
पोखरा, २८ चैत– केन्द्रमा वैकल्पिक सरकारको पहल भइरहेको बेला त्यसको प्रभाव गण्डकी प्रदेशमा पनि परेको छ । बुधबार माओवादी केन्द्रबाट मन्त्री रहेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रयास थालिएको हो । माओवादीका मन्त्रीले राजीनामा दिएर जुनसुकै बेला पनि सरकारलाई दिएको समर्थन फिर्ता हुने संकेत गरेसँगै नयाँ सरकार गठनको पहल गरिएको हो । यो पहलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको कुर्सी हल्लिएको छ ।
गण्डकीमा एमालेको २८ सिट छ । मुख्यमन्त्री गुरुङलाई अहिलेसम्म ३ सिट रहेको राष्ट्रिय जनमोर्चाले साथ दिएको छ । मुख्यमन्त्री गुरुङले पनि जनमोर्चाका सांसदलाई मन्त्रीको अफर दिएको जनाएको छ ।
केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेसले नयाँ सरकार गठनको लागि पहल थाल्दै वैकल्पिक केन्द्रीय सदस्य कुमार खड्काको नेतृत्वमा वार्ता समिति बनाएको छ । कांग्रेससँग १५ सिटमात्रै रहेकाले नयाँ सरकार गठनका लागि एमाले इतरका सबै दलको साथ आवश्यक छ ।
‘यो सरकार विकल्प खोज्नुपर्छ भनेर हामी तीन दल कांग्रेस, माओवादी र जनता समाजवादी सहमत भयौं’, खड्काले भने, हामीले राष्ट्रिय जनमोर्चाको निर्णय पर्खेका छौं ।’
जनमोर्चासँग संवाद भइरहेको र छिट्टै निर्णय आउने समेत खड्काले बताए । यता, माओवादी केन्द्रले पनि नयाँ सरकारका लागि संसदीय दलका नेता हरिबहादुर चुमानको नेतृत्वमा रहेको कार्यदललाई सक्रिय बनाएको छ ।
कांग्रेस सांसद खड्काले नेकपा फुट्न वित्तिकै मुख्यमन्त्री गुरुङले विश्वासको मत लिनुपर्ने बताए । ‘संघमा प्रधानमन्त्रीले झैं यहाँ पनि मुख्यमन्त्रीले विश्वासको मत लिन खोज्नुभएन’, उनले भने, ‘सरकारमा रहेको दल फुटेमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ, नेकपा फुटेर एमाले र माओवादी भएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपथ्र्यो ।’
विश्वासको मत नलिएकै कारण खड्काले गुरुङ नेतृत्वको प्रदेश सरकार असंवैधानिक भएको आरोप लगाए । सरकारले संवैधानिक व्यवस्थाको पालना गर्नुपर्ने भन्दै उनले आफू बहुमतमा कि अल्पमतमा रहेको भन्ने थाहा पाउने विश्वासको बाकस थाप्नुपर्ने उनले बताए ।
यता, मनाङबाट जितेका प्रदेश सांसद दीपक मनाङे पनि सरकार परिवर्तन गर्नुपर्ने पक्षमा रहेको खड्काले बताए । ‘मनाङेसँग हामीले छलफल गरेका छैनौं, तर उहाँले पनि सरकार परिवर्तन गर्नुपर्छ भन्ने अभिव्यक्ती दिएको सुनेका छौं’, उनले भने, ‘आवश्यकता अनुसार उहाँसँग पनि संवाद गर्छौ ।’





