पोखरा, २२ चैत– पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले मानित विश्वविद्यालयका लागि चाहिने भौतिक संरचना र जग्गा उपलब्ध गराउन प्रतिवद्ध भएको जनाएका छन् ।
जनप्रिय बहुमुखी क्याम्पसको २२ औं साधारण सभामा बोल्दै प्रमुख जिसी लेपोखरामा स्नातक तह पर्वतीय पर्यटन व्यवस्थापन (विएमटिम) विषय पढाइ भएकाले यस कार्यक्रमलाई सहयोग गर्ने जनाए । बजारलाई चाहिने जनशक्ति उत्पादन र प्राविधिक शिक्षामा जोड दिन उनले आग्रह गरे । जनप्रिय क्याम्पस पोखराको मात्रै नभएर नेपालकै गौरव भएको बताए ।
उद्घाटन सत्रमा परशुराम बराल, दामोदर चालिसे, वीरेन्द्रनारायण विजुक्छे, विष्णुप्रसाद बराल, ध्रवराज पौडेल र देवी पनेरुले शुभकामना मन्तव्य राखेका थिए । वक्ताहरूले मानित विश्व विद्यालयमा जानका लागि क्याम्पसको विधान परिमार्जन गर्नुपर्ने धारणा राखे ।
क्याम्पस प्रमुख विरञ्जी गौतमले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन र आगामी वर्षको कार्यक्रम प्रस्तुत गर्दै जेएमीले शैक्षिक गुणस्तर कायम राख्न अनुसन्धान र प्रकाशनमा जोड दिने प्रतिवद्धता सहित ५ वर्षे रणनीतिक योजना अनुरुप मानित विश्वविद्यालय बनाउन लागेको बताए ।
पुस्तकालयलाई आधुनिक र प्रविधिमैत्री बनाउँदै ४७ हजारभन्दा बढी विषयगत पुस्तक राखिएको क्याम्पसबाट उत्पादित ८ सय ८८ दक्ष जनशक्तिको ट्यासर स्टडी गरिएको छ । त्रिविबाट सम्बन्धन लिएर विसिए, विएस्सी फिजिक्स, विएस्सी सिएसआइटीका कार्यक्रम चलाउन दरखास्त बुझाएको गौतमले उल्लेख गरे ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणमापन तथा प्रत्ययानको प्रमाणपत्र प्राप्त क्याम्पसले स्वयत्त कार्यक्रम अन्तर्गत स्नातकतह पर्वतीय पर्यटन व्यवस्थापन र एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट चलाइरहेको छ । मुनाफारहित क्याम्पसको आ.व.०७६÷०७७ को आम्दानी खर्च एवम् ०७७÷०७८ को अनुमानित बजेट कोषाध्यक्ष राजेन्द्र पहारीले प्रस्तुत गरेका थिए । गरिब तथा जेहन्दार, पिछडिएका क्षेत्रबाट आउने विद्यार्थीलाई १० प्रतिशत छात्रावृत्ति सुविधा छुट्याएको क्याम्पसले चालु आर्थिक वर्षका लागि २० करोड ४७ लाख ८ हजार ५ सय ४ रुपैयाँ ३ पैसाको अनुमानित बजेट तर्जुमा गरेको पहारीले जानकारी दिए ।
समुदायमा आधारित क्याम्पस सर्वसुलभ शिक्षण शुल्कमा सञ्चालित छ । गरीब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनलाई सघाउने उद्धेश्यले छात्रवृत्ति कोष स्थापना गरिएको छ । कार्यक्रममा तुल्सी वस्ताकोटी स्मृति छात्रवृत्ति कोषमा १ लाख ५५ हजार ५ सय ५५, इन्दिरा पौडेल शैक्षिक उन्नयन छात्रवृत्ति कोषमा १ लाख पचपन्न हजार र पुरुषोत्तम दुर्गालक्ष्मी छात्रवृत्ति कोषमा १ लाखको चेक अध्यक्ष तारा गिरीलाई हस्तान्तरण गरिएको थियो ।
प्रात र दिवा सत्रमा ५ हजार ५ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने जनप्रिय क्याम्पसले देशभरिका १ हजार ९६ सामुदायिक क्याम्पसमध्ये २०७२ र २०७३ मा शिक्षामन्त्रालयबाट उत्कृष्ट क्याम्पसको पुरस्कार पाइसकेको छ । विश्वविद्यालय अनुदान आयोगको छनौटमा परेको जेएमसीले दुई पटक गुणमापन तथा प्रत्यानको प्रमाणपत्र पाएर गुणस्तर सुनिश्चितताको कसीमा अब्बल ठानिएको छ ।





