बिहेमा दाइजो दिनको लागि
तिम्रो बाबु सँग बाँचेको केही छैन
त्यसैले प्यारी छोरी,
तिम्रो बाबुले तिमीलाई संसार देखाउने रहर मा
सिलाउन नपाएको कोटपाइन्ट
बनाउन नपाएको बेरुवा औंठी
ठड्याउन नपाएको घर
र सजाउन नपाएका सबै सपना हरु
तिमीलाई दाइजो ।
तर प्यारी छोरी ,
तिम्रो बाबुले जस्तै तिमीले पनि
सपना सँगाल्ने गल्ती कहिल्यै पनि नगर्नु ।





