पोखरा, १५ चैत– पोखरा–१,गाईघाटमा गाइघाटमा वडाध्यक्षकै मिलेमतोमा सार्वजानिक जग्गामा घर ठडिएको छ । वडाध्यक्ष सारदा पराजुलीले आफ्नो घरकी सहयोगी स्यानीकान्छी सुनारलाई सार्वजनिक जग्गामा घर बनाउन दिएकी हुन् । गाईघाट धार्मिक क्षेत्र विकास समितिले भोगचलन गर्दै आएको सो क्षेत्रको ९ आना ३ दाम क्षेत्रफलमा स्यानीकान्छीले घर बनाइएकी हुन् ।सार्वजनिक जग्गा मिचिएको उजुरी गर्दापनि वडाध्यक्ष पराजुलीले ध्यान नै नदिएको स्थानीयको गुनासो छ ।
वडाध्यक्ष पराजुलीले भने सार्वजनिक जग्गामा भएको अनधिकृत निर्माण रोक्ने प्रयत्न गरेको दावी गरेकी छन् । ‘हामीले दुई–तीनपटक रोकेका हौँ, जतिबेला पनि गएर बस्ने कुरा हुँदैन’, उनले भनिन्,‘हामीलाई कुनैपनि निवेदन परेको छैन, मौखिक रुपमा भने उजुरी आयो होला ।’ उनले गाईघाट क्षेत्र विकास समितिले कुनै उजुरी नदिएको पनि दावी गरिन् ।
पोखरा महानगरपालिका नगर प्रहरीका सई पुरुषोत्तम थापाले सो घर पहिल्यै बनेको र अहिले मर्मत गरिएको दावी गरे । ‘सुकुमबासी आयोगको पत्र पनि रहेछ । पुरानो घर निमार्ण गरेको भन्ने आयो’,उनले भने,‘हामीले वडाको स्वीकृति लिएरमात्र निमार्ण गर्न भनेका छौँ ।’
कमिसनमा काम
वडाध्यक्ष पराजुली जनताको कामभन्दा ‘कमिसन’ मा रमाउने गरेको पनि स्थानीयले आरोप लगाएका छन् । वडाले
२०७६ साल जेठ १८ गते ‘सरसफाइमा आमाहरु कार्यक्रम’अन्तर्गत सरसफाइमा प्रयोगहुने सामाग्रीहरु वितरण ग¥यो । वडा परिसरमै भएको कार्यक्रमपछि असार २३ र माघ १० गते खर्च रकम भुक्तानी दिन महानगरलाई पत्र पठाइयो । प्रशासन अधिकृतलाई सम्बोधन गरिएको पत्रमा ३ लाख ९२ हजार २ सय ५० रुपैयाँ खर्च भएको भन्दै भुक्तानी मागिएको थियो ।स्थानीयले कार्यक्रममा अनियमितता भएको भन्दै महानगरमा निवेदन दिएकाले भुक्तानी रोकियो । मेयर मानबहादुर जिसीले सम्पूर्ण कागजपत्र मगाए । खर्च पारदर्शी नभएकाले एक वर्षसम्म भुक्तानी रोकियो । तर, वडाध्यक्षको तारन्तारको दवावपछि महानगरपालिकाले २ लाख ८७ हजार सय ६६ रुपैयाँ भुक्तानी गरिदिएकको महानगर स्रोतले जानकारी दिइो । स्रोतका अनुसार वडाले महानगरमा पठाएको बिलहरु फर्जी थिए । फर्जी बिलहरु फालेर मात्रै भुक्तानी दिइएको पनि स्रोतको जिकिर छ । महानगरका एक कर्मचारीका अनुसार वडाध्यक्षले रकम खाने हेतुले अनावश्यक बिल थपिएको थियो । ‘थुप्रै बिलहरु आएका थिए, केही बिल राखेर भरपाई गरेर भुक्तानी दिइएको हो’,उनले भने,‘ एक वर्षसत रोकैकै हो ।’वडाध्यक्ष पराजुुलीले यसलाई ‘बितेको कुरा’ को संज्ञा दिइन् ।





