पोखरा, ८ चैत्र– इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त गण्डकी प्रदेश विद्यालयस्तरीय चित्र प्रतियोगिता गरेको छ । ‘क्यानभााषमा बाल मनोविज्ञान’ शीर्षकमा २ चरणमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा कुमदिनी होम्स माविका युकेश सुनार प्रथम, हिल प्वाइन्ट माविका सपना नेपाली द्वितीय, कास्की मोर्डनाइज्ड एकेडेमीका जेसिका तिलिजा पुन तृतीय र गण्डकी बोर्डिङ स्कुलका स्वरुप माकाजुले सान्त्वना स्थान लिए ।उनीहरुले क्रमशः ९ हजार, ६ हजार, ३ हजार र एक हजार रुपैयाँ प्राप्त गरेका थिए ।
प्रतियोगिताको पहिलो चरणमा १ सय ९७ जना कलाकारले भाग लिएका थिए । उनीहरुबाट उत्कृष्ट १२ प्रतियोगीलाई दोस्रो चरणका लागि छनोट गरिएको थियो । छनोटमा परेका प्रतियोगीलाई कार्यक्रमस्थल मै चित्र बनाएका थिए । तत्स्थानमा चित्र कारिरहँदा नै त्यसको मुल्यांकन गरी उत्कृष्ट छनोट गरिएको आयोजकले जनाएको छ । विजेताबाहेकका प्रतियोगीलाई मायाको चिनो र प्रमाणपत्र दिइएको थियो ।
कार्यक्रममा कवि तथा कलाकार रमेश श्रेष्ठले विद्यालयहरुले कलाक्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन, अध्यापन गराउनु प्रशंसनीय काम भएको बताए ।‘कला र शिक्षा फरक भएको र शिक्षाले भन्दा पनि बढी जिवनको ज्ञान कलाले दिनसक्छ,’ उनले भने । प्रतियोगितामा निर्णायकको भूमिकामा वरिष्ठ चित्रकार कृष्ण मर्सानी र मनोज तामाङ थिए ।निर्णायक संयोजकसमेत रहेका मर्सानीले कलालाई निरन्तर साधना गर्न सक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असरदार काम गर्ने बताए ।
लायन्स क्लबका अध्यक्ष सुनिलकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमको सन्चालन प्राञ्जलले गरेका थिए ।





