बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

देश अर्थात् देश खोइ ?

देश अर्थात् देश खोइ ?


  • बासु शशी
  • माघ २४ २०७७, शनिबार

यो देश अहिले आफ्नो गौरव गाथा
गाउने मुडमा छैन
यो देश अहिले आफ्नो इतिहास पल्टाइरहने
फुर्सतमा छैन
यो देशमा अहिले दुईवटा हिमालयहरू छन्
एउटा हिउँको हिमालय,
अर्को, मानवीय दुःख–दरिद्रताको हिमालय
पहिलो हिमालय यो देशवासीहरूलाई
विधवाको सेतो कपडा र फुलेको कपालजस्तै लाग्छ,
किनभने यिनीहरू अहिले भोका र नाङ्गा छन्
दोस्रो हिमालयले
यिनीहरूलाई खाइरहेछ
जसरी यिनीहरूका महापुरुषहरू
यिनका वर्ष दिनको भोजन पाइने मूल्यको
रक्सी एकै साँझमा सखाप पार्छन् ।

थाहा छ, यहाँ आउने विदेशीहरू
यस देशको सौन्दर्यले मुग्ध हुन्छन्,
यहाँ व्याप्त शान्तिले चकित हुन्छन्
कोही यस्ता पनि छन् जो भन्छन्
काठमाडौँ संसारको सबैभन्दा ठूलो पाइखाना हो
जे होस् तिनका दृष्टि किन
हामी आफ्नै आँखाले हेर्न सक्छौँ
हाम्रो जिन्दगीको बाजी राखेर
जुवा खेलिरहेछ अहिले यो देश
हामीलाई पनि हारेपछि
आफ्नै अस्तित्वको बाजी राख्नेछ यो देश ।

थाहा छ, यहाँ पनि फूलहरू छन्, फुल्छन्
तर, ती फूलका मालाहरू
तिनलाई लगाइदिइन्छ
जो हाम्रो मतबिनै हाम्रो प्रतिनिधित्व गरेको
दाबी गर्छन् र शासनको नाममा
शोषण गर्छन् र हामीलाई हाडखोर बनाउँछन्
हेर्नोस्, रुग्णताले निस्तेज आँखाले
फूलको सौन्दर्य त के फूलै पनि देख्न सक्दैन ।

काखमा मरेको बच्चा राखेर कुनै आमा
देवताको पूजा पनि गर्न सक्दिन
ज–जसका खेत र खलियानहरू लुटिए
तिनले कसरी मान्ने
यो देशमा कानून छ र न्याय हुन्छ ?
जसको हातमा कुनै काम पर्दैन
र माम नपाई सुत्न नसकेर टोलाइरहन्छ
उसले कसरी देख्ने–
यो देश सुन्दर छ ?
जतिखेर हामीलाई थाहा छ,
यहाँ झुटो नबोली काम चल्दैन
बेइमानी नगरीकन, अरू त अरू छाकै टर्दैन
आत्मा र अहंलाई नदबाई टिक्नै सकिँदैन
हो, यो सर्वनाशको सलह लागेको बेला
यो देश बालीनालीको गीत कसरी गाओस् ?
यो द्रौपदीको चीरहरण भइरहेको बखत
मानवीय मूल्यहरूको जयजयकार कसरी गरोस् ?
(आखिर महाभारत हुन्छ भन्ने थाहा छ,
जित अर्जुनकै हुन्छ भन्ने पनि थाहा छ)
तर, कमसेकम यो, मानिसको आत्मा पनि मरेको बेला
यो देश आफ्नै गौरवगाथा गाउने मुडमा छैन
यो देश आफ्नै
इतिहास पल्टाइरहने फुर्सतमा छैन ।

विडम्बना हेर्नोस्,
छिमेकीहरू आउँछन् र भन्छन्
यो त हङकङ रहेछ
यसै देशका निवासीहरू देख्छन्
केही पनि छैन
जे छन् ती तिनका पहुँचदेखि टाढा छन्
के त यो देश
नागरिकहरूको देश होइन, एउटा बजारमात्रै हो ?
पसलहरूको एउटा समूहमात्रै हो ?
यो देशसित एउटा गौरवगान होइन,
यो देशलाई कसले एउटा बजार बनायो भन्ने प्रश्न छ,
यस देशलाई एउटा देश हुनुको मर्यादाबाट
कसले च्युत ग¥यो भन्ने प्रश्न छ
हुन पनि साँच्चासाँच्चै आफ्नै देश हो भने मानिसहरूले
यहाँ बस्ने ठाउँ पाउनुपर्छ,
यहाँ कमसेकम खान–लाउन त पाउनुपर्छ ।

थाहा छ, ती मानिसहरूले नै पुल बनाएका हुन्
म तिनको श्रमको प्रशंसा गर्छु,
तर थाहा छ ? तिनीहरूले ती पुलहरू कहिल्यै तर्न पाएनन्
धेरैजसो पुलमुनि झुन्डिएर मरे–
डोरी चुँडियो, खोलाले बगायो र कसैले थाहा पाएन
(कसैले थाहा पाउने जरुरतै ठानेन)
थाहा छ, यिनीहरू नै नभए
नेपाल एउटा देशै मानिँदैन
(थाहा छ, सय–पचास ब्वाँसाहरू कुदाकुद गर्दैमा
नेपाल एउटा देश मानिने होइन)
तर, यिनै देश बनाउनेहरूको देश खोई ?
देश अर्थात् जीवनयापनको ग्यारेन्टी,
देश अर्थात् जीउज्यानको सुरक्षा,
देश अर्थात् सामाजिक आवश्यकताहरूको परिपूर्ति
यस्तो कृतघ्नताका बेला
यो देशलाई पालनपोषण र परिमार्जन गर्नेहरू
तिरस्कृत र घृणित रहनुपरेका बेला
यो देश अहिले आफ्नो गौरवगाथा गाउने
मुडमा छैन
यो देश आफ्नो इतिहास पल्टाइरहने
फुर्सतमा छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->