आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

‘आहा ! कस्तो राम्रो घान्द्रुक !’

‘आहा ! कस्तो राम्रो घान्द्रुक !’

घान्द्रुके होटलले १२ सय जनालाई एकै साथ धान्न सक्छन् ।


  • विकाश मगर
  • चैत्र १९ २०७७, बिहिबार

पोखरा, १९ चैत– गाउँको सिरान बाटो हुँदै ३ जना पदयात्री उकालो उक्लिरहेका छन् । उनीहरुलाई छोमरुङसम्म पुग्नु छ । उनीहरुको गन्तव्य छ – अन्नपूर्ण आधार शिविर ।
गाउँ पार गर्नै लागेको बेला विपरित दिशाबाट एक हुल खच्चड आउँछ । घाँटीको घन्टीबाट लयात्मक संगीत निकाल्दै गाउँ ओर्लंदै गरेका खच्चडको हुल देखेपछि ती पदयात्री टक्क रोकिन्छन् । क्यामेरा तेस्र्याउँदै फोटो खिच्छन् । थकानले भरिएको उनीहरुको अनुहार खुसीले सन्तुष्ट हुन्छ ।
गुजुमुजु परेर पूर्व फर्किएको ढुंगेनी बस्तीलाई बिहानै घामको न्यानो किरणले ब्यूँझाउन आउँछ । झ्यालको पर्दा विस्तारै खोल्दा आँखामा उज्यालो उभिन आइपुग्छ, माछापुच्छ«ेसहितको अन्नपूर्ण हिमशृंखला ।
साँझमा गाउँकै रोधीघरमा रोधी चल्छ । स्थानीय गुरुङगुरुङसेनी मौलिक पोशाकमा ठाँटिएर कुममा कुम जोडेर नाच्छन् । क्याम्पिङ चल्छ, अँगेनामा बसेर आगो ताप्दै तातो चिया, नारेपा (स्थानीय कोदोको रक्सी) को चुस्की लिँदै पाहुना चिसो भगाउँछन् ।
शहरको कोलाहलबाट भाग्न यहाँ आइपुगेका जो कोही पाहुना मन्त्रमुग्ध हुन्छन्, विस्तारै आङ तन्काउँदै चिच्याउँछन्, ‘आहा ! कस्तो राम्रो गाउँ ।’
यो घान्द्रुक गाउँको कथा हो ।
गुरुङ संस्कृतिका लागि परिचित ठाउँ बनेको घान्द्रुक गाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ । ढुंगैढुंगा बिच्छ्याएर परम्परागत रुपमा बनेको घान्द्रुक गाउँलाई स्थानीय पनि ‘ढुंगेनी गाउँ’कै रुपमा चिनाउन मन पराउँछन् । यो चर्चित पदमार्ग अन्नपूर्ण सर्किट पदयात्रा, घोरेपानी, पुनहिल, अन्नपूर्ण बेसक्याम्प आदिको प्रवेशद्वार पनि हो ।
गाउँका बारीभरि हरिया सागसब्जी उम्रिएका छन् । ती उब्जनी पाहुनाकै लागि हो । पर्यटकको आगमन बढ्दै गएपछि गाउँका सुख्खा पाखाबारी यसरी नै हरिया बन्न थालेका छन् । स्थानीय पर्यटन व्यवसायी किसम गुरुङ भन्छन्, ‘अरु खान्की पोखराबाट ल्याउनु परे पनि हरिया तरकारी सकभर गाउँकै प्रयोग गछौं । यही नै यहाँका होटलहरुका चिनारी हो ।’ गुरुङ घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्षसमेत छन् ।
गाउँ फर्किरहेका युवा
स्थानीय कृष्ण गुरुङले १२ वर्ष कोरियामा खोरिया खने । लाहुरे बा’को छोरोले जीवनको ऊर्जाशील समय परदेशमै बितायो । लामो समय परदेशमा बिताएर गाउँ फर्किएपछि पाहुनाको लर्को देखे । उपाय सोचे, ‘गाउँमै हजार सम्भावना रै’छ । अब यहीं केही गर्नुपर्छ ।’
परदेशमा पसिना बगाएर जोडेको कमाइले गाउँमै लगानी गर्ने सपना साँचे । ४ वर्षअघि करिब ४ करोड लगानीमा होटल खोले र नाम दिए, ‘वल्ड भिलेज होटल ।’ गाउँमा पर्यटकको घुइँचो लागेसँगै सम्भावना देखेरै आफू विदेशको यात्रा टुंग्याएर गाउँ फर्किएको उनी सुनाउँछन् ।
गुरुङ भन्छन्, ‘हाम्रो परिवारमा यसरी व्यवसाय गरेको कोही छैन । सबै लाहुरे ब्याकग्राउन्डकै हो । तर, गाउँमै सम्भावना देखेपछि फर्किएँ । होटेल पनि खोलें । पछुताउनु परेको छैन ।’
अरु ठाउँका युवा विभिन्न बहानामा गाउँ छोड्ने र उतैबाट सहरतिर पलायन हुँदा घान्द्रुकमा भने उल्टो छ । कृष्णजस्तै घान्द्रुकका अधिकांश युवा अहिले गाउँ फर्किएका छन् । र विभिन्न पर्यटन व्यवसायमा लगानी गर्न हौसिएका छन् । गाउँकै स्थानीय पर्यटन व्यवसायमा लाग्दा पर्यटनमा दिगो विकास हुने स्थानीय पर्यटन व्यवसायी दाबी छ ।
‘यहाँको परम्परा भनेको लाहुरे संस्कृति हो । पहिले भर्ति भएर जाने, त्यसपछि उतै सेटल हुने प्रचलनले कुनैबेला यो गाउँ पूरै सुनसान बनेको थियो,’ किसम गुरुङ सुनाउँछन्, ‘तर, अहिले अवस्था फेरिएको छ । विदेश गएका युवाहरु पनि आफ्नो बसाइँ छोट्याएर सकेसम्म गाउँमै लगानी गर्न आउँछन् ।’ उनले कुनैबेला गाउँका अधिकांश घर बाह्य कुरुवाले धानेको बताउँछन् ।
कमी हुँदैनन् पर्यटक
कोरोना महामारी सुरु भएसँगै चैत ११ गतेबाट सरकारले लकडाउन घोषणा ग¥यो । सोही समयमबाटै बन्द भएको घान्द्रुक करिब १० महिनापछिमात्रै खुल्यो । मंसिरको पहिलो साताबाट लकडाउन खुलेपनि घान्द्रुक पाहुनाका लागि गत माघ १ गतेबाट खुलेको हो । लकडाउनअवधिभर गाउँ ठप्पै रह्यो ।
कारोना महामारीका कारण लामै समय बन्द रहेको घान्द्रुक गाउँ फेरि जुर्मराउन थालेको छ । लामो समयपछि खुलेको घान्द्रुक गाउँमा अहिले आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायी बताउँछन् । अहिले पनि दिनमा १ सय ५० जनासम्म आन्तरिक पर्यटक आइरहेको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङ बताउँछन् ।
लकडाउन खुलेपनि कोरोना महामारी मत्थर भइनसकेकाले विदेशी पर्यटकको उपस्थिति भने नरहेको गुरुङले जानकारी दिए । ‘पाहुनाका लागि घान्द्रुक खुला भएपछि आन्तरिक पर्यटक उल्लेख्य मात्रामा आइराख्नु भा’छ । होटलहरु खाली राख्नु पर्ने अवस्था छैन ।’
लामो समयको लकडाउन पछि पनि फेरि घान्द्रुकको पर्यटनमा सुखद ‘रिभाइभ’ भइरहेको पर्यटन व्यवसायी कृष्ण गुरुङ सुनाउँछन् । ‘कोरोना महामारीले करिब १० महिना नै हामी बन्द रह्यौं । तर, अहिले पनि होटल खाली राख्नु परेको छैन । सुखद अनुभव नै गरिराखेका छौं,’ उनले भने । आन्तरिक पाहुनाको आगमनले आफूहरु पनि उत्साहित भएको उनले बताए ।
ढुंगेनी गाउँ घान्द्रुकमा अहिले साना तथा ठूला गरेर करिब ५ दर्जन होटल सञ्चालनमा छन् । ती होटलहरुले एकै रातमा करिब १२ सय जनालाई धान्न सक्ने घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष किसम गुरुङले जानकारी दिए । ’पहिले यहाँसम्म आउन पोखरादेखि २ दिन लाग्थ्यो । तर, अहिले ४, ५ घन्टाको गाडी यात्राबाटै यहाँसम्म आइपुग्ने भएपछि पाहुनाको संख्या पनि बढेको हो,’ उनले भने ।
नयाँ सुविधासम्पन्न होटलहरु बन्ने क्रममै रहेको र ती होटल पनि सञ्चालन भए पाहुना राख्न सक्ने क्षमता अझै बढ्ने गुरुङको भनाइ छ । उनले घान्द्रुक होमस्टेबाट नभई क्याम्पिङबाट चलेको हुनाले त्यही अनुरुप नै होटलहरु खुलिरहेको उनले जानकारी दिए ।
मौलिकता हराउँदै, ब्यूँझाउँदै !
लाहुरे परम्पराबाट निर्देशित घान्दु्रकेका अघि २५ वर्षअघि किसम गुरुङले ‘गुरुङ कटेज’ खोल्दा सबैले उनलाई ‘बौलायो’ भनेका थिए । यातायातको सुविधा नभएको र एकाधबाहेक पर्यटकको सम्भावना नभएको ठाउँमा होटल खोल्न थालेपछि आफन्तीले त्यस्तो आरोप लगाएका थिए ।
तर, गुरुङ हार मानेन् । पोखराबाटै सामान ओसारेर घान्द्रुकमा होटल बनाइछाडे । ‘त्यतिबेला पोखराबाट यहाँ सामान ल्याएर होटल खोलेको थिएँ । त्यो पैसाले पोखरामा घरजग्गा जोडेको भए ३, ४ वटा हुन्थे,’ पुरानो दिन सम्झन्छन्, ‘पछिपछि पाहुनाहरु बढ्दै गएपछि भने अरुहरुले पनि खोल्न थाले ।’
सुरुसुरुमा पदमार्गका लािग चर्चित बनेको ठाउँमा आजभोलि मोटर धुलो उडाउँदै गाउँसम्म पुग्छ । ढुंगेनी गाउँ भनेपनि अधिकांश घर अब अत्याधुनिक बन्न थालेका छन् । पदमार्गमै मोटरबाटो बनेपछि धुवाँधुलोले हैरानै बनाएको पदयात्रीको गुनासो आइरहन्छ ।
मोटर बाटो पुगेसँगै सहरी संस्कृति गाउँ छिर्न थालेको छ । गुरुङ इतिहास बोकेको गाउँमै मौलिकता हराउँदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति अध्यक्ष गुरुङ स्वीकार्छन् । भन्छन्, ‘यहाँ व्यापार व्यवसाय गर्ने अहिले युवा पिँढीका धेरै छन् । उनीहरुले नयाँ शैली अपनाउन थालेर पनि मौलिकता गुम्दै गएको हो कि ?’
पुराना शैलीमा भवन बनाउन ढुंगा र काठ धेरै लाग्ने भएर पनि नयाँ शैली गाउँमा भित्रिरहेको गुरुङ सुनाउँछन् । ‘निजी जग्गामा यस्तो बनाऊ, त्यस्तो नबनाऊ भन्नु पनि भएन । पुरानै शैलीमा बनाउँदा समय र परिश्रम पनि धेरै लाग्ने भएर नयाँ शैलीमै घर बन्दैछन्,’ उनले भने, ’विकास सँगै हरेक चिज परिवर्तन हुँदै जान्छन् । यसलाई नकार्न पनि सकिँदैन ।’
अधिकांश गुरुङ र केही दलित बस्ती भएको घान्द्रुक गाउँले पछिल्लो समय मौलिकता गुमाउँदै गए आरोप आउन थालेपछि अब भने पुरानै शैलीमा फर्किन प्रयत्न गरिरहेका किसम गुरुङ बताउँछन् । ‘अब हामीलाई पनि विस्तारै पुरानै ढाँचामा फर्किनु पर्छ भन्ने लागेको छ । त्यही अनुरुप कम्तिमा घरको छानो पुरानै ढुंगे शैलीमा राख्नुपर्छ भनेर भन्न थालेका छौं,’ उनले भने, ‘यसबाट केही सुखद नतिजा पनि आइराखेको छ ।’
तस्वीर सौजन्य : युनिश गुरुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->