
पोखरा, २३ चैत– भूकम्पपछि बारपाक, लाप्राक कस्तो भयो होला ? पुनर्निर्माण पश्चात्का यी गाउँका तस्वीर सञ्चार माध्यम र सामाजिक सञ्जालमा बेलाबखत छाइरहन्छन् । त्यही तस्वीर देखेर लमजुङका दूधपोखरी– २ बिचौरका शिक्षकको पनि आँखा लोभियो। ती गाउँ हेर्ने हुटहुटी पलायो ।
स्थनीय बागेश्वरी माविका शिक्षक मिलेर शनिबार सवेरै बारपाक जाने योजना बनाए। ‘विहानै जाने हो भने त बारपाक् पुगेर फर्कन भ्याइन्छ, शनिबारको विदामा घुमघाम् गर्न जाम् भनेर हामी बारपाक र लाप्राक पुगेका थियौँ’, शिक्षक अमृत दवाडीले भने ।
शिक्षकहरु घुम्न जाने योजना बनाए पनि सबै जना जान सकेनन् । विद्यालयमा अध्यापन गराउने ६ जना शिक्षक बारपाक जान तयार भए। उनीहरुको समूहमा दूधपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख शुशील नराल पनि जोडिए ।
गोरखासँग सिमाना जोडिएको छ, बिचौर गाउँको । चेपे नदीले गोरखा र लमजुङको सिमाना छुट्याउँछ । बिचौरका मानिस अहिले पनि काठमाडौं लगायतका शहर जान परेमा वा किनमेल गर्न परेमा गोरखा जान्छन् । चेपे नदी तरेर देश–विदेश लाग्छन् ।
विद्यालयका एक जना शिक्षक ठाकुर दवाडी यसअघि हिँडेर नै बारपाक पुगेका थिए। २०७२ सालको भूकम्प अघि नै बारपाक पुगेका उनले शनिबारको भ्रमणमा आफूले शुरुमा देखेको बारपाक सुनाए । ‘पहिले त ढुुङ्गाले छाएका घर एकै ठाउँमा झुरूप्प थिए, अहिले त आर्र्सीसी घरले भरिएछन’्, ठाकुरले भनेका थिए ।
बारपाकमा सामान्य खाजा खाएर ठाकुरले नै लाप्राकमा खाना बनाउन अनुरोध गरे । बारपाक घुमेर शिक्षक समूह एक घण्टामै लाप्राक पुग्यो । उनीहरुले फोटो खिचे र फर्किए। उनीहरुले बारपाक र लाप्राक घुम्दै गर्दा सबै गाउँले मिलेर बस्ने हो भने गाउँ पनि यस्तो राम्रो हुँदो रहेछ भनेर गफ गरेको दवाडी सम्झन्छन् ।
जब उनीहरु लाप्राकबाट फर्कदै थिए । जीपका ड्राईभर सन्तोष तामाङ्ले गाडीको गेयरले राम्रोसँग काम नगरेको बताए । बाटो अफ्ठ्यारो भएकाले उनीहरु विस्तारै फर्किए। घरबाट निस्केकै दिन बारपाक र लाप्राक घुमेर फर्कन उनीहरुलाई हतार थियो। जब अफ्ठ्यारो बाटो सकियो, उनीहरु चढेको जीपको गति केही बढ्यो ।
गाडी एकै चोटी घ्यार्र ग¥यो, र कुनामा पुगी ठोकियो । कुनामा ठूलो ढुङ्गाको चोसो निस्केको थियो । त्यही ढुङ्गामा जीप ठोक्कियो। जीप ठोक्किएन मात्र, उछिट्टिएर छेउमा पुग्यो र भीरबाट गुल्ट्यो ।
गाडीको ब्रेक फेल भएर चालकले जीप कुनातर्फ मोडेका रहेछन् । तर जीप कुनामा अडिएन । शिक्षक सहित गुल्टिएको जीप दरौँदी किनारमा पुगेको सोही दुर्घटनामा घाइते भएका शिक्षक दवाडी बताउँछन् ।
दुर्घटनामा परेर बागेश्वरी माविका शिक्षकद्वय रामेश्वर न्यौपाने र ठाकुर दवाडीको घटनास्थलमै ज्यान गयो । शिक्षक अमृत दवाडीलाई उनै शिक्षकद्वयले पढाएका थिए ।
‘उहाँहरुले मलाई कक्षा १ देखि नै पढाउनुभएको थियो, त्यही स्कुलमा २ बर्षदेखि पढाइरहेको थिएँ’, दवाडीले भने, ‘मेरो गुरु र सँगै काम गर्ने सहकर्मीलाई गुमाउनुप¥यो ।’
उनले गाउँकै स्कुलमा शिक्षण थाल्नुअघि लमजुङ्मै एक गैरसरकारी संस्थामा काम गर्थे। पछि जागिर छाडेर उनी गणित विषयमा एम्.ए गर्दै गर्दा गाउँमा सरकारी दरबन्दीमा गणित विषयको शिक्षक चाहियो । दवाडी त्यही बेला शिक्षक बन्न गाउँ पुगेका थिए ।
आफूलाई पढाएको शिक्षकले दुर्गम भएपनि आफ्नै गाउँमा आएर पढाउन भनेपछि आफू गाउँ गएको दवाडीले बताए । दुर्घटनामा परेर घाइते भएका दुूधपोखरी गाउँपालिका शिक्षा शाखा प्रमुख सुशिल नराल स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात पोखरा रिफर भएका छन् ।
दुर्घटनामा घाइते भएका अन्य शिक्षकहरु विष्णु दवाडी र विष्णु न्यौपाने चितवन रिफर भएका छन्। उनीहरुको टाउकोमा चोट लागेको जनाइएको छ । घाइते शिक्षक अमृत दवाडी र अनिल मरहठ्ठा स्थानीय स्वास्थ्य संस्थामा उपचार पश्चात् डिस्चार्ज भएका छन् । सवारी चालक सन्तोष तामाङ् र अमृत दवाडी पनि घाइते भएर उपचार पश्चात् डिस्चार्ज भएको जनाइएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट खसेर झण्डै सय मिटर तल पुगेको जनाइएको छ। ‘गेयरले काम नगर्दा पनि अप्ठ्यारो बाटो कटाइयो, तर सजिलो बाटो पुगेर दुर्घटना भयो’ घाइते शिक्षक दवाडीले भने ।





