धनगढी, ५ फागुन – बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ ।
प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएको र पहिल्यै बाटोमा कुरेर बसेको खुलेका हो । दिनेश र भागरथी दिदीभाइ हुन् । भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा पढ्थे । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा। तर, माघ २१ गते दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरू बताउँछन् । स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो ।
उनी २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् । मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताउँदै आएको छ ।
तर, हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ । घटना २१ गते दिउँसो २स्४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो ।
उनलाई अभियुक्तको रुपमा बुधबार दिउँसो करिब २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरी बताएको छ ।
पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो, ुम बाटोमा पहिल्यै बसेको थिएँ। भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन्। सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ। उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।उनले भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दिएको छ ।हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन्। त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए ।
भागरथी हत्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी, जिल्ला प्रहरी कार्यालय बैतडीको विशेष टोली खटिएको थियो ।-थाहाबाट





