मैले पोहोर साल किनेको झोला फाट्यो
झोलासँगै मेरो मन फाट्यो
यसरी नै कैयौँ झोलाहरु फाटे, फेरिए
खै किन फाट्दैन पल्लाघरे दाईको झोला
म देख्छु –
पटकपटक चुहिएको
ठाउँठाउँमा च्यातिएको
टालिएको ,च्यातिएको
अनि टाल्न खोजिएको
त्यही बेकार भैसकेको
केही बोक्नै नमिल्ने
झोलालाई घिसारिरहेकाछन
सायद देखेका छैनन् किया देख्न चाहदैनन कि ?
झोलाले झोलाको कामना गरेको !
तर पनि किन फेर्दैनन् त्यो झोला ?
बाबुले पनि त्यही एउटै झोलाले चलाएथे चोला
दाजुले पनि छाड्दै छाड्दैनन् त्यै झोला
कैयौँ झोलाआए– गए
मैले रुख भएको झोला भिरँे
सूर्यको झोला पनि बोकँे
हसिया हतौडाको पनि लिएँ
मलाई जे भनेर झोला भिराइयो
कुनै पनि झोलाले
ती वाचा पूरा गरेनन्
जुन सपना, आशा लिएर
त्यो झोला भिरेथँे
सबै तुहिएर, टुटेर गए,
त्यति ठूलो, महङ्गो झोला भित्र अट्नै सकेनन्–
दुईचार विकास
उन्नतिका कागजहरु,
र त,आजभोलि वाक्क लाग्छ
ती झोलाहरुसँग
र झोला बेच्ने दलालहरुसँग
मलाई पुगिसक्यो यी झोलासँग
झोला भिर्ने झोलेहरुसँग
अनि बेच्ने दलालहरुसँग
मलाई अचम्म लाग्छ–
देख्दा बजारमा कामै नलाग्ने
थोत्रो झोलै झोलाका ताँतिहरु
त्यही बेकार झोलालाई
सिरोपर गर्ने हजुरबा अनि नातीहरु
चुहियोस, केही नअटोस्
आफ्ना झोला लतारिरहन्छन, छाड्नै सक्दैनन्
आफ्ना झोलाहरु पनि चुहिन्छन, यो त मान्नै सक्दैनन
अरुका झोलाको भने अैरो खन्छन,
मेरो झोला संसारकै राम्रो भन्छन
उस्तै परे भाईभाई फुट्छन्
झोलाकै निम्ति साथीभाई पनि छुटछन्
तर छाड्दैनन त्यो बोझलाई भिर्न
लतारिरहन्छन् , घिसारिरहन्छन्
देख्दैनन–
बोकेको झोलाले भ्रष्टाचार गरेको
गरीब निमुखामाथि अत्याचार परेको
सायद, त्यो झोला सुनले बनेको छ !
याझोला भित्र बहुमूल्य कुरा छ
जुनझोला भिर्नेले पाउँछ
खै किन आउँदैन त्यस्तो झोला जसमा यो देश अटाउँछ
जसले बन्दै गरेका बाटा बनाउँछ, र देशले विकास उन्नति पाउँछ ।
पर्वत बेनी, हाल ः अस्टे«लिया





