बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मधु–मालतीको कथा

मधु–मालतीको कथा


  • रमेश विकल
  • मंसिर २७ २०७७, शनिबार

‘राजा मधुकरले रानी मालतीसमेतलाई उही फटिकको खम्बाबाट निस्केको वायुपङ्खी घोडामा चढाई त्यहाँबाट उँडे’, आमा एउटा किताब लिएर पढ्न थाल्नुहुन्थ्यो । त्यस बेला म ज्ञानी बालकजस्तै आमाको छेउमा चुपचाप बसिरहन्थेँ । यद्यपि, म बाहिर बिलकुलै शान्त र गम्भीर देखिन्थेँ तर आमाको प्रत्येक शब्दको तालमा मेरो मुटुको धड्कन छिटोछिटो हुँदै जान्थ्यो । भय, आशङ्का र खुसी मिसिएको विचित्र अनुभूति १
‘साँच्चै मधुकर अथवा मालती दुइटामा एउटा घोडाबाट खसे भने १ ।।। अथवा घोडाले जीउ हल्लाइदिएर दुबै खसे भने ।।। त्यो मधुकरको आफ्नै घोडा होइन, खसालिदियो भने रु ।।।’ मेरो आङ सिरिङ्ङ गर्दथ्यो, रौँ ठाडा भएझैँ लाग्दथ्यो । ‘उफ् १ त्यति माथि आकाशबाट खसेर डाँडामा अथवा पहरामा बज्रे भने रु ।।।’मलाई हाम्रै मावली गाउँको माने बूढाको सम्झना आउँथ्यो । बिचरो बूढो, जहान बच्चा कोही नभएको एक्लो थियो । दाउरा बेचेर खान्थ्यो । एक्लो भए पनि खानैपर्ने । बूढो एक दिन फट्केको भीर माथिदेखि खसेर तल चोसे ढुङ्गामा बज्रेछ । उफ् १ त्यो बेलाको त्यसको अनुहार सम्झँदा पनि अहिले डर लाग्छ । नाकमुख एकै ठाउँमा थेप्चिएर घट्टे रोटीजस्तो भएको, खप्पर पटक्क फुटेर गिदी छ्यालब्याल भएको, एउटा आँखा खोपिल्टाबाट प्याक्ल्याक्क बाहिर उछिट्टिएको, रगत र मथिङ्गलको सराबरीले एउटा भयानकता पैदा गरेको ।

यो सम्झनाले नै मेरो जीउ एक्कासि काँपेर आउँदथ्यो र म एक्कासि आमाको छातीमा लिप्सिक्क टाँसिन जान्थेँ । आमा किताबबाट आँखा उठाएर अनौठो दृष्टिले मतिर हेर्नुहुन्थ्यो ।
‘आमा, मधुकर त्यो घोडाबाट खसे भने रु ।।। मालती खसी भने रु ।।। दुवै जना खसे भने रु’,मेरो काँपेको आवाजमा प्रश्न सुनेर आमा हाँसिदिनुहुन्थ्यो । ‘धत् लाटा, मधुकर किन खस्थे रु ।।। मालती पनि खस्दिन । ।।। त्यो घोडा चानचुने घोडा हो र रु’
साँच्चिकै त्यो घोडा चानचुने होइन, खम्बाबाट निस्केको । मधुकर र मालती पक्कै खस्दैनन् भन्ने मनमा ढुक्क भएपछि म पनि मधुकरकै जस्तो गौरीलाई पछाडि राखेर उनीहरुकै पछाडि उड्दथेँ । म र गौरी स्वच्छसँग चारैतिरका नदीनाला, समुद्र, पहाड, झर्ना, जङ्गल, बादल, हिउँ इत्यादिका मनोहर दृश्य हेर्दै हावामा उड्न थाल्दथ्यौँ ।

“मधुकर समुद्रको आधाआधी पुगे ।“ आमा भन्दै जानुहुन्थ्यो । म पनि गौरीका साथै समुद्रको आधाआधी पस्थ्यौँ । हामी अनन्त आकाशको मुक्त वायुमण्डलमा स्वच्छन्दसँगै चीलका जोडीझैँ कावा खान्थ्यौँ । कहिले बादलमा पस्थ्यौँ, कहिले बाहिर खुलामा । चारैतिर अन्तहीन, नीलो शुन्य वायुमण्डल, तल विशाल नदी र गम्भीर समुद्र मनको स्थिति अनौठो उल्लासले भरिएको हुन्थ्यो ।

किन्तु अकस्मात् आफ्नो पछाडि आँधीबेहरी सुसाएझैँ सुसाउँदै प्रचण्ड वेगले लखेटेर आउन लागेको महाविकराल अनुहारको छवटी राक्षसनीहरुलाई देखेर मेरो सातोपुत्लो उड्दथ्यो । म आमाको काखमा लेप्सिन आइपुग्दथेँ । गौरीसम्म पनि कता गई, खोजखबर गर्न पनि मलाई होसहवास भएन ।
‘मालतीका ती छवटी राक्षसनी दिदीहरु क्रोधले चूर भएर मधुकरको घोडाको पुच्छरमा झुन्डिए’, आमा आफ्नै सुरमा भन्दै जानुहुन्थ्यो । म डर, आशङ्का र असफलताको क्रोधले छटपटिन थाल्थेँ । मलाई यति रिस उठ्थ्यो कि मेरा दाँत बज्न थाल्दथे तर म एउटा सानो, सात–आठ वर्षको केटो उद्विग्न भएर समुद्रमाथि उडिरहेको मधुकर, मालती र घोडाको पुच्छर समातेर झुन्डिएका छवटी भयङ्कर राक्षसनीहरुलाई हेरिरहनुबाहेक के गर्न सक्दथेँ र १
मेरो मुटुको ढुकढुक प्रत्येक सेकेण्ड तीब्र हुँदै जान्थ्यो । मेरो मनले पूरा अठोट गरिसकेको हुन्थ्यो, अब मधुकर एकदुई तीन बाँच्न सक्तैन । त्यो एक्लो, अनि ती छ–छ जना १
‘आमा, मधुकर मर्छ हगि रु ।।। राक्षसनीले खान्छन् हगि रु’, मेरो स्वर काँपेकै हुन्थ्यो ।
‘समुद्रपारि पुग्न सक्यो भने उनीहरुको जोर चल्दैन ।’, आमा भन्नुहुन्थ्यो । म आफ्नो सम्पूर्ण इच्छाशक्तिले मधुकरको घोडालाई छिटोछिटो, अझ छिटो धकेल्न थाल्दथेँ ।
‘पुग्यो, पुग्यो ।।। अलिकति छ’, मेरो उत्सुकता क्लाइमेक्सको चरमतिर बढ्दथ्यो । अब के हुन्छरु अब अब १ मेरा अङ्ग–प्रत्यङ्ग बेहोसमै बटारिन थाल्दथे– ‘स्याबास १’ मधुकरको हातको सुदर्शन चक्र घामको तेजमा बिजुलीझैँ चम्कन्थ्यो । तत्कालै ती छ जना राक्षसनीहरु एकै गुजुल्टो भएर समुद्रको विकराल पेटमा समाधिस्थ हुन्थे । मेरा हात अनजानमै थप्पडी पिटेर नाच्न थाल्दथे । ‘आमा १ मधुकर, मालती बाँचे हगि रु’
आमा मुग्ध आँखाले मेरो विचित्र खुसी निहार्न थाल्नुहुन्थ्यो । मधुकरले सफलतापूर्वक मालतीलाई समुद्र पार गराएको खुसी निहाल्न थाल्नुहुन्थ्यो । यो खुसी मेरो हृदयमा यति अटाइ–नअटाइ हुन्थ्यो कि आफ्नी गौरीलाई त्यो नबाँडुन्जेल मेरो अजीर्ण शमन हुँदैनथ्यो ।
‘गौरी १ मधुकरले त छ जनै राक्षसनी मा¥यो, मालतीलाई समुद्रपारि तान्यो १’ खुसीको आवेगमा झन्डै निसास्सिएर म गौरीको हात समातेर हल्लाउँदथे ।

‘साँच्चै १’ गौरी आधा खुसी र आधी अविश्वासको स्वरमा चिच्याउँथी र आफ्ना बडाबडा रिट्ठाका गेडाजस्ता आँखामा कौतूहल भरेर मेरो खुसीले प्रदीप्त अनुहार हेर्दथी । त्यो बेला मलाई गौरी अत्यन्त राम्री लाग्दथी । म एकएक गर्दै उसको गाला, चिउँडो, नाक, आँखा, ओठ, निधार अनि कपाल छुन्थेँ । मलाई उसलाई पनि मधुकरको जस्तै वायुपङ्खी घोडामा चढाएर देश–विदेश, नदीनाला, जङ्गल, पहाड, आकाश, पाताल घुमाउने इच्छा उठ्दथ्यो । तर खोइ मेरो घोडा रु मेरो मन अलि अमिलो भएर आउँथ्यो । अनि म बिस्तारै उसको हात समातेर भन्थेँ – ‘गौरी १ मसँग घोडा छैन, म पनि तिमीलाई मधु–मालतीलाई जस्तै घोडामा चढाएर समुद्रमाथि बादलमा उडाउँथेँ । म पनि राक्षसनीलाई मार्थेँ ।’

मेरो ओइलाएको अनुहार देखेर गौरी सायद द्रवित हुन्थी । उसको पनि मुख मलिन हुन्थ्यो । अनि मेरो छातीमा टाँसिएर बडो फुल्याउने स्वरमा भन्दथी – ‘शङ्कर, तिमी क्या अहिले केटाकेटी नै छौ । पछि ठूलो भएपछि तिमी र म घोडामा चढेर बादलमाथि जाउँला ।’

‘मलाई घोडा कल्ले किनिदिन्छ र रु’, मलाई शङ्कै लाग्दथ्यो किनकि मलाई घोडा किनिदिने काँटको मानिस जति खोज्दा पनि आफ्नो विचारमा चढाउन म समर्थ भइनँ । मेरी आमासँग एक पैसा पनि छैन भन्ने कुरा मलाई केटाकेटी नै भए पनि थाहा थियो । अनि मेरो बाबाले पनि मलाई घोडा किनिदिनुहुन्छ भनेर म पत्यार गर्न सक्तिनथैँ किनकि मलाई बाबाले कुनै दिन पनि ख्यालख्यालको घोडासम्म पनि किनिदिनुभा’ छैन ।

‘म ल्याइहाल्छु नि १ मेरो बाबासँग धेरै पैसा छ । तिम्रो बाबा पो गरीब त । म मेरो बाबालाई भनेर घोडा किन्न लाउँछु अनि भइगो नि ।’
वास्तवमा गौरीको यो अभिमान कुनै फोस्रो अभिमानको आधारमा थिएन । उसको र मेरो आर्थिक स्थितिमा पूर्व र पश्चिमको अन्तर थियो । सहर बाहिरै भए पनि उसको घर धेरै ठूलो, झिलिमिली, उसको घरमा मोटर पनि थियो । मेरो सानो कुचुक्क परेको, खुम्री बुढीजस्तो । गौरी राम्राराम्रा फ्रक, गरगहना लाएर, कपाल पनि बास्ना आउने तेल र रिबनले सजाएर, फर्याकफुरुक गर्दै यता र उता हिँड्थी । उसको अगाडि म रु के भनुँ खोई १ नयाँ सडकको झिलिमिलीको अगाडि मखनटोलको रछाने गल्ली । ।।। यस्ता बीचमा पनि असाधारण स्नेह, आश्चर्य १
तैपनि गौरीको यो आश्वासन मेरो पुरुष आत्मालाई अति सह्य हुँदैनथ्यो । मधुकरलाई पनि त घोडा मालतीले किनिदिएकी होइन, आफ्नै पुरुषार्थले उसले सय मन फलामको चिउरा खाएर, सय मन दूध पिएर, सय फेरा डन्डा पेलेर अनि एकै चोटिमा फटिकको खम्बा फोडेर निकालेको त हो नि १ मेरो पुरुष अभिमान गर्जन्थ्यो । ‘नाइँ, म तिमीले किनेको घोडा लिन्नँ ।’

मेरो त्यो अप्रत्याशित इन्कारमा गौरी जिल्ल पर्थी, सायद दुःखी पनि हुन्थी ।
‘किन रु’
‘मधुकरलाई मालतीले दिएकी हो र रु ।।। उसले आफैँ ल्याएको । म पनि ठूलो भएपछि आँफै खोजेर ल्याउँछु ।’
‘कहाँबाट नि रु’
‘ऊ त्यो बादलमाथिको सहरबाट ।’
‘साँच्चै रु’ – मेरो त्यो अनौठो जबाफले गौरी साँच्चै जिल्ल पर्थी । ऊ भन्थी – ‘कसरी जान्छौ नि त्यति माथि रु’
‘किनः ।।। उ ः त्यो डाँडामा जान्छुु, अनि त आकाश हातैले भेट्टिहाल्छ नि १’ म शिवपुरीको डाँडालाई देखाएर यसरी जबाफ दिन्थेँ कि मेरा निमित्त त्यति काम त हात्तीले जिरा खानुजत्तिकै हो ।
अनि हामी मुग्ध भएर त्यो नौलो अनन्तमा छिनछिनमा रुप बदल्दै हावाको गतिसँग यता र उति खेल्ने, कपासका फूलहरु छरिएझैँ फाटफुट बादलका टुक्राहरुलाई हेर्न थाल्दथ्यौँ । गौरीलाई पूरा पत्यार परिसकेको हुन्थ्यो कि त्यो बादलमाथि एउटा सहर छ, त्यो सहरमा एउटा घोडा छ, जसलाई म ठूलो भएपछि गएर ल्याउनेछु अनि दुवै जना मधुकर र मालतीजस्तै त्यसमा चढेर समुद्रमाथि बादलपारि आकाशको छातीमा उड्नेछौँ ।
‘रातमा कति चंख भएर बस्दा पनि मधुकर निदाइहाले ।’ आमा भन्नुहुन्थ्यो – ‘र विष्णु भगवानका दूतहरुले मालतीलाई स्वर्गको विमानमा हालेर उडाए । जाने बेलामा मालतीले मधुकरलाई बिउँझाउन भरमग्दुर गरिन् तर मधुकर बिउँझेनन् । मालतीलाई अर्काले चोरेर लग्यो ।’ मैले देखेँ– मधुकर उठर मालतीलाई नपाउँदा क्रोध, क्षोभ र ग्लानीले बौलाउन थाल्यो । उसको भन्दा बढी क्रोध मलाई उठ्यो । किनकि म त्यो बेला बिउँझेको थिएँ औ अहिले पनि ती बेइमान विष्णुका दूतहरुलाई पनि देख्दथेँ । उडिरहेको विमानभित्रकी मालतीका विवश आँसु पनि देख्दथेँ अनि मधुकरको शोक पनि । मलाई चिच्याएर मधुकरलाई त्यो विमान देखाइदिने मन हुन्थ्यो तर मेरो आवाज ज्यादै सानो हुन्थ्यो । निराश भएर मधुकरको हातबाट चक्र खोसेर त्यो विमान बोक्ने चोरहरुलाई एकएक गर्दै गिँडिदिने उत्तेजनाले छटपटाउँथेँ, हातमा चक्र लिएर झम्टि पनि हाल्थेँ । तर तिनीहरुलाई मारेपछि त मालतीसमेतको विमान उनीहरुको काँधबाट खसेर पहाडमा बजारिहाल्छ नि त्यसैले म हात रोक्दथेँ ।
मलाई अकस्मात् अर्कैतिर सम्झना जान्थ्यो । मालतीलाई जस्तै कुनै विष्णुका दूत आएर गौरीलाई पनि लगे भने रु मेरो मुटु आशङ्काले काँप्दथ्यो । म एक्कासी किताब सुन्न छाडेर आमालाई आश्चर्यमा डुबाउँदै गौरीकहाँ दौडन्थेँ । गौरी आफ्नो ठूलो चोकमा खिलखिल हाँस्दै सानो बाइस्कलमा चढेर घुमिरहेकी हुन्थी । मेरो मन केही ढुक्क भए, तापनि मुटु अझै छिटोछिटो चलिरहेको हुन्थ्यो ।

‘गौरी १’ म डर र खुसी मिसाएर हतारिएको स्वरमा भन्थेँ र बाइस्कलको डन्डी समात्दथेँ ।
मलाई देख्नासाथ गौरीको अनुहार प्रदीप्त हुन्थ्यो, स्वरमा सनाई बज्दथ्यो, ‘शङ्कर तिमी बाइस्कल चढ्दैनौ रु’ ऊ मलाई बाइस्कल दिन्थी । म चढ्न खुट्टा मात्र के उचाल्दथेँ, माथि बरन्डाबाट एउटा बास चिरिएझैँ चिरिएको आवाजले मेरो रगत जमाइदिन्थ्यो । ‘ए १ त्यो बाइस्कलको सत्यानाश पारिसकी राक्षसनीले ।।। टोलभरिका माग्ने मोराहरुलाई ल्यायो, सुम्प्यो, ।।।। ए काले १ ए माइला १ को छ हँ तल रु ए सत्यनारायण १ त्यो बाइस्कल छिँडीमा हुलेर ताल्चा मारिदे ।।।। भएभरका अभागी मोराहरुलाई घरमा ल्याई । यो सत्यानाशिनी १’ वास्तवमा त्यहाँ म एउटाबाहेक कुनै ’टोलभरका मोरा’ हुँदैनथे तर गौरीकी फुपूको आँखामा म सायद ’एकबाट अनेक’ रुप हुन्थेँ १
उनको आवाजसँगै तीन जना नोकरले तीनतिरबाट झम्टेर जबरजस्ती बाइस्कल मबाट खोसेर लग्दथे । त्यति बेला मेरो बादलको सहरमा गएर घोडा ल्याउने, त्यसमा गौरीलाई चढाएर समुद्रमाथि उड्ने बहादुरी, जोस सबै बाफजस्तै उडेर जान्थ्यो । म असहाय र दीनझैँ नोकरको त्यो रुखो व्यवहार सहन्थेँ । मेरो भित्र असह्य चोटको अनुभव भएर आँखा टलबलाइहाल्दथे । मेरा आँखामा टलबलाएको आँसु देखेर गौरी पनि दुःखी हुन्थी । सायद ऊ मलिन अनुहार लिएर मेरो नजिक आउँथी र मेरो हात समातेर भन्थी – ‘शङ्कर १ त्यो हाम्रो दिदीआमा नि, असाध्य नजाती । मलाई सधैँ तिमीसँग खेल्यो भनेर गाली मात्रै गर्छे बूढी १ तिमी गरीबको छोरो रे १ हो, तिमी गरीब रु’

म के जवाफ दिऊँ । म गरिब र गौरी धनी किन रु औ मैले गौरीसँग खेल्न किन हुन्नरु यो मेरो सोच्ने विषय नै थिएन । मलाई त यही थाहा थियो कि गौरी गौरी हो र उसलाई मैले भोलिपर्सी बादलमाथिको सहरमा उडाउनुपर्छ अनि घोडामा राखेर समुद्रमाथि हाँक्नुपर्छ १
‘त्यसले भनेर म मान्दिनँ के १ बुबामुमाले भने पनि मान्दिनँ ।’ आखिर गौरीि आफै निश्चय गर्थी । हामी दुवै हातेमालो गर्दै बगैंचाको सानो पोखरीको डिलमा आएर उभिन्थ्यौँ र पानीमा परेको उल्टो छायामा परस्पर मुख हेरेर हाँस्दथ्यौँ । अनि अगाडिको आलुबखडाको हाँगामा तलमाथि गर्ने धोबिनी अथवा पोखरीमा सल्याङबल्याङ गर्ने राता, पहेँला माछालाई मुग्ध भएर हेथ्र्यौँ ।
‘शङ्कर १ तिमी घोडा लिन कैले जानेरु’ सायद पानीमा परेको सेतो बादलको एक टुक्रा छायाले गौरीको स्मृतिमा कैलेदेखि पुरिएको कुरा कोट्टयाइदिन्थ्यो । ऊ एक्कासि प्रश्न गरेर मनको स्थिति खलबल्याइदिन्थी । मलाई त्यो विस्मृत घटनाले फेरि खिन्न पाथ्र्यो । ‘गौरी, मालतीलाई त विष्णुले चोरेर लग्यो’, म बोझिलो स्वरमा भन्थेँ ।
‘किन रु मधुकरले विष्णुलाई पिटेन रु’
‘ऊ त निदायो, नसुत्न खोज्यो र पनि सुत्यो ।’
‘फसाद प¥यो १ अब उनीहरुको भेट हुन्न हगि रु एक्कासी गौरी पुर्खिनी बूढीझैँ बनेर भन्थी, फसाद प¥यो १’
त्यस दिन म गौरीकहाँबाट घरतिर फर्कदा मनमा एउटा टर्रो बोझ बोकेर फर्केँ । छातिभित्र कताकता दुखेझैँ लाग्दथ्यो अनि आँखा कताकता भरिएको । मलाई गौरीको बूढी दिदीआमादेखि भित्रभित्रै रिस उठिरहेको थियो । मलाई उसले किन लडाइदिईरु मैले उसको बाइस्कल चढेको हो ररु त्यो गौरीको बाइस्कल पो त १
‘तिमी चढ्दैनौ शङ्कर १ चढ न १’ गौरीले नै जिद्दी गरी अनि उसले मेरो हात समातेर बाइस्कलमा चढाई र पो अनि आफू पछाडि धकेल्न थाली । म अविष्मरणीय आनन्दले बाइस्कलमाथि चढेर आफूलाई घोडामा चढेको मधुकरभन्दा कम ठूलो अनुभव गर्न थालेको थिइन । आखिर मेरा पछाडि पनि त गौरी मालती थिई । किन्तु एक्कासी मेरो सम्पूर्ण सुख स्वप्न त्यै राक्षसनी दिदीआमाले भत्काइदिई । मलाई बाइस्कलबाट लडाइदिई अनि गौरीलाई पनि गालमा चड्कन दिई । ‘यो राक्षसनी । यो सत्यनाशिनी १’

त्यसपछि भुइँबाट भरखरै उठेर लुगाको धुलो झार्न लागेकोमा मलाई आँखा तरेर भनी– ‘यी माग्ने मोराहरुको सङ्गतमा लागेर।।। अबदेखि सानु मैयासँग खेल्न नआउनू । जा घर, अबदेखि पनि आइस् भने ।।। ।’

म बिस्तारै सडकको ठूलो ढोकाबाट निस्केँ अनि भरिएका आँखाले ढोकाको डन्डीबाट भित्र हेरेँ । गौरी मतिर हेरिरहेकी थिई । ‘तिमी हाम्री दिदीआमाको घर नआऊ है, शङ्कर १ त्यो त बोक्सी बूढी’, गौरी हात हल्लाई – हल्लाई भन्दै थिई । दिदीआमा र गौरीको बुबा माथि बरन्डामा उभिरहेका थिए । ‘हेर मलाई गाली गरेकी रु यो मोरो माग्ने छिमेकमा, छोरी भाँड्न आँट्यौ तिमीले । छोटाको हावा लागेपछि बडाको स्वभाव कताबाट होस् रुयो छोटाहरुको टोल नछोडेसम्म यिनले छोड्ने होइनन्’, दिदीआमा बुबासँग भन्दै थिई ।
मेरो सानो मगजमा पनि त्यति बेला दुःख, क्रोध र क्षोभले एकै पटक भुमरी उठ्यो । के गरुँ । म ठूलो भइदिएको भए मधुकरको सुदर्शन चक्र ल्याएर ।।। । ‘मधुकरको हातको सुदर्शन चक्र बिजुली चम्केझैँ चम्क्यो । तत्कालै ती मालतीका राक्षसनी दिदीहरु समुद्रको पेटमा ।।।’ आमा भन्नुहुन्थ्यो अनि म मालतीका दिदीहरुको ठाउँमा गौरीकी दिदीआमालाई हेर्न इच्छा गर्थे । बोक्सी बूढी ।
‘गौरी, तिमी मकहाँ आउँछ्यौ रु ।।। आऊ है त रु’, म कराएँ ।
‘ल ल, म भोलिपर्सि आउँला ।’
म त्यहाबाट आफ्नो घरतिर आएँ मन त त्यसै भरिएको छँदै थियो, आमाका अगाडि पुग्नासाथ मुटुको भक्कानो त्यसै फुट्यो । म आमाको काखमा घोप्टो परेर रुन थालेँ ।
‘किन बाबू, के भयो रु’ आमाले अनौठो मान्नुभयो ।
‘त्यै गौरीको दिदीआमा बूढीले त हो नि अर्कालाई लडाइदिई अनि गौरीसँग खेल्न नआउनू भनेर गाली गरी ।’, म कोक्किईकोक्किई बेलिविस्तार लाउन थाले ।
‘तँ अर्काकहाँ खेल्न किन गएको त रु आफ्नो घरमा खेल्नु नि १’ आमाले त्यति मात्र भन्नुभयो तर एकै क्षणका लागि उहाँको अनुहार विकृत भयो । ‘उनीहरु ठूलाबडा मान्छे, उनीहरुकहाँ नजानू ।’

तर, उनीहरु किन ठूलाबडा, हामी किन छोटा रु यो प्रश्न त्यति बेला मेरो गिदीमै चढ्न सक्तैनथ्यो । गौरी त ठूलाबडा होइन नि १ ऊ त गौरी नै हो । ।।।ऊ त मैजस्ती हो, ठूलाबडा कसरी हो रु ।।।
त्यसै दिन बेलुकी मलाई किनकिन जाडो लागेर आयो । मैले आमालाई बताएँ । आमाले मेरो निधार, गाला एकएक गरी छामेर मलाई ओछ्यानमा सुताएर सिरकले गुटुमुटु पारिदिनुभयो । मैले उठ्न खोज्दा मलाई त्यसो गर्न दिनुभएन । बेलुकी बाबा आउनुभएपछि आमाले बासँग भनेको मैले सुनेँ – ‘छोरालाई त बेफुङको जरो छ ।’
म रातभर इन्तु न चिन्तु रहेँ । भोलिपल्ट बिहान मलाई मेरो शरीर कस्तोकस्तो लाग्यो । गौरीकहाँ पुग्न मेरो प्राण छट्पटाउन थाल्यो तर उठ्न खोज्दा मलाई तिघ्रा कामेझैँ लाग्यो अनि मैले हिजो आमाले बाँसग भनेको सम्झैँ । मलाई बेफुङको जरो छ रे १ मलाई जरो छ तर गौरीसँग खेल्ने इच्छा पनि सानो छैन । गौरी त्यति बेला के गरिरहेकी होली रु ।।। ऊ बगैंचाको चौतारामा बसेर पोखरीको माछालाई स्याबजी दिइरहेकी होली । ।।। म जबरजस्ती उठ्न खोजेँ । त्यसै बखत आमा टुप्लुक्क आइपुग्नुभयो र मलाई फेरि ओढ्नेले गुटुमुटु पारेर सुताउनुभयो तर मेरो मन भने गौरीको वरिपरि मडारिरहेको थियो । गौरी साँच्चै त्यति बेला के गरिरहेकी होलीरु साँच्चै ऊ केँवराको पातमा जाईको फूल टिपेर मलाई पर्खिरहेकी भए रु।।।
‘आमा, म गौरीकहाँ नगए गौरी यहाँ आउँछे रु हो आमा ।’, मैले आमासँग सोधेँ ।
‘हो आउँछे, लौ ज्ञानी भएर सुत ।’, आमा जानुभयो । अब मलाई अलि ढुक्क भयो । म ज्ञानी भएर सुतिराखे गौरी आउँछे । अनि म आमाले भन्नुभएजस्तै ज्ञानी भएर सुतिरहेँ तर तीन–चार दिन ज्ञानी भएर सुत्दा पनि गौरी आईनन् ।
‘आमा, गौरी किन आइन रु’
‘आउँछे, आउँछे, लौ चुप लागेर सुत्, ज्ञानी भएर ।’
म चुप लागेर पनि सुतेँ तर गौरी आइन । बिहान उज्यालो बोकेर आउँथ्यो तर गौरी आइन । किन आइन गौरी रु लाग्दथ्यो अनि मुरली बजाउँथे । त्यो मुरलीको स्वर सुनेर मालती आउँथिन् । आमा किताब पढेर भन्नुहुन्थ्यो तर मसँग त बाँसुरी छैन । त्यसैले गौरी आइन । मुरली बजाएपछि गौरी पक्कै आउँछे तर खोइ मसँग मुरली रु।।।

‘आमा १ हामीलाई मधुकरको मुरली ल्याइदिनोस् न १ म पनि बजाएर गौरीलाई डाक्छु । ।।। मुरली बजाएपछि गौरी आउँछे हगि आमा रु’

मेरो कुरा सुनेर आमा मलाई अनौठोसँग हेर्नुहुन्थ्यो । मानौँ म उहाँको छोरो नभएर कुनै जन्ममा पनि नदेखेको नौलो र अनौठो जन्तु हुँ तर मुखले भने केही पनि बोल्नुहुन्नथ्यो । दुई–चार दिन त आमाले यसै गरी नबोली टार्न खोज्नुभयो तर अन्तमा मेरो ढिपी यतिसम्म बढ्यो कि उहाँले हाम्रै छिमेकका पराजुली पण्डितको गाई चराउने गोपेलाई भनेर एउटा मुरली बनाएर नदिई सुखै पाउनुभएन । म पनि अब मुरली पाएर आफूलाई मधुकर राजा नै सम्झन थालेँ । अब के छ र रु भरे साँझ हुन्छ अनि मैले मुरली बजाएँ कि त गौरी दौडेर आई १ बस् त्यो सन्ध्याको प्रतीक्षामा मेरो मुटु उफ्रन थाल्यो । सन्ध्या आई कि त गौरी पनि आई । बिस्तार–बिस्तार त्यो प्रतीक्षाको घडीको अन्त भयो । बिस्तारै सन्ध्याले मेरो झ्यालभित्र खुट्टा हाली अनि बिस्तारै ऊ त्यहाँबाट भागी पनि । मेरो हृदयले धैर्य छोड्यो । अब मैले मुरली बजाएँ कि त गौरीले कोठाभित्र पाइला टेकी ।

साँच्चै नै त्यो सन्ध्याको धमिलोमा मेरो एकान्त कोठामा मुरलीको स्वर फुट्यो । मेरो सास मुरलीमा प्राण फुक्दै आँखा ढोकाबाट पस्ने गौरीको प्रतीक्षामा थियो । अब आई गौरी, अब पसी गौरी । म मुरली जोरजोरसँग फुक्न थालेँ । मेरो घाँटी सुकेर सास भित्रै रुमल्लिन थाल्यो तर गौरी आइन । मेरो आँखा ढोकैमा टाँसिन पुगे तर गौरी आइन । मैले अरु जोरले मुरली फुकेँ । मुरलीबाट घाँटी सुकेको मानिसले चिच्याएजस्तो स्वर निस्क्यो, तर गौरी आइन ।
तीन दिन मुरलीले चिच्याएर डाक्दा पनि गौरी आइन । बिस्तार–बिस्तार मन मुरलीबाट मरेर गयो । मुरली त्यसै छेउमा मिल्किरहन्थ्यो तर उठाएर त्यसमा प्राण भर्ने इच्छा हुँदैनथ्यो । गौरी आइन । मुरलीको स्वरले पनि ऊ आइन १ मलाई ज्यादै नरमाइलो लाग्यो ।
‘आमा गौरी आइन, किन आइन रु’, म आमासँग बरोबर सोध्थेँ ।आमाले के जवाफ दिने रु आमा मलाई भरिला आँखाले हेर्नुहुन्थ्यो । एकदिन बिहान उठ्दा मैले मेरा तिघ्रा पहिलेजस्तो कामेको अनुभव गरिन । आँखा पनि तिर्मिराएझैँ पाइन । मनमा अपार आनन्द भयो । अब गौरी मकहाँ नआएर के भो त, म गौरीकहाँ जान सकिहाल्छु नि १ मेरो मन अब आमालाई कुर्न थाल्यो । आमा आएपछि सोधेर गौरीकहाँ जान । ‘आमा अब त गौरीकहाँ जाने है रु मलाई अब निको भयो हगि रु’, आमा आउनासाथ मैले सोधेँ ।
‘लौ–लौ अब २ दिनपछि जाउला,अहिले चुपचाप लागेर सुत’,आमाले भन्नुभयो । तर, मलाई लाग्यो त्यो २ दिन यति टाढा छ कि त्यसलाई हात पसारेर पनि भेट्टाउन सकिँदैन ।
‘हो आमा, पर्सी है त १’
‘लौ–लौ पर्सी’, आमा आफ्नो काममा लाग्नुभयो । आधि खुसी र आधि अधैर्यले म गौरीकहाँ जाने प्रतीक्षा गर्न थालेँ । पर्सी अब सूर्यको किरणको सुनौला घोडा चढेर बिहान हाम्रो आँगनमा ओर्लन्छ अनि म गौरीकहाँ दौडन्छु । तर, यतिका दिनपछि उसकहाँ जाँदा एउटा घोडा लिएर जान पाए ऊ कति दंग पर्थी रु उसले यतिका दिन किन नआएको भनेर सोध्न पनि सक्दिन । सोधे पनि के त रु यही घोडा लिन गएको भनेर अनि ऊ छक्क पर्छे कति मज्जा हुन्छ १ कत्ति मज्जा १ बस् घोडाको धुन चढ्यो ।
‘आमा, बालाई हाम्लाई मधुकरको घोडा किन्न भनिदिनुस् न १’, त्यसदिन मैले आमासँग आफ्नो अनौठो माग पेश गरेँ । मेरो अनौठो मागले एकपटक त आमा लाटीजस्तै हुनुभयो । तर, उहाँ केही पनि बोल्नु भएन ।
‘आमा, है भन्या, हाम्लाई मधुकरको घोडा क्या’, मेरो जिद्धी रात जतिजति छिप्पिन्थ्यो,त्योसँगै उतिउति छिप्पिन्थ्यो । आखिर मेरो मनमा मधुकरको घोडामा चढाएर गौरीलाई बालदमाथि उडाउने कल्पना मेरो मनमा यति गहिरोसँग बसेको थियो कि, त्यसलाई ब्रह्माले पनि उडाउन सक्ने थिएनन् ,भन्ने लाग्छ आज । त्यसमाथि मलाई पर्सी गौरीकहाँ जानु थियो । पर्सी जाँदा उसलाई घोडा दिन नपाए त के रमाइलो रु त्यसैले मेरो जिद्धी ज्यादै बढ्यो । यतिसम्म कि आमा पनि ज्यादै दिक्क हुनुभएछ । त्यसै राति मैले सुनेँ, आमा बुबासँग भन्दै हुनुहुन्थ्यो,‘यो बिरामी भएपछि कस्तो जिद्धीवाल भएको छ भने हैरान बनाइसक्यो,आज बिहानदेखि घोडा–घोडा भनेर टिक्नु खानु छैन ।’
‘के घोडा रु’, यो बाको स्वर थियो ।
‘कुन्नी, के घोडा रे, अस्ती मधुकरको मुरली भनेर तमास ग¥यो, एउटा बनाउन लगाएर दिएँ,दुई दिन बजाएर कता फ्याँक्यो, अब आजदेखि घोडा ।’
यो सब संगत गुनाको फल हो, ठूलाबडाको संगतको विष त महामारी फैलेजस्तो पो फैलन्छ त,यसले हामीजस्ताको त प्राण नै चुस्छ । ठूलो घरको हावाबाट जतिसक्दो परै राख्न खोज्यो, मान्दिनौ तिमी, यसैगरि भोली अर्को केही माग्न थाल्यो भने १’, बाको स्वर बिल्कुलै ओइलायो ।
‘के गर्नु केटाकेटी,त्यहीमाथि बिरामी, आजसम्म केही दिन पनि सकियाछैन ।’, आमा र बाको कुरा के हो मैले जति गरे पनि बुझिन । र, बुझ्ने चासो पनि थिएन । उहाँहरुको कुराबाट मैले यत्ति बुझेँ, आमाले बासित भनेर मलाई मधुकरको घोडा किनिदिन लगाइ छाड्नु्हुन्छ । आफूलाई त्यतिभन्दा बढी बुझ्न्ुपर्ने कुरा पनि के थियो र रु बस्, अब घोडा आयो, पर्सी म गौरीकहाँ पुगेँ,कति आनन्द १ नभन्दै त्यसको भोलिपल्ट आमाले मेरो हातमा घोडा ल्याएर दिनुभयो । सानोसानो निरपाने रंगको सुन्दर वायूपंखी घोडा तर प्लाष्टिक आलुको । मेरो मन केही खिस्रिक्क भयो । ख्यालख्यालको त गौरीसँग बाइसाइकल नै छ नि । तर,तत्कालै मेरो मनमा अभिमान आयो । कहाँको घोडा, कहाँको त्यस्तो जाबो बाइसाइकल । अब रह्यो,साँच्चीको कि ख्यालख्यालको, साँच्चीको घोडा त उ त्यो बादलमाथिको सहरमा पो छ त । जसलाई म ठूलो भएपछि गएर ल्याउँछु ।अहिले त म केटाकेटी नै छु, यसले भइहाल्छ नि १‘तिमी क्या अहिले त केटाकेटी नै छौ’, गौरी पनि मलाई त्यसै भन्थी । आखिर त्यो लामो पर्खाईको पनि एकदिन अन्त्य भयो । सूर्यले बिहान ल्याउनुभन्दा अगाडि गएर मैले आमालाई झिँझोलेँ ।
‘आमा, आज पर्सी होइन, हामी गौरीकहाँ जाने है आमा, है आमा है । ’
‘अहिले हैन, २ दिन पख ।’
अब आमाको २ दिनलाई मान्यता दिन मलाई किन जरुरत थियो र रु अहिले मेरा खुट्टा काप्दैनथे, आँखा तिर्मिराउँदैनथे । सबैभन्दा ठूलो कुरा के भने गौरीलाई पनि जिल्ल पार्न मसँग घोडा थियो । सानोसानो निरपाने रंगको सुन्दर प्लाष्टिकको वायूपंखी घोडा । बस् म बेलुकीपख त्यसैलाई काखी च्यापेर उसको घरतिर दौँडे । वैशाख महिनाको सिरसिरेले मेरो मन र शरीर दुबै फुर्तिलो थियो । मेरो घरबाट गौरीको घर त्यही पाँचसय हात पनि पुग–नपुग होला । मलाई त्यति जाबो पार गर्न कति लाग्दथ्यो र रु एकैसासमा प उसको सडकको ठूलो ढोकामा पुगेँ । आज मलाई त्यहाँको रमझम देखेर अनौठो लाग्यो । ढोकाको दुबैतिर अबिर फूलले पूजा गरेर चादीको भरिएको गाग्री राखेको मैले कहिल्यै देखेको थिइन । आखिर के हो त रु कौतुहलले पहिलो बेग रोकिएको तर जिज्ञासाको दोस्रो बेगले तानिएको मैले ढोकैको छेउमा उभिएको बगैचे शिवको छोरा गोरेलाई सोधेँ,‘किन गोरे दाई, के गर्ने त्यसले,किन राखिएको रु’
‘तिमीलाई किन, सानो मैयाहरु जाने के १’,गोरेले जर्कटिएको स्वरमा भन्यो । उनीहरुको व्यवहार पनि मप्रति रुखो दिदीआमाकै ढंगको हुन्थ्यो । भैगो, यो व्यवहारसँग आफूलाई कुनै मतलव थिएन । मेरो कानमा त गोरेको त्यही जवाफ गुञ्जिरहेको थियो,‘सानो मैया जाने ।’ कहाँ जाने रु मनमा खुल्दुली लिएर म भित्र जान बढेँ । तर, सिंगै ढोकेले मलाई रोक्यो ।
‘भित्र जान हुन्न, मैया अहिले यहीँ आउँछ ।’
म विमुढ भएर त्यहीँ उभिइरहेँ । त्यसबेला एउटा नयाँ मोटर भित्रबाट ढोकातिर बग्दै आयो । ढोकामा आएर थामियो । मैले देखेँ, गौरीका बुबा गाग्रीमा पैसा हाल्न लागे । गौरी मोटरभित्र थिइ ।
‘गौरी १’ म मोटरतिर हुत्तिएँ । अनि झ्यालमा झुण्डिँदै कराएँ,‘हाम्ले घोडा ल्याछ बाबै, मधुकरको घोडा ।’
खै रु’ गौरी खुसी र उत्सुक भएर मतिर झम्टी मैले काखीबाट घोडा निकालेँ र उतिर लम्क्याएँ । तर, एक्कासी ममाथि धक्का लागेझैं भयो । म पर पछारिएँ । मेरो घोडामा मबाट १० हात पर सडकमा पछारियो । मैले झटपट भुइँबाट उठी धूलो टक्टक्याउँदै उता हेरेँ ।मोटर बिस्तारै बग्दै थियो । झ्यालमा उभिएर मतिर हेरिरहेकी गौरीलाई एउटा जर्खरिएको आइमाइले मोटरभित्र घिच्यायो । देख्दादेख्दै सडकको बीचमा असहाय लोटिरहेको मेरो निरपाने रंगको सुन्दर वायूपंखी घोडालाई आफ्नो भयानक पाङ्ग्राले किचिमिची पार्दै मोटर अगाडि बढ्यो । त्यसैबेला मेरो कानमा आवाज आयो–
‘ शंकर, यो क्या छोटाहरुको छिमेक रे । हाम्री दिदी आमाले भन्या, साँच्चै । यहाँका छोटाहरुको संगतले म बिग्रेको रे क्या, त्यसैले हामी घर सरेको । हो साँच्ची ,अब म आउन्न, तिमी पनि नआऊ है हाम्रो घरमा , पर मधेशमा । गौरी मोटरभित्र दिदीआमाको हातबाट छुट्न खोज्दै हात हल्लाएर भन्दै थिइ । उसको स्वर बिस्तार मलिनिँदै गयो । किन किन त्यतिबेला मलाई भित्रैदेखि रोऊँरोऊँ लागेर आयो । अब गौरी यहाँ कहिल्यै आउन्न । मेरो आँखा आँशुले धमिलो भयो । त्यही धमिलोमा मैले हेरेँ–पर आफूभित्र गौरीलाई, मेरी मालतीलाई पचाएको कालो भयंकर दानव मोटर सडकको छातीमा चिप्लिँदै थियो अनि त्यहाँ सडकको बीचमा मेरो सानो निरपाने रंगको सुन्दर आलुघोडा घोडा,मधुकरको त्यो वायूपंखी घोडा कालो दानवको भयंकर पाङ्ग्राले किचिमिची भएर लुटिइहेको थियो ।
(विरानो देश कथा संग्रहबाट )
कथाकार परिचय
रमेश विकल ९वि।सं। १९८५–२०६५० प्रसिद्ध आख्यानकार हुन् । उनले नयाँ सडकको गीत, आज फेरि अर्को तन्ना फेरिन्छ, एउटा बूढो भ्वाइलिन आशावरीको धुनमा, उर्मिला भाउजु, शव सालिक र सहस्रबुद्धजस्ता कथासङग्रह र अबिरल बग्दछ इन्द्रावती, सागर उर्लन्छ सगरमाथा छुनजस्ता उपन्यासको सिर्जना गरेका छन् । सामाजिक यथार्थतालाई टिप्दै त्यसप्रति आलोचनात्मक दृष्टि राख्ने विकलका कथामा प्रगतिशील चेतना पाइन्छ । उनी सामाजिक जीवनको यथार्थ चित्र उतार्न सक्ने सशक्त कथाकार हुन् । उनले बाल–मनोविज्ञान तथा निम्न वर्गका बालबालिकाको जीवनका विविध अवस्थाको चित्रण गरेर प्रशस्त कथा लेखेका छन् । उनको ‘मधु–मालतीको कथा’ मा पनि यही विशेषता पाइन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->