बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

पर्वतमा प्रचण्ड र ओली पक्षका कार्यकर्ताबीच शक्तिको प्रतिष्पर्धा

पर्वतमा प्रचण्ड र ओली पक्षका कार्यकर्ताबीच शक्तिको प्रतिष्पर्धा


  • संजय रेग्मी
  • पुष ७ २०७७, मंगलबार

पर्वत, ७ पुस– आईतबार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि देश राजनीतिको रापमा परेको छ । संसद् विघटन भएपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षका नेता तथा कार्यकर्ताको जमात एकातर्फ एकत्रित भएको छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेता तथा कार्यकर्ताको अर्को जमात छ ।
पछिल्लो समय नेकपाभित्र भइरहेको खटपटले नेता र कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा त विभाजित गराएको थियो नै अब भने भौतिक रूपमै विभाजन देखिएको छ । यही सिलसिलामा दुवै पक्षले पर्वत सदरमुकाम कुस्मा बजारमा आइतबार र सोमबार नाराबाजी गरे। यसलाई धेरैले शक्ति प्रदर्शनको रूपमा पनि व्याख्या गरेका छन् ।
संसद् विघटनको विरोध गर्दै आइतबार साँझ अनेरास्वबियू पर्वतको नेतृत्वमा नेकपाको पार्टी कार्यालय नजिकै मैत्री चोकबाट सुरु भएको विरोध ¥याली शिवालय चोकमा पुगेर कोणसभामा परिणत भयो । कोणसभामा बोलेका विद्यार्थी नेताहरूले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई मिचेको, देशलाई खाडलमा हालेको, पार्टीकै अन्य नेताहरूको कुरा नसुनी एकलौटी निर्णय गरेर अतिवादको ब्यहोरा देखाएको बताए । उनीहरूले प्रधानमन्त्रीको बिरुघमा नाराबाजी गर्दै पुत्ला समेत जलाएका थिए ।
प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले सडकमा देखाएको शक्ति नियालेका ओली पक्षधरका नेता तथा कार्यकर्ताहरूले सोमबार मोटरसाइकल जुलुस निकालेर आफ्नो पक्षको शक्ति देखाए । पार्टी कार्यालय नजिकैबाट मोटरसाईकलको हर्न बजाउँदै बजार परिक्रमा गरेका कार्यकर्ताहरू प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताहरूले कोण सभा गरेकै ठाउँ शिवालय चोकमा पुगेर कोणसभामा सहभागी भए । कोणसभामा बोलेका वक्ताहरूले प्रधानमन्त्री ओलीले लिएको निर्णय नै अहिलेको आवश्यकता रहेको भन्दै उनले चालेको कदमको विरोध गर्नुको कुनै तुक नरहेको तर्क गरे ।
दुईतर्फी शक्ति प्रदर्शन चलिरहँदा पनि यसलाई शक्ति प्रदर्शनका रूपमा भने नलिइएको नेकपाका नेताहरूको भनाई छ । नेकपा कुस्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीले यसलाई शक्ति प्रदर्शनको रूपमा भन्दा पनि सरकारले गरेका निर्णयको पक्ष र विपक्षमा भएको प्रदर्शन भन्न रुचाए । ‘यो निर्णय बदनियत पूर्ण तरीकाले भएको छ । यो अलोकतान्त्रिक पद्धति हो, संविधानमाथि कु गरिएको हो । संविधानमा संसद् विघटनको गुञ्जायस नै छैन, तर यो निर्णय भयो नि ! यो भनेको तानासाही प्रवृत्ति हो ।’ उनले भने, ‘संसद् विघटन त भएकै छैन । व्यक्तिले संविधान भन्दा माथि उठेर लहडको भरमा बोल्दैमा विघटन भएको हुँदैन । संविधानमै नभएको चिज ल्याएर, विश्वव्यापी प्रचलन हो भन्न पाइन्छ ? यहाँ बूढी मरी भन्दा पनि काल पल्केको पिर हो । चुनाव हुन्छ भन्ने कुनै ग्यारेन्टी पनि त छैन ।’
पार्टी फुट्न सक्ने सम्भावनाका बारेमा सोधिएको सवालमा उनले पार्टी फुटाल्न सम्भव नरहेको बताए । कम्युनिस्ट आन्दोलनको लागि पार्टी फुटाल्नु गलत हुने बताउँदै गिरीले पार्टी, देश र जनताको हितको पक्षमा काम नगर्नेहरू पार्टीबाट निक्लनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले संविधानमाथि ‘कु’ गरेको भनी गिरीले बताइरहँदा युवा सङ्घका केन्द्रिय सदस्य विमल लामिछानेले भने पार्टीभित्रैका नेताले चौतर्फी घेराबन्दीमा पारेपछि ताजा जनादेशमा जानुको विकल्प नरहेको दाबी गरे । देशको समृद्धिका लागि काम गर्दे गर्दै निहित स्वार्थको लागि प्रधानमन्त्रीलाई घेराबन्दीमा पारिएको उनको भनाई छ । नेकपाका सचिवालय सदस्य शिव पौडेलले दुई तिहाइको जनमतलाई प्रचण्ड–माधव समूहले सम्हाल्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->