सिनेमा मनोरञ्जनसँग जोडिन्छ । सिनेमाले कथा भन्छ र कथाले मान्छेको मन तान्छ । यो सबैले बुझेकै कुरा हो तर सिनेमामा देखिने ठाउँले पनि मान्छे तान्छ भन्ने तथ्यप्रति भने कमैले ध्यान दिन्छन् । यही सत्य बुझेर चलचित्र पत्रकार संघ कास्कीले ‘सिनेमा संवाद ःघान्द्रुक’ आयोजना गरेको छ । सोमबार संवादको लागि पुगेको टोलीलाई घान्द्रुकमा भव्य स्वागत गरिएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराएका छन् ।
उनले लामो समयको बन्दाबन्दीपश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा मंगलबार ‘सिनेमा टुरिजम ः सम्बन्ध र सम्भावना’ र ‘सिनेमा साहित्य ः सम्बन्ध र साझेदारी’ विषयमा बहस गरिनेछ । कार्यक्रममा चलचित्र, साहित्य र पर्यटन सम्बद्ध विद्धत व्यक्तिहरुले अन्तरक्रिया गर्ने उनले बताए । कार्यक्रममा कलाकार तथा चलचित्र निर्माता दीपकराज गिरी, चलचित्र निर्देशक सुदर्शन थापा, साहित्यकार गनेस पौडेल, साहित्यकार, भूषिता वशिष्ठ र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले आफ्ना विचार राख्नेछन् । सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, निर्देशक तथा कलाकार दिनेश डिसी र पत्रकार वाशुदेव मिश्र रहने छन् । ।गिरीका अनुसार ‘सिनेमा टुरिजम ःसम्बन्ध र सम्भावना’ विषयमा वक्ताहरु निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बहस गर्ने बताए । जसमा सहजकर्ताको भूमिकामा पोखरामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आएका वाशुदेव मिश्र रहनेछन् । सो सेसनमा चलचित्र र पर्यटनको अहिलेसम्मको सम्बन्ध र भविष्यको सम्भावनाको बारेमा बहस हुनेछ ।
यस्तै,‘सिनेमा साहित्य ः सम्बन्ध र साझेदारी’ विषयमा वक्ताहरु कलाकार दीपकराज गिरी, साहित्यकार गनेस पौडेल र साहित्यकार तथा कवि भूषिता वशिष्ठ रहने छन्। जसमा सहजकर्ताको भूमिकामा चर्चित संचारकर्मी, कलाकार तथा निर्देशक दिनेश डिसी रहनेछन् । साहित्य सिर्जना र चलचित्र निर्माणको प्रभावशाली क्षेत्र पोखरा भएकाले पनि आफुहरुले उक्त विषय रोजेको गिरीले बताए ।





