बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

शब्दहरुको जहर

शब्दहरुको जहर


  • ईश्वरवल्लभ
  • पुष १८ २०७७, शनिबार

कविता पनि त
एउटा क्षोभ हो, तृष्णा हो
आदिवासी गुफा हो, र
भित्रसम्म ओर्लिन्छ, छुन खोज्छ
अक्षरहरूको भ्रान्ति चाक्षुष पन्नामा
मनमा तर
आभासहरूलाई छुन खोज्छ
अनुभव र आस्थाको सङ्गमर्मर
तोड्न खोज्छ
त्यसैले कहिले त अत्यन्त पीडा हो
अभ्यन्तरको निरीहता
निर्मम एकाकीपन,
निर्भय गहिराइ र अँध्यारोपन ।

जुन आद्य जङ्गल हो
केही नितान्त नाङ्गै परिधानहीन उभिन्छ,
आवरण छैन
कुनै कवच र
कुनै त्राण छैन,
भर्खरै आमाको गर्भबाट जन्मेको मेम्ना
सानो र मसिनो तृणले पनि
देह गहिरो बेच्छ
मासु बेच्छ उसको

अरुणा लामाले मलाई सोध्थिन्
किन मलाई सबैले दुःखी गीत मात्रै दिन्छ ?
उनका पीडाको दुःख मलाई बोकाउँछ ?
दाइ, उनका अक्षरहरूले मलाई सधैँ बेच्छन्
म पनि त
आह्लाद गाउन सक्छु! भन्थिन् ।

तर आफै पराई शब्दको जहरले निरन्तर
क्षतविक्षत छु
शब्दको जहरले विदीर्ण छु
आहत छु
विषपायी म, नीलकण्ठ पनि म
अक्षर बेच्छ म
अक्षर नै आज्तेकजस्तो
नितान्त क्रुर र सामन्त !

त्यसैले कवयित्री मोमिला पनि भन्छिन्
‘मेरो मन आदिवासी’
सायद यस्तै
त्यसैले म र मेरो जम्मै
अस्तित्व पनि आदिवासी ।

अक्षरले अचेल मलाई तीखो झीर घोच्छ
निरोको आगो र भ्वाइलिनको स्वर
अनि रोम सहरको मोन्टाज, इतिहासको
मेरै कविताले मलाई बेच्छ
आदिवासी मन बेच्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->