आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

वायु प्रदुषणको मारमा पोखरा

वायु प्रदुषणको मारमा पोखरा


  • ढोरपाटन सम्वाददाता
  • चैत्र १५ २०७७, आइतबार

पोखरा, १५ चैत– वायु प्रदुषणको मारमा पोखरा पनि परेको छ । वायु प्रदुषणले भिजिविलिटी नहुँदा शनिबार पोखराबाट काठमाडौं लगायत देशका विभिन्न शहरमा जाने हवाइ सेवा सुचारु हुन सकेन ।
पोखराको आकाशमा तुवाँलो छाउँदा शुक्रबार ६ वटा फ्लाइट रद्ध भएको थियो । शनिबार आकाश खुल्ने आशा गरिए विपिरित दिनभर एउटा पनि विमान उँड्न र अवतरण गर्न नसकेको विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीले बताए । पोखराबाट दिनहुँ काठमाडौं, भैरहवा, भरतपुर लगायता स्थानमा विमानसेवा सुचारु छ ।
पोखरा विमानस्थलका अनुसार शनिबार बुद्ध एयरको १० वटा, यती एयरलायन्सको ७ वटा, तारा एयरको ५ र समिट एयरको ५ वटा उडान योजना थिए । यत्तिका उडानमा १२ सय जना यात्रुले टिकट काटेको विमानस्थलका सुचना अधिकारी सुवेदी बताउँछन् ।
पोखरा विमानस्थलबाट विमान उड्न र अवतरण गर्न ५ किलोमिटर देखिने हुनुपर्छ । शनिबार २ किलोमिटर पनि देख्न नसकिने अवस्था भएकाले उडान रद्ध भएको विमानस्थलले जनाएको छ ।
विगत केहीदिन यता पोखराको वायु प्रदुषण बढेको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । पोखराका ३ ठाउँबाट हावाको गुणस्तर मापन गरिन्छ । गण्डकी बोर्डिङ स्कुल, पोखरा विश्वविद्यालय र जल तथा मौसम विज्ञान कार्यालयबाट पोखरामा हावाको गुणस्तर मापन भइरहेका छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम ढकाल पोखराको हावा खतराको विन्दुमा पुगेको बताउँछन् ।
शनिबार मात्रै पोखराका ३ ठाउँमा मापन भएको हावाको गुणस्तर (एक्यूआई) १५४ देखि २१८ सम्म पुगेको छ । ढकालका अनुसार ५० एक्युआईसम्म राम्रो मानिन्छ । हावाको गुणस्तर जति धेरै अंकमा गयो उति नै दुषित हुने ढकालले बताए ।
राजधानी काठमाडौंमा जस्तै पोखरामा पनि वायु प्रदुषण फैलिनुमा देशभित्रका आन्तरिक र बाह्य कारण रहेको एरोसोल सम्बन्धी शोधकर्ता जीवन रेग्मीले बताए । देशभित्रका आन्तरिक कारणमा ७ सय बढी जंगलमा लागेको डढेलो, किसानले बाली भित्राएर खेतबारी, खरबारी लगायतका ठाउँमा आगो लगाउने चलनले पनि प्रदुषण बढाएको उनले बताए ।
बाहिरी कारणमा नेपालमा प्रवेश गर्ने पश्चिमी बायुले ल्याउने दुषित हावाले पनि नेपालमा प्रदुषण बढाएको छ । रेग्मीका अनुसार, पश्चिमी वायु मार्फत पाकिस्तान र भारतबाट नेपालमा दुषित हावा छिर्दा यहाँको वायु पनि दुषित हुन पुगेको हो ।
‘नेपाल भित्र र बाहिरबाट आउने धुँवामा २.५ माइक्रोन भन्दा कम तौलको मसिनो कण हुन्छ, जुन हामीले श्वास फेर्दा सिधै फोक्सोमा पुग्न सक्छ’, रेग्मीले भने, ‘त्यसले स्वास्थ्यमा समस्या त ल्याउने नै भयो, भिजिविलिटी पनि घटाउँछ ।’
धुलोका करणको तौल धुँवामा हुने कण भन्दा धेरै तौलको हुने र चिसो हुने वित्तिकै जमिनमा झर्ने गरेपनि धुँवामा हुने त्यस्तो कण हावामै बसिरहने उनले बताए । ‘यसलाई कि त बर्षाको पानीले बगाउनुपर्छ, कि त ठुलो हावाले अन्त लैजान्छ, नत्र हावामै बसिरहन्छ,’ उनले भने ।
यस्तो दुषित हावामा श्वास फेर्दा नाक चिलाउने, आँखा पोल्ने जस्ता तत्कालिन लक्षण देखिएपनि यसले श्वास– प्रश्वास र फोक्सोमा समस्या ल्याउने रेग्मीले बताए । ‘धुँवाको करण सबैभन्दा खतरनाक छ’, उनले भने, ‘मास्क प्रयोग गर्दा यस्तो कण हाम्रो फोक्सोमा पुग्न सक्दैन ।’

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->