पोखरा, ६ माघ– नेपाल स्टारको फाइनल प्रतिष्पर्धी एलिना गुरुङको स्वागतार्थ मंगलवार पोखरामा सांगीतिक कार्यक्रम गरिने भएको छ ।
कार्यक्रम पोखरा–१२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा एलिना गुरुङ जिताऔं सहयोग समितिका संयोजक मेनकाजी गुरुङ, संरक्षकद्वय हुमबहादुर गुरुङ र मनकुमार श्रेष्ठ, आर्थिक विभाग प्रमुख कुमारी गुरुङले सांगीतिक कार्यक्रम एलिना जिताउनैका लागि भएको बताए । कार्यक्रममा एलिना गुरुङ, हार्मोनी समुहसहित पोखरेली कलाकारहरु प्रस्तुति हुने संयोजक मेनकाजीले जानकारी दिए । कास्की जिल्ला मादी गाँउपालिका वडा नं.२ ताङतिङ गाँउ भई हाल पोखरा महानगरपालिका वडा नं.१३, विपी मार्ग निवासी एलिना गुरुङलाई जिताउन नेपालसहित विदेशका २० वटा देशहरुमा सहयोग समिति गठन गरी भोटिङ र सहयोगका लागि जुटिरहेको उनले बताए ।





