बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनु मञ्जिलका दुई कविता

मनु मञ्जिलका दुई कविता


  • मनु मञ्जिल
  • चैत्र ७ २०७७, शनिबार

१.दुश्मन

मेरो एउटा दुश्मन छ
जो मलाइ फोहर जत्तिकै घृणा गर्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु

ऊ मेरो अनुहारमा घाम नउदाउनु भन्छ
मेरो बगैंचामा बसन्त नआउनु भन्छ
मेरो घरका झ्याल ढोकाबाट हावा नपस्नू भन्छ
मेरो आँगनका फुलले नमगमगाउनू भन्छ
मेरा बालबचेराले उसले सुन्ने गरि नकराउनू भन्छ
उसलाइ दुख्ने गरि नरमाउनू भन्छ

उ आफ्नो घरको बार्दलीमा बस्छ
र, परबाट बाटो हिंड्ने जो कोहीलाई
मनमनै मेरो घर नपस्नू भन्छ
कोसेलि वा उपहार बोकेका कोही नपसून् भन्छ
मन्दिरबाट आशीर्वाद लिएर फर्केका बूढाबूढीलाई
मेरो घर अघाडिको चौतारामा नबसून भन्छ

उसलाइ मेरो घरमाथि चरा बसेको मन पर्दैन
जुन मेरो छानामाथि बसेको
मेरा खेतबारीमा भाग्य लहलह झुलेको
आँपका रुखमा आशाका फूलहरु फुलेको
कुलाका पानि मेरो गैह्रीखेतमा डुलेको
उसलाइ केही मन पर्दैन

यो बर्षात किन मेरो घरको छानो भत्काउँदैन
पल्लो गाँउको खोलो किन मेरो घरको बाटो आँउदैन
आगो किन यसरी अँगेनामा चुपचाप छ
किन झिल्को जुनकिरी जस्तो माथिमाथि उड्दैन
किन केही जलाँउदैन ?

ऊ मेरो सपनामा मरुभुमि पसोस् भन्छ
मेरो घरमा आँधी आएर बसोस् भन्छ
राति चोर आएर भकारीमा घुसोस्
मेरा ओठबाट मुस्कान उडेर बालुवामा गइ खसोस् भन्छ
तर म उसलाई फुल जत्तिकै मन पराउँछु
यत्रो दुनियामा उ बाहेकको अरु
मेरो साथि, सगोत्रि
आफ्नो, अर्को
ठूलो, सानो
परिचित, अपरिचित
एउटै कतै कोही छैन
जसले आफ्नै रहर र सपना भुलेर
घाम, पानि, फूल, जुन र चराहरु भुलेर
घर, धर्ती र आकास भुलेर
म बारे यति बिघ्न सोचोस्
मलाइ यति बिघ्न सम्झोस्
दुश्मन नहुनु भनेको त
आफूतिर हरदम फर्किरहने
जीवनको एउटा पाटै नहुनु रहेछ

म उसलाई फुल जत्तिकै मन पराउँछु !

२. पहराको साँघुरो बाटो

पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो

सोचेको थिएँ,
हाम्रो भेट कुनै सहरतिर हुन्छ होला
सोचेको थिएँ,
हाम्रो भेट गाउँतिर हुन्छ होला
मैले त चौतारो सोचेको थिएँ
कुनै देउराली सोचेको थिएँ
नभए सपनामा भेटँुला
नभए सम्झनामा भेटँुला

तर कहिल्यै नसोचेको
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो

बाटो साँघुरो भएरै,
हजुरलाई छुन पाइयो
यसो पन्छिएर हजुरको यात्रालाई,
बाटो दिन पाइयो
बाटो साँघुरो भएरै
हजुरसँग एकक्षण सँगै उभिन पाइयो
हजुरलाई भेटने कत्रो रहर मेरो
पूरा गर्न पाइयो

जीवनमा चौडा सडक नै
जम्मै यात्रा होइन्
जीवनमा खुल्ला मैदान मात्रै
खुसीको परिभाषा होइन्

जस्तो कि,
पहराको साँघुरो बाटोमा
हजुरसित भेट भएथ्यो
अनेक फराक संसार गएँ,
जो कहिल्यै सम्भव भएन !!

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->